सन्तानलाई सम्पत्ति दिने कि समय ?

0
29

अभिभावकत्व अर्थात् अभिभावक बन्ने कला आफैमा संवेदनशिल र चुनौतीपूर्ण कला हो । सन्तानको खुशी, सफलता र सफल जीवनको लागि हरेक अभिभावकले अनवरत संघर्ष गरिएको हुन्छ । तर, पनि के हाम्रा सन्तान हामीसँग खुशी र सन्तुष्ट छन त ! के उनीहरुले चाहे जस्तो अभिभावक हामी बन्न सकिरहेको छौं त ! आफ्ना सन्तान जीवन उपयोगी सीप, शिक्षा संस्कार र कला सिकाउन सक्षम भयौं त ! के हाम्रो पैसा, काम, सफलता, खुशी, परिवार र समाजप्रतिको दृष्टिकोणमा हाम्रो सन्तानको समर्थन छ त ! अब सोच्नुपर्ने बेला आएको छ ।
सन्तान ठूलो हँुदै गएपछि अभिभावकको गुनासो हुन्छ कि नानीहरुले भनेको टेर्दै टेर्दैनन् । मोबाइल मात्र हेरिरहन्छन् । अभिभावकभन्दा टाढा बस्न रुचाउँछन् । केही कुराहरु परिवारसँग चर्चा गर्दैनन् ! परिवारको कुनै कुरामा चासो देखाउने गर्दैनन् । तर, वास्तवमा हामी अभिभावक नै हौं यसको जिम्मेवार पक्ष । आफ्नो सन्तान साना हुँदा हामीले उनीहरु प्रति देखाएको व्यवहारको प्रतिफल स्वरुप नै हुन सक्छ सन्तानले अभिभावकलाई उचित सम्मान दिन नसकेको ।
हामी अभिभावक आज काम, पैसा, समाजसेवा, मोबाइल, मनोरञ्जन र बिलासिताको वस्तुप्रति अति मोहित र व्यस्त भएका छौं । जसको कारण आफ्नो बालबालिकाको सुख–दुःखमा साथ दिने, उनीहरुको कुरा सुन्ने, उनीहरुसँग खेल्ने–रमाउने हामीसँग समय नै छैन ।
एउटा विश्वप्रसिद्ध प्रसङ्ग छ जसले स्पष्ट पार्छ आखिर हाम्रा सन्तानले हामीबाट के चाहन्छन् त । एउटा परिवारमा बाबु छोरा मात्र हुन्छन् । आमाको कार दुर्घटनामा मृत्यु भएको हुन्छ । बाबा मिस्टर जोनी एक प्राइभेट कम्पनीमा डाइरेक्टर हुन्छन् । उनका एकमात्र छोरा जुनियर ज्याक मात्र ७ वर्षका हुन्छन् । उनीहरु ठूलो आलिशान वंगलामा बस्छन् ।
गाडी नोकरचाकर लगायत मिस्टर जोनीले आफ्नो मेहनतले सबै प्राप्त गरिसकेको हुन्छन् । उनी दिनभरि कम्पनीको कामले व्यस्त हुन्छन् भने घरमा उनी आफ्नो रियल स्टेट र स्टोक मार्केटको काममा प्रायः खटिरहन्छन् । जुनियर ज्याकको लागि घरमा खेलौना, स्विमिङ पुल, गार्डेन नोकर सबै छन् । उसलाई केही कुराको कमी छैन । उसको एक इशारामा बहुमूल्य वस्तुहरु एकछिन मै उसको सामु ल्याइन्छन् । अझ, उसलाई घुमाउने, खेलाउने, रमाइलो गर्नका लागि प्रशस्त कामदार पनि छन् । उनको दैनिकी र रहनसहन कुनै राजकुमारको भन्दा कमी छैन ।
एकदिन को कुरा हो । ज्याक हातमा क्यारेम बोर्ड बोकेर बाबाको अफिसमा आइपुग्छन् र भन्छन्– ‘बाबा ! आज म सँग एक घन्टा क्यारेम खेल्नुस् न प्लिज ।’ उनको भन्छन्– ‘हैन म व्यस्त छु ! देख्दैनौं काम गर्दैछु अहिले । जाउ तिमी घर अनि जिम्मीसँग खेल है । मलाई अफिस आएर यसरी घरि–घरि डिस्टर्ब नगर्नु ल । बाइ ! माइ हिरो ज्याक ! आई लब यू !’ ज्याक खिन्न मन लिएर त्यहाँबाट फर्किन्छन् । ‘हुन्छ ! म जिम्मीसँग खेल्छु ।’ जिम्मी घरको नोकर हो, तर प्रायः उसलाई ज्याकसँग खेल्न, बस्न, घुम्न भनेर नै राखिएको हुन्छ ।
समय बित्दै जान्छ । केही दिनपछि जुनियर ज्याकले नयाँ भलिबल किनेर ल्याउँछन् । उसले सुनेको हुन्छ कि उसको बाबा मिस्टर जोनी आफ्नो जवानीमा राम्रो र सफल भलिबल खेलाडी हुनुहुन्थ्यो भन्ने । हातमा बल बोकेर ऊ उफ्रदै बाबाको कोठामा पुग्छ । उनले सोच्छ, आज बाबा घरमा हुनुहुन्छ अफिसमा पो खेल्न मिल्दैन, घरमा त म सँग खेल्न अवश्य आउनुहुन्छ । उसलाई पूर्ण विश्वास छ बाबाले उसलाई भलिबल अवश्य सिकाउनु हुनेछ भन्ने ।
ढोकाबाट चिच्याउँदै भन्छ– ‘बाबा ! आज एक घन्टा भलिबल खेलौ न । मलाई हजुरसँग खेल्न मन छ । हजुर त च्याम्पियन हो नि ! मिस्टर जोनीलाई श्वास फेर्ने फुर्सद छैन ।’
‘बाबु ! म काममा व्यस्त छु । आज भ्याउदिन ल । पछि कुनै दिन खेलौला । जाउ तिमी टमीसँग खेल । ऊ भलिबल खेलमा राम्रो छ । तिमीलाई राम्ररी सिकाउँछ ।’ –उनको जवाफ आउँछ ।
ज्याक– ‘हस् !’ भन्दै उदास र दुःखी भएर त्यहाँबाट फर्किन्छ र अन्य साथीहरुसँग खेल्न थाल्छ । उसलाई लाग्दैछ अफिसको काम सकेर एकछिन खेल्न बाबा आइहाल्नुहुन्छ कि भन्ने । पटक–पटक कोठातिर हेरिरहन्छ । तर, उसकै सामुबाट मिस्टर जोनी कार चडेर अफिस जान्छन् । बिचरा ज्याक मलिन अनुहार बनाएर बाटोतिर हेरेकोहेरेकै हुन्छ ।
ऊ आफ्नो बाबालाई धेरै माया गर्छ । ऊ चाहान्छ उसको बाबा ऊ सँग बोल्नुहोस्, गफ गर्नुहोस्, खेल्नुहोस् भन्ने । तर, जति–जति ऊ बाबाको नजिक हुन खोज्छ बाबा जहिल्यै ब्यस्त देखिन्छन् । कामको बहाना बनाएर उसलाई आफूसँग खेल्न–बस्न समय दिँदैनन् । ज्याकलाई लाग्छ उसको बाबाको जीवनमा काम र पैसा मात्र ठूलो कुरा हो ।
एकदिन बिहानै बाबालाई भेट्न ज्याक अफिस जान्छ । अफिसमा पुगेर– ‘बाबा ! आज…’ भन्ने बित्तिकै मिस्टरले उत्तर दिइहाल्छ– ‘छोरा ! मेरो तिमीसँग भिडियोगेम खेल्न समय छैन ल । म काममा व्यस्त छु अहिले । काम गरेन भने पैसा कसरी आउँछ ज्याक ? म यो सब तिम्रो लागि त कमाउँदैछु । सोच त ! पैसा भएन भने कति दुःखी, कति गरीब हुनुपर्छ ।’
मिस्टर जोनी एकोहोरो ल्यापटपमा काम गर्दै भनिरहेका छन्– ‘उ त्यहाँ तल हेर त ! तिनीहरु गरीब छन् । न तिनीहरुसँग घर छ, न राम्रो कपडा छ, न त गाडी, न त नोकरचाकर, न त खेलौना छ, न त मीठो पकवान खानेकुरा नै छ । तिमी कति भाग्यमानी छौ तिमीसँग त्यो सब छ जे कुरा तिनीहरु गरीबका छोराछोरीसँग कहिले हुन सक्दैन । तिमी त सुखी छौ बाबु मेरो कारण नत्र हामीले पनि ती गरीबको सन्तान जस्तो दुःखी जीवन जिउनु पर्ने हुन्छ ।’
ज्याक बाबाको सात तलाको अफिसको झ्यालबाट तल हेर्छ । केटाकेटीहरु खेलिरहेका छन् । कोही आमाको काखमा सुतिरहेको छन् । कोही बाबुको काँधमा चडेर घोडा जस्तै खेलिरहेछन् । जे छ एउटै थालबाट खोसाखोस गर्दै खाइरहेका छन् । हाँस्दै, रमाउँदै ती गरीबको झोपडीमा सबै परिवार साथमा जीवन कटाइरहेका छन् । ऊ धेरैबेर तल हेरिरहन्छ ।
‘बाबा ! आज म हजुरलाई म सँग भिडियो गेम खेल्नुस भनेर अनुरोध गर्न आएको होइन । एउटा कुरा सोध्न आएको’ । बाबा छक्क पर्छ– ‘भन न ! के कुरा ।’ उसले आफ्नो काम गरी नै रहेको छ । कम्प्युटरमा डाटा इन्ट्री गर्ने काम । छोरा ज्याकतिर उसको ध्यान अलिकति पनि छैन ।
‘बाबा ! आज मलाइ भन्न सक्नुहुन्छ हजुर एक घन्टामा कति कमाउनुहुन्छ ?’ मिस्टर जोनीले गर्व साथ भन्छन्– ‘दुई हजार । म अहिले यति पैसा कमाउँदैछु नि बाबु पछि तिमी र तिम्रो सन्तानलाई सुति–सुति खान पुग्छ ।
जुनियर ज्याक एक शब्द नबोलि त्यहाँबाट निस्केर सरासर बजारतिर जान्छ । जहाँ एक बहुर्राष्ट्रिय कम्पनीको निर्माण कार्य भइरहेको हुन्छ । ऊ घर जाँदैन । दिनभरी केही खाएको छैन उसले आज । निर्माण कार्य भइरहेको ठाउँमा एउटा उसले चिनेको काकालाई भनेर ऊ दिनभरी बालुवा बोक्ने र ढुङ्गा फुटाउने काम गर्छ । त्यति सम्पन्न अरबपतीको एक्लो छोराको त्यो काम र लगन देखेर सबै आश्चर्य चकित हुन्छ । रात परिसकेको छ । सबै कामदारको छुट्टी भइसकेको छ । हातमा दिनभरि काम गरेको पैसा समाउँदै थकित, तर खुशी प्रफुल्ल मुद्रामा ऊ घर फर्कन्छ । खाना खान्छ । कसैसँग नबोली आफ्नो ओछ्यानमा गएर पल्टन्छ । थाकेको शरीर ऊ भुसुक्क निदाउँछ ।
भोलिपल्ट हातमा ब्याटमिन्टन बोकेर बाबाको कोठा पुग्छ । मिस्टर जोनी आफ्नो फाइल पल्टाएर हिसाब–किताब गरिरहेका हुन्छन् । ज्याकले पहिले जस्तै अनुरोध गर्छ– ‘बाबा म सँग एकछिन ब्याडमिन्टन खेल्नुस् न ।’
सदा झैं मिस्टर जोनीले प्रतिकार गर्छन्– ‘बाबु ! मेरो आज एउटा प्रोजेक्टको लागि मिटिङ छ । म व्यस्त छु । तिमीसँग खेल्ने मेरो समय छैन अहिले । तिमी अहिले जाउ ल ! मलाइ डिस्टर्ब नगर । मैले तिमीलाई हिजो रिमोटवाला कार ल्याइदिएको छु । तिमीलाई दिन पनि भ्याएको छैन । जिम्मीलाई दिएको छु । खेल्दै बस्नु ल । तिमी त खुशीले गद्गद् हुन्छौं होला । जाउ मेरो राजा ! बाबाको तर्फबाट तिमीलाई दामी उपहार छ ।’
‘बाबा ! एक घन्टामा आज कति कमाउनुहुन्छ ?’ –ज्याकको प्रश्न । ‘किन र ज्याक ! मैले भने त एक घन्टामा दुई हजार कमाउँछु म ।’
‘उसोभए बाबा ! यहाँ म सँग दुई हजार रुपैयाँ छ । यो राख्नुस् । अब त म सँग एक घन्टा खेल्नु सक्नुहुन्छ नि है ?’ बाबाको टेबुलमा पैसा राखिदिँदै ज्याकले आँखाभरि आँशु पारेर बाबालाई हेरिरहन्छ ।
मिस्टर ज्याक आश्चर्यचकित हुन्छन् । ‘के भनेको बाबु ? म तिमीसँग पैसा लिन्छु । फेरि कहाँबाट ल्यायौं तिमीले पैसा ।’
‘मैले बालुवा र ढुङ्गा बोकेर हिजो दिनभरिमा कमाएको हो बाबा । हजुरसँग खेल्न, बोल्न, सँगै बस्न मन लाग्छ मलाइ । अबदेखि म जहिल्यै यसरी नै दुई हजार रुपैयाँ हजुरलाई दिन्छु ! म सँग एक घन्टा समय बिताउनुस् ल ।’ छोरा ज्याकको कुराले मिस्टर जोनी आफ्नो कुर्सीबाट जुरुक्क उठ्छन् ।
ज्याकले रुदै आफ्नो बाबालाई भन्छन्– ‘ऊ त्यहाँ तल हेर्नुस त । तिनीहरु गरीब छन् । घर छैन, गाडी छैन, उनीहरु सँग धेरै कुरा छैन । तर, बाबा ! ती गरीबका छोराछोरीसँग त्यो ठूलो कुराहरु छन् जुन म सँग आजसम्म छैन । थाहा छ के ? मेरो आमा र बाबाको साथ । मामु त बितिहाल्नु भयो । हजुरलाई आफ्नो काम गर्नबाट कहिले फुर्सद हुँदैन ।’
मिस्टर जोनीले ज्याकलाई बोकेर आफ्नो काखमा राख्छन् । दुबैको आँखामा आँशुका धारा बहिरहेको छ । ज्याक आफ्नै सुरमा बोलिरहेको छ– ‘त्यस्तै गरिबी जीवन मन प¥यो बाबा । मलाइ यस्तो स्वर्ग चाहिँदैन बाबा जहाँ सबै कुरा पैसामा किनिन्छ । यो सब कार, पैसा, घर लानुस् । मलाइ ती गरीबका सन्तानको जस्तै जीवन दिनुस् । मेरो लागि पैसा कमाउनु पर्दैन बाबा ! हजुरको साथ चाहिन्छ मलाई । पैसा होइन । म आफ्नो लागि चाहिने पैसा आफै कमाउँछु बाबा ठूलो भएर । बरु म ढुङ्गा बोक्छु, बालुवा बोक्छु कि त चिया बेचेर कमाउँछु । मलाइ यस्तो सुख मन परेन बाबा । म बाच्न सक्दिनँ यसरी एक्लै एक्लै ।’
ज्याकको त्यस्तो विचार सुनेर मिस्टर जोनी आफूलाई सम्हाल्नै सक्दैनन् । उसलाई आफ्नो गल्तीको महशुस हुन्छ । छोराको सामु के भन्ने के नभन्ने उसको दिमागले काम नै गर्दैन । छोरा ज्याकलाई अङ्गालेर मात्र रोइरहन्छ । निरन्तर…निरन्तर…।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here