झापा, इलाका प्रहरी कार्यालय अनारनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टको सरुवा भएसगै सम्मान सहित बिदाई गर्नेको लर्काे लागेको छ ।
संघसंस्थादेखि स्थानीय तहले समेत पालैपालो प्रहरी नायव उपरीक्षक विष्टलाई सम्मान सहित विदाई गरिएको हो । इलाका प्रहरी कार्यालय अनारमनीमा रहँदा शान्ति सुरक्षा सहित लागू औषध नियन्त्रण र अपराध न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई दर्जन बढी संघ संस्थाले सम्मान सहित विदाई गरेका हुन् ।
अर्जुनधारा , बिर्तामोड र कनकाई नगरपालिकाले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गर्दै डीएसपी विष्टको विदाई गरेका हुन् । नगरपालिकामा आयोजित कार्यक्रमकाबीच विदाई गर्दै झापा बसाईका क्रममा डीएसपी विष्टले समाजमा शान्ति सु व्यवस्था कायम गर्न पु¥याएको योगदानको चर्चा गरिएको थियो ।
डीएसपी विष्टलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोड, वीरता जेसीज, विर्तामोड उद्योग वाणिज्य संघ, पूर्व प्रहरी संगठन लगायत दर्जनबढी संघ संस्थाले सम्मान सहित विदाई गरेका हुन् ।
गत वर्षको चैत १४ गतेदेखि इलाका प्रहरी कार्यालय अनारनीको नेतृत्व सम्माल्न आएका उनले आफ्नो कार्यकालमा ६५३ वटा मुद्धा दर्ता भएको बताएका छन् । जसमा ५८३ जना अभियुक्त पक्राउ गर्दै कारवाही प्रक्रिया अघि बढाइएको थियो । पाँचवटा कर्तव्य ज्यानका जटिल घटनासहित विभिन्न १२ वटा जघन्य अपराधको सफल अनुसन्धान गरी अभियुक्तलाई कानूनी कार्वाही गरेसंगै उनको चर्चा चुलिएको हो ।
बिर्तामोडकी विष्णुकुमारी विष्टको हत्या , बाह्रदशीको हजाम हत्या , अर्जुनधाराको सामूहिक बलात्कार , दुर्गा प्रसाईका ८ जना समर्थकले जिउँदै भारतीय ट्रक चालकलाई जलाएको घटना , अर्जुनधारामा प्रेमीद्वारा प्रेमिका मनिशा लोहारको हत्या , बाह्रदशीमा मानकुमार राजवंशीद्वारा गंगालाल माझीको हत्याजस्ता जघन्य अपराधको उनले सफल अनुसन्धान गरेका थिए । अनुसन्धानमा अब्बल छवि बनाएका उनको कामको चर्चा गर्दै अहिले झापामा उनको चर्चा चुलिएको हो ।
उच्च जनघनत्व र शिक्षा, स्वास्थ्य , पर्यटन , यातायातको हब बनेको बिर्तामोडमा शान्ति सुरक्षा कायम गर्न केही चुनौति रहेपनि सबैको साथ र सहयोगबाट आफ्नो कार्यकालमा केही महत्वपूर्ण अनुसन्धानहरु भएको डीएसपी विष्टले बताएका छन् । उनले आफ्नो १४ महिने कार्यकाल सफल बनाउन हातेमालो गरेर सहयोग गर्ने नागरिक समाज , राजनीतिक दल , संचारकर्मी , विभिन्न संघ संस्थालाई हार्दिक धन्यवाद दिएका छन् ।
विर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको बिदाई समारोहमा बोल्दै डीएसपी विष्टले झापा बसाई सुखद् रहेको समेत बताए । उनले झापाका नागरिक सहयोगी र मिनसार भएको भन्दै प्रशंसा समेत गरे ।
यस कारण डीएसपी विष्टको कार्याकाल उत्कृष्ट बन्यो
जिल्ला प्रहरी कार्यालय झापामा भन्दा बढी मुद्धाको चाप हुने इलाका हो अनारनी । डीएसपीकै दरवन्दी रहेको इलाका प्रहरी कार्यालय दमक, र काँकरभिट्टाको तुलनामा अनारमनी स्वभाविकले चर्चा र विवादित इलाका पनि हो । तर, यही इलाकाको नेतृत्व सम्माहेका डीएसपी विष्टले १४ महिना विवाद सहित कार्यकाल सम्हाले । उनको कार्यकालमा घटेका केही घटना मध्ये १२ जटिल प्रकृतिका घटनाको सफल अनुसन्धान गर्दै सबैको मन जित्न सफल भए ।
घटना नं १– २०८१ बैशाख ३ गते दिउँसो २ः३९ बजे बिर्तामोड –५ शनिश्चरे रोडमा बुद्धशान्ति वडा नं.२ बस्ने ४५ वर्षीय चन्द्रप्रसाद सिटौलालाई भारत जलपाईगुडी ४० सिलिगुडी घर बताउने ५४ वर्षीय शेरबहादुर गिरीले काँचो सुनजस्तो देखिने वस्तु देखाई रु.६० हजारमा दिन्छु भनी ललाई फकाई नक्कली सुन बिक्री गरी ठगी गरेका थिए । विष्टले ठगी गर्ने गिरीलाई पक्राउ गरी कानुनी कारवाही गरेका छन् । २०८१ बैशाख ३० गते झापा जिल्ला अदालतको आदेशले गिरी पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
घटना नं २–२०८१ जेठ ६ गते बिर्तामोड वडा नं. ३ मा डेरा गरी बस्ने काशिराम गौतमलाई बुद्धशान्ति गाउँपालिका– ८ कन्चनबारी टोल बस्ने २७ वर्षीय बरुण धिमालले धारिलो हतियार छुरीले पेट तथा छातीमा प्रहार गरी सख्त घाइते बनाई फरार भएका थिए । उनलाई २०८१ जेठ २७ गते पक्राउ गरिएको थियो । २०८१ असार २० गते झापा जिल्ला अदालतको आदेशले धिमाल पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
घटना नं ३– २०८१ असार १२ गते साँझ ५ बजे बिर्तामोड नगरपालिका वडा नं.७ फक्तालुङ (सिरान) टोल बस्ने ३० वर्षीय सुरेश पराजुलीको घरमा अवैध हतियार राखिएको भन्ने गोप्य सूचनाको आधारमा तलासी लिँदा ग्वाली घरको उत्तरपूर्वमा निबुवाको बोटमुनि रहेको झाडीभित्र हरियो रातो फुलबुट्टे तन्नाको टुक्रा तथा प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद भएको थियो । हतियारसहित पराजुलीलाई पक्राउ गरी कानुनी कारवाही गरिएको थियो । २०८१ असार ६ गते झापा जिल्ला अदालतको आदेशले रु. ५० हजार धरौटी माग गरेकोमा सो रकम बुझाउन नसकी पराजुली कारागार चलान भएका छन् ।
घटना नं ४– २०८१ बैशाख २६ गते बिहानको राति बिर्तामोड वडा नं.४ शिवनगर टोलमा बस्ने बिष्णुकुमारी बिष्टलाई अज्ञात समूहले कर्तव्य गरी मारेको घटनामा संलग्न प्रतिवादीहरु गंगाप्रसाद राजवंशी, महेश राजवंशी, ज्याक भन्ने भगिरथ माझी, वर्षा दर्जी राजवंशी,धनबहादुर कामीलाई जेठ १६ पक्राउ गरिएको थियोे । त्यस्तै २०८१ असार ३ गते प्रतिवादी मनकुमार राजवंशी पक्राउ परेका थिए । २०८१ असार १२ गते झापा जिल्ला अदालतको आदेशले प्रतिवादी गंगाप्रसाद राजवंशी र महेश राजवंशी पुर्पक्षको लागि कारागार चलान भएका छन् भने वर्षा दर्जी राजवंशी, भगिरथ माझी, धनबहादुर कामी, मनकुमार राजवंशी जनही रु. १ लाख धरौटीमा बुझाएर रिहा भएका छन् ।
घटना नं ५– २०८१ भदौ २ गते राति अन्दाजी ९ः३० बजे बिर्तामोड १ अदुवा पुलको पश्चिमपट्टि गस्ती गर्ने क्रममा शंकास्पद अबस्थामा दमक वडा नं. ३ भुटानी शरणार्थी शिविर जी–३ घर भई हाल बिर्तामोड वडा नं. १ बस्ने २५ वर्षीय बिशाल राई १९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए । हिरासतमा राखिएका राई २०८१ भदौ ५ गते पेटसम्बन्धी बिरामी भई बिर्ता सिटी अस्पतालमा उपचार गराइरहेको अवस्थामा रातको समयमा अस्पतालबाटै फरार भएका थिए । उनलाई भदौ ८ गते अर्जुनधारा –११ बसपार्क आसपासको क्षेत्रबाट पुनः पक्राउ गरी कानुनी कारवाहीको प्रक्रिया चलाइएको छ । २०८१ कात्तिक ९ गतेको झापा जिल्ला अदालतको आदेशले उनलाई २ महिना कैद, २०० रुपैयाँ क्षतिपूर्ति शुल्क वापत र २०० रुपैयाँ पीडित राहत कोष जम्मा गर्नुपर्ने फैसला भएको छ ।
घटना नं ६– २०८१ भदौ ४ गते अर्जुनधारा नगरपालिका वडा नं.४ दहीझोडा बस्ने इन्द्रबहादुर आङ्देम्बेको घरकोठामा अवैध हातहतियार पेस्तोल लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा उनको घरमा खानतलासी गर्दा पहेलो रंगको प्लाष्टिकमा बेरी पोका पारी राखेको काठको बिड भएको अवैध कटुवा पेस्तोल बरामद भएको थियो । भदौ २४ गते झापा जिल्ला अदालतको आदेशले आङदेम्बे रु १० हजार धरौटीमा रिहा भएका छन् ।
घटना नं ७– अर्जुनधारा ८ बस्ने वर्ष १६ की युवतीलाई २०८१ भदौ ७ गते राति ८ः१५ बजे वडा नं ७ बस्ने १८ वर्षीय अनिस लिम्बू, सोही ठाउँ बस्ने ३४ वर्षीय सरोज राई, २५ वर्षीय केशव मगरले सामूहिक जबरजस्ती करणी गरेका थिए । त्यसपछि राति ११ बजे वडा नं ८ बस्ने २० वर्षीय सुनिल राजवंशी, १९ वर्षीय सुजन डाँगीले समेत जबरजस्ती करणी गरेका थिए । उक्त घटनामा संलग्न सबै प्रतिवादीहरुको खोजतलास गरी फरक फरक स्थानबाट भदौ ८ गते पक्राउ गरी कानुनी कारवाहीको प्रक्रिया चलाइएको छ । असोज ४ गतेको झापा जिल्ला अदालतको आदेशले सबै प्रतिवादीहरु पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
घटना नं ८– २०८१ असोज ६ गते राति ११ बजे कन्काई वडा नं ८ स्थित बिरिङ पुलमा भारतीय नम्बर प्लेट युपी ५७ एटी ४४९३ भएको ट्रक र २०८१ असोज ७ गते बिहानको राति २ः४५ बजे पूर्वतर्फ आउँदै गरेको डब्लुबी –७३ ई ३०५६ नम्बरको ट्रक गिरीबन्धु टी इस्टेट अगाडी मोटरसाइकलमा सवार व्यक्तिहरुले पट्रोलको बोतलले हानी ट्रकमा आगो लगाएका थिए । घटनामा घाइतेमध्ये चालक पद रोयको असोज १९ गते सिलिगुडीस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । सो घटनामा संलग्न बिजय चौधरी, भिम लिम्बु तुम्बापो ,बलीहाङ लिम्बू, बिरबहादुर गुरुङ, विवस लिम्बू ,उदय लिम्बू, राजेश महत,रुद्र भुजेललाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया चलाइएको थियो । कात्तिक ६ गते झापा जिल्ला अदालतको आदेशले ती सबै प्रतिवादीहरु पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
घटना नं ९– २०८१ असार १५ गते राति ११ बजे बाह्रदशी वडा नं. ५ फुलबारी बस्ने राजेश हजाम हराइ बेपत्ता भएको घटनाको अनुसन्धानको सिलसिलामा घटनामा संलग्न मुना मेचे राजवंशी,गुड्डु भन्ने राहुल राजवंशी,नरेश राजवंशी र समिर राजवंशीले धारिलो हतियारले हत्या गरी घरको भान्साघरमा पुरेको र पछि पुनः बिरिङ खोलामा लगी गाडेको तथ्य पत्ता लागेको थियो । घटनामा संलग्न मानिसहरुलाई असोज १९ गते पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया चलाइएको थियो । कात्तिक १४ गते झापा जिल्ला अदालतको आदेशले प्रतिवादी समिर राजवंशी र मुना मेचे राजवंशी पुर्पक्षको लागि कारागार चलान भएका थिए । त्यस्तै कानूनको विवादमा परेका बालक नरेश राजवंशीलाई बाल सुधार गृह पठाइएको छ । मुख्य अभियुक्त गुड्डु भन्ने राहुल राजवंशीलाई मंसिर १० गते अदालतमा उपस्थित गराई अदालतको आदेशले पुर्पक्षको लागि कारागार चलान गरिएको छ ।
घटना नं १०– २०८१ भदौ २८ गते साँझ ६ः४० बजे अर्जुनधारा वडा नं. ६ महानन्द चौकमा कैलाली गौरीगंगा ३ बस्ने २० वर्षीय अनिल वि.कले इलाम सूर्योदय ३ बस्ने प्रेमिका १९ वर्षीया मनिषा लोहारलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेका थिए । तत्काल प्रहरी परिचालन गरी वि.क.लाई पक्राउ गरी कानुनी कारवाहीको प्रक्रिया चलाइएको थियो । २०८१ असोज १६ गतेको झापा जिल्ला अदालतको आदेशले प्रतिवादी वि.क पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
घटना नं ११– २०८१ असोज २८ गते दिउँसो ३ः५० बजे अर्जुनधारा नगरपालिका वडा नम्बर ३ कुम्बिडाँडा डाँडागाउँस्थित भरत कुमालको घरआँगनमा सोही ठाउँ बस्ने ४६ वर्षीय बिरबहादुर चौहानले आफ्नै श्रीमती मनकुमारी भुजेललाई मादक पदार्थ सेवन गरी धारिलो हतियार बामफोकले घाँटीमा हानी हत्या गरेका थिए । घरबाट ७ सय मिटर उत्तर बाँसघारीमा लुकेको अवस्थामा चौहानलाई पक्राउ गरी कानुनी कारवाहीको प्रक्रिया चलाइएको छ । २०८१ कात्तिक २७ गते जिल्ला अदालतको आदेशले प्रतिवादी चौहान पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
घटना नं १२– २०८१ मंसिर १ गते राति ९ः२० बजे बाह्रदशी ५ बस्ने मानकुमार राजवंशीले सोही ठाउँ बस्ने ४४ वर्षीय गंगालाल माझीलाई फलामको रडले टाउकोमा प्रहार गरी हत्या गरेका थिए । घटनामा संलग्न राजवंशीलाई पक्राउ गरिएको थियो भने मंसिर १९ गतेको झापा जिल्ला अदालतको आदेशले उनी पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
डीएपी विष्टको बढुवाको कामना गर्दै गणेशको प्रतिमा उपहार
बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालयमा आयोजना गरिएको विदाई समारोहमा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट एकाएक भावुक बने ।
कारण थियो उनको बढुवाको कामना गर्दै गणेशको प्रतिमा उपहार प्रदान गर्नु । यस अघि बढुवाका क्रममा छुटेका उनालाई व्यवसायीले बढुवाको कामना गर्दै पुन ः जिल्ला प्रहरी कार्यालयमा यहाँलाई स्वागत गर्न पाउँ भन्दै गणेशको प्रतिमा उपहार दिँदा उनी भावुक बने ।
त्यसो त बिर्तामोड उद्योग वाणिज्य संघले डीएपी विष्टलाई कदरपत्र सहित सम्मान गरेको थियो । संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उनलाई कदरपत्र प्रदान गर्दै सम्मान गरिएको थियो । संघकी सह कोषाध्यक्ष तीलोत्तमा खत्रीले स्वागत गरेको कार्यक्रममा उद्योग वाणिज्य उपाध्यक्ष विशाल थापाले सम्मान पत्र बाचन गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले समेत डीसएपी विष्टले गरेका कामको प्रशंसा गर्दै बढुवाको कामना गर्दा उनी भावुक बनेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य स.घको सभाहलमा आयोजित कार्यक्रममा स.घका पदाधिकारी तथा सामाजिक क्षेत्रका अगुवाहरु, व्यवसायी , संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचलन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।