झापा , ईशा बुक्स विर्तामोडको आयोजनामा झापाको विर्तामोडमा आयोजित दुई दिने मिनी आर्ट मेला शुक्रबार सम्पन्न भएको छ ।
ईशा बुक्स विर्तामोडले आयोजना गरेको उक्त मेलामा दि देही आर्ट काँकरभिट्टाको प्रविधिक सहयोग गरेको थियो । कला, सिर्जनशीलता र बाल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको मेलामा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो । मेलामा बालबालिकाद्वारा बनाइएका चित्रकला, हस्तकला, रंगकर्म तथा विभिन्न सिर्जनात्मक प्रस्तुतीहरू प्रदर्शनमा राखिएका थिए । जसमा चित्र बनाउने, रंग भर्ने जस्ता विधाहरू समावेश थिए । मिनी आर्ट मेलामा करिब २०० जना विद्यार्थीहरुले सहभागिता जनाएको आयोजकले जनाएको छ । मेलामा विभिन्न विद्यालयका विद्यार्थीहरूले चित्रकला र हस्तकला सम्बन्धी आफ्ना उत्कृष्ट कृति प्रदर्शन गरेका थिए । सहभागि विद्यार्थीहरुलाई पेन्टिङ गर्न दि देहि आट्र्स काँकडभिट्टाका प्रिन्सिपल छितेन शेर्पाले सिकाउनुभएको थियो ।
ईशा बुक्स विर्तामोडका अध्यक्ष केशव मैनालीले अबदेखि यस्ता कार्यक्रमलाई नियमित रूपमा आयोजना गर्ने बताउनुभयो । उहाँले कला क्षेत्रको प्रवद्धन र नयाँ प्रतिभाहरु पहिचान गर्ने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । अभिभावकहरूले समेत आफ्ना सन्तानको कला हेर्ने मौका पाउँदा खुसी व्यक्त गरेका थिए । सहभागि विद्यार्थीहरुले मिनी आर्ट मेला फाईदाजक रहेको जानकारी दिए । कार्यक्रममा कलाकारहरुलाई चाहिने आवश्यक सामाग्रीहरु खरिद विक्री समेत गरिएको थियो ।