योगेन्द्र योगी
बिराटनगर,
भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले त्यहाँको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली छात्रा प्रिशा साहको मृत्युबारे निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको छ ।
दूतावासले एक विज्ञप्ति जारी गर्दै भारतको उडिसा राज्य स्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी ) मा स्नातक तह प्रथम वर्षमा अध्ययनरत १८ बर्षिय नेपाली विद्यार्थी प्रिशा साह छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दूतावासलाई बिहिबार राती प्राप्त भएको जनाएको छ।
जानकारी प्राप्त हुना साथ दूतावासले उक्त शैक्षिक संस्थाका प्रतिनिधिहरु, प्रहरी अधिकारीहरु, विदेश मन्त्रालयका अधिकृत लगायत अन्य सरोकारवालाहरु सँग तत्काल सम्पर्क तथा छलफल गरी घटनाको बारेमा जानकारी लिई सो घटनाको स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन तथा शैक्षिक संस्थामा अध्यनरत सम्पुर्ण नेपाली विद्यार्थीहरुको सुरक्षाको प्रत्याभूती हुने गरी अनुसन्धान गर्न अनुरोध गरेको जनाएको छ । य
स सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयबाट दूतावासलाई आवश्यक निर्देशन पनि प्राप्त भएको दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । घटनाका सम्वन्धमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले उडिसाका मुख्यमन्त्री मोहनचरण माझी तथा उक्त प्रदेशका प्रमुख सचिवलाई सम्पर्क गरी उक्त घटना प्रति दुःख व्यक्त गर्दै घटनाको निश्पक्ष छानविन गर्न अनुरोध गरेको जनाएको छ।
दूतावासले केआईआईटीमा रहेका नेपाली विद्यार्थी लगायत भारतको केन्द्रिय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्वन्धित भारतीय निकायहरुसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको जनाएको छ । साथै, दूतावासले आज (शुक्रबार) बिहान केआईआईटी का प्रतिनिधिलाई दूतावासमै बोलाएर उक्त घटनाका बारेमा जानकारी लिएको छ ।
दूतावासले मृतकका परिवारसँग निरन्तर सम्पर्क भइरहेको जनाएको छ। यसअघि २०८१ मा पनि सोही विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेकी थिइन्। करिब १५ सय नेपाली विद्यार्थी अध्ययन गर्ने यो शिक्षालयमा लगातार यस्तो घटना भएपछि नेपाली विद्यार्थीहरूलाई थप चिन्ता थपिएको छ ।