याम–दिव्यलाई पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान समर्पण

0
40

झापा । पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मानबाट झापाका प्रजातान्त्रिक आन्दोलनका दुई जना योद्धा सम्मानित भएका छन् ।
पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको सहयोगमा जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानको आयोजनामा उनीहरुलाई सम्मान गरिएको हो । पूर्ण–टुङ्गा आदर्श नागरिक सम्मान २०८१ बाट झापाको मेचीनगरका यामप्रसाद भण्डारी र भद्रपुरका दिव्यरत्न भुर्तेल सम्मानित भएका हुन् ।
मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम तत्कालीन युवराज वीरेन्द्रलाई दर्शन भेटका क्रममा प्रदान गरेको विरोधमा आवाज उठाउँदा जेल परेका व्यक्तिहरु मध्ये सशरीर रहेका दुई जनालाई पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मानद्वारा अभिनन्दन गरिएको थियो ।
भद्रपुरमा मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम २०२८ सालमा तत्कालीन युवराज वीरेन्द्र बीरबिक्रम शाह मार्फत २५ लाख रुपैयाँ महेन्द्रलाई पठाइएको थियो । सो क्रममा भण्डारी (मेचीनगर) र भुर्तेल (भद्रपुर) लगायतले विरोध जनाउँदा उनीहरुलाई पक्राउ गर्दै चरम यातनासहित जेल चलान गरिएको थियो । उनीहरुको साहसिक कदमको उच्च सम्मान गर्दै जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले एक लाख एक हजार एक सय ११ रुपैयाँ राशिसहित पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान संयुक्तरुपमा प्रदान गरिएको थियो ।
प्रतिष्ठानका सभापति गोपालकुमार बस्नेतको अध्यक्षतामा शनिबार बिर्तामोडमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री महेश आचार्यसहित पूर्ण– टुङ्ग अक्षयकोषका सदस्य र कार्यसमितिले संयुक्तरुपमा सम्मानपत्र प्रदान गरेका थिए ।
समाज रुपान्तरणका पक्षमा उल्लेख्य योगदान पु¥याएको भन्दै यो वर्षको सम्मान भुर्तेल र भण्डारीलाई प्रदान गरिएको हो ।
स्वागत तथा संस्थाको परिचय प्रतिष्ठानका उपाध्यक्ष राजकुमार पोखरेलले गराएको कार्यक्रममा सम्मानित व्यक्तित्वहरुको परिचय प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले दिएका थिए ।
कार्यक्रममा सञ्चारकर्मीहरु केशव भट्टराई र विनोद पाण्डेले तयार गरेको सम्मानित व्यक्तित्वको श्रव्यदृष्य परिचय सामग्री प्रस्तुत गरिएको थियो । कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल, बिर्तामोड नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सह–सचिव स्वस्तिका आचार्यले गरेकी थिइन् । प्रतिष्ठानले विगत तीन दशकदेखि समाज परिवर्तनमा उत्कृष्ट योगदान दिने व्यक्तित्वहरुलाई विभिन्न विधामा सम्मान गर्दै आएको छ । गत वर्ष आदर्श नागरिक सम्मानद्वारा नेपाली हाँस्य जगतका शिखर पुरुष मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)लाई संयुक्तरुपमा प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here