पेट्रोलियम पाइपलाइन विस्तारको काम कहाँ पुग्यो ?

0
20

पार्थ मण्डल

झापा । भारतको इण्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपालमा बनाउन लागेको दुई पेट्रोलियम पाइपलाइन र एउटा ग्रिनफिल्ड टर्मिनल निर्माण प्रक्रिया अघि बढिसकेको छ ।

नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न भारतको शिलगढीदेखि झापाको चारआलीसम्म र बाराको अमलेखगञ्जदेखि चितवनको लोथारसम्म दुई वटा पेट्रोलियम पाइपलाइन र झापामा ग्रिनफिल्ड टर्मिनल (भण्डारण स्थल) बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्याङ्कन ( इआइए), साइट क्लियर लगायतको प्रक्रिया अगाडि बढिसकेको नेपाल आयल निगम, आपूर्ति तथा वितरण विभागका उपनिर्देशक तथा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।
टेन्डर प्रक्रियामा जानका लागि आइओसीले डिटेल डीपीआर बनाइरहेको बताउँदै प्रवक्ता ठाकुरले भने– ‘करिब दुई महिनाअघि बसेको सञ्चालक समितिको बैठकमा यी कुरा उठेको थियो, अबको प्रक्रिया भनेको टेन्डर हो, त्यसपछि काम शुरु हुन्छ, त्यसका लागि आईओसीले छ महिनाको समय मागेको छ ।’ ‘झापामा ग्रिनफिल्ड टर्मिनल निर्माण स्थलको जग्गा फिलिङ, बाउन्डरी वाल लगायतको काम गरेर आइओसीलाई दिने भनेका छौं । त्यो काम पनि अगाडि बढेको छ । ‘एक महिनाभित्र त्यसको टेन्डर निकाल्ने तयारीमा छौँ, –प्रवक्ता ठाकुर भने । पाइपलाइन बिच्छ्याउने ठाउँमा माटो परीक्षणको काम पनि सकिसकेको छ । टर्मिनल निर्माण स्थलमा माटो परीक्षणको काम भइरहेको उनले बताए ।

चितवनमा पाइपलाइनको रुट सर्वे र माटो परीक्षणको काम सम्पन्न भइसकेको छ । आईओसीले गर्ने जिओटेक सर्वे हुन चाहिँ बाँकी छ । त्यहाँ केही जग्गा अधिग्रहण गर्नुपर्ने भएकोले जिल्ला प्रशासन कार्यालय चितवनले बैशाख १० गते सूचना समेत निकालिसकेको प्रवक्ता ठाकुरले बताए । डिटेल डिजाइनको काम चाहिँ आइओसीले छ महिना समय लाग्ने बताएको छ । ‘मे’ महिनाको अन्तिममा आईओसी र निगम दुबै पदाधिकारीको उपस्थितिमा सञ्चालन समितिको बैठक बस्ने बताउँदै उनले भने– ‘त्यो बैठकमा झापा र चितवनमा अहिलेसम्म भइरहेको कामको प्रगति र त्यसपछि के गर्ने बारेमा बृहत् छलफल हुनेछ ।’
शलगढी–झापा पेट्रोलियम पाइपलाइन परियोजनाका प्रमुख सुरेन्द्र महतोका अनुसार चालू आर्थिक वर्ष २०८१÷०८२ बाट झापामा परियोजनाको काम शुरु भएको हो । काँकरभिट्टाको मेची पुलदेखि चारआलीसम्मको पाइपलाइन विस्तारका लागि वातावरणीय प्रभाव मूल्याङ्कन ( इआइए) बारेमा मेचीनगर नगरपालिकासँग बैठक बसी पहिलो चरणको काम भइसकेको छ । परियोजना प्रमुख महतोले भने– ‘अहिले एसियन हाइवे निर्माणको काम चलिरहेको छ, पहिला रुट सर्वे गर्दा सडकमा त्यति धेरै कल्भर्ट र पुलहरु थिएन, अहिले ठाउँ ठाउँमा कल्भर्ट र पुलहरु बनिरहेकोले पाइपलाइन विस्तारमा केही समस्या आइपरेको छ ।’

सडकको छेउ–छेउबाट पाइपलाइन ल्याउने रुट बनाइएको छ । ती समस्या समाधानका लागि आइओसीबाट पनि प्राविधिक टोली झापामा आइपुगेको र सडक विभागसँग सहकार्यमा पुनः सर्वेको काम गरिरहेको प्रमुख महतोले बताए । एसीयन हाइवेमा कल्भर्ट र पुलहरूको समस्या नआएको भए झापाको हकमा अहिलेसम्म आइओसी टेन्डर प्रक्रियामा गइसक्थ्यो । पुनः रुट सर्वेक्षणको काम गर्नु परेकोले पाइपलाइन विस्तारमा ढिला हुन पुगेको उनको भनाइ छ ।
शिलगढी–झापा पाइपलाइन विस्तार करिब ५० किलोमिटर हुनेछ । भारतीय भू–भाग (शिलगढीदेखि पानीट्यांकीसम्म) मा ३५ किलोमिटर र नेपाली भू–भाग ( काँकरभिट्टादेखि चारआलीसम्म)मा १४ दशमलव छ किलोमिटर रहेको उनले बताए । पाइपलाइन बनेपछि ढुवानी खर्च जोगिन्छ’ –उनले भने– ‘चारआलीको भण्डारण स्थलमा पाँच वटा डिपो बनेपछि कोशी प्रदेशका १४ जिल्लामै इन्धन आपूर्तिमा सहज हुन्छ ।’

सरकारले २०७४ सालमै शिलुगढी– झापा पाइपलाइन परियोजना अघि सारेको थियो । निगमले भण्डारण स्थल निर्माणका लागि वि.सं. २०७४ मै मेचीनगर नगरपालिका–१३ मा स्थानीय व्यक्तिहरूबाट २३ विगाह तीन कट्ठा १३ धुर जग्गा खरिद गरेको थियो । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र भारतका पेट्रोलियम एवम् ग्यास मन्त्री हर्दिप सिंह पुरीले २०८० जेठमा दुई पाइपलाइनको सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता पत्रमा दुई पाइपलाइन र एउटा टर्मिनल इण्डियन आयल कर्पोरेशनको लगानी र प्राविधिक सहयोग बन्ने उल्लेख छ ।

कूल २६ अर्ब ९३ करोड रुपैयाँका दुई पाइपलाइन र दुई टर्मिनलमा भारतले करिब १७ अर्ब रुपैयाँ लगानी गर्नेछ । नेपाल आयल निगम र आईओसीले संयुक्तरूपमा सन् २०२१ मा तयार पारेको प्रतिवेदनअनुसार यी चार परियोजनाको कूल लागत २६ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । प्रतिवेदन सन् २०२१ मा तयार गरिएकाले मूल्यवृद्धिसँगै लागत बढ्ने अनुमान छ । अमलेखगञ्जदेखि लोथरसम्मको ६२ किलोमिटर लामो पाइपलाइन निर्माण लागत २७४ करोड भारु छ ।

चितवनको ग्रिनफिल्ड टर्मिनल निर्माणको लागत छ सय १८ करोड भारु छ । यो टर्मिनल निर्माण खर्च निगमले व्यहोर्ने छ । त्यसैगरी ५० किलोमिटर लामो शिलगढी–झापा पाइपलाइनको लागत दुई सय ८८ करोड भारु र झापाको टर्मिनल निर्माण लागत पाँच सय दुई करोड भारु छ । यी परियोजनाको आइओसी र निगमल संयुक्त रूपमा अध्ययन गरेका थिए । झापाको इन्धन भण्डारण टर्मिनलको क्षमता ४२ हजार किलोलिटर र लोथर टर्मिनलको क्षमता एक लाख तीन हजार एक सय ५० किलोलिटर हुनेछ । पाइपलाइन निर्माणले ढुवानी भाडा बचत हुनुका साथै नेपालमा आउने पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न र चुहावट नियन्त्रणमा सहयोग पुग्ने बताइएको छ । पाइपलाइनबाट ल्याउँदा पेट्रोलियम पदार्थ सस्तो हुने, चोरी, चुहावट र मिसावटमा समस्या पनि नहुने निगमका प्रवक्ता ठाकुरको भनाइ छ ।

अहिले इन्धन ल्याउँदा इन्धन नै खर्च गर्नु परिरहेको छ । त्यो समस्याको पनि अन्त्य हुने उनको भनाइ छ । अघोषित नाकाबन्दीदेखि तेल ट्याङ्कर हिँड्दाको ट्राफिक जाम, दुर्घटना लगायतको समस्यासमेत हल हुने वातावरण विज्ञहरूको भनाइ छ । झापाको चारआली डिपोबाट साबिक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङमा पेट्रोलियम पदार्थ आपूर्ति भइरहेको छ । यी चार जिल्लामा ६१ वटा पेट्रोल पम्प रहेका छन् । सबैभन्दा बढी झापामा ५० वटा पम्प रहेको जनाइएको छ । चार जिल्लामा मासिक ३२ लाख लिटर पेट्रोल र ३१ देखि ३३ लाख लिटरसम्म डिजेल खपत हुन्छ । चारआली डिपोमा हाल ६० वटा ट्यांकरले शिलगढीबाट पेट्रोलियम पदार्थ बोकेर ल्याइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here