ज्येष्ठ नागरिक जिल्ला संघ झापाको १२ औं साधारण सभा सम्पन्न

0
25

विर्तामोड, ज्येष्ठ नागरिक जिल्ला संघ झापाले दुई पत्रकारसहित सामाजिक तथा साहित्यिक व्यक्तित्व लगायत गरी नौ जनालाई उनीहरुको योगदानको कदर गर्दै सम्मान गरेको छ । संघको १२ औं वार्षिक साधारण सभाका अवसरमा शनिबार विर्तामोडको विर्ता पाटी प्यालेसमा नगदसहित दोसल्ला र सम्मान पत्रले उनीहरुलाई सम्मान गरिएको हो । यस्तो सम्मान संघमा विभिन्न समयमा दाताहरुले राखेको अक्षयकोषको रकमबाट गरिएको पनि त्यस अवसरमा जानकारी गराइयो ।

यसरी सम्मानित हुनेहरुमा लामो समयदेखि पत्रकारिताको क्षेत्रका क्रियाशिल ज्येष्ठ आवाज द्वैमासिकका प्रधान सम्पादक पंकज दाहाल, गौरीगञ्ज दर्पण डट कमका प्रधान सम्पादक मदनगोपाल राजवंशी ‘मनप्रीत’, ज्येष्ठ नागरिक अभियन्ता तथा संविधान सभा सदस्य तारा सम याङ्या, अर्का ज्येष्ठ नागरिक अभियन्ता शम्भुप्रसाद पोखरेल, साहित्यकार तथा ज्येष्ठ नागरिक अभियन्ता डिल्लीराज नेपाल, कवि कल्पना बस्नेत थापा, ज्येष्ठ नागरिक महिला सामाजिक कार्यकर्ता पम्फादेवी दाहाल, ९२ वर्षीय वरिष्ठ ज्येष्ठ नागरिक चन्द्रमाया दंगाल र विपन्न असहाय भक्त बहादुर लिम्बू रहेका छन् । पत्रकार दाहाललाई भवानी–पम्फादेवी दाहाल साहित्य सम्मान, पत्रकार राजवंशीलाई विश्वप्रसाद–विमलादेवी अधिकारी प्रतिभा सम्मान, ज्येष्ठ नागरिक अभियन्ता याङयालाई चन्द्र–नीलम लावती स्मृति कोष, अर्का ज्येष्ठ नागरिक अभियन्ता पोखरेल, साहित्यिक व्यक्तित्व नेपाल र असहाय लिम्बूलाई काजी–चित्रा–मोती इङ्नाम कोषबाट, पम्फादेवीलाई सीतादेवी स्मृति कोष तथा दंगाललाई मोहन–मुक्ति प्रतिष्ठानको कोषबाट सम्मान गरिएको जिल्ला संघको अध्यक्ष ईश्वरीप्रसाद तिमल्सेनाले बताए ।

सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमको प्रमुख अतिथि विर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतारा प्रसाई र अक्षयकोष दाता तथा दाताका प्रतिनिधिहरुले दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरेर सम्मान गरेका थिए । संघले विगतका वर्षहरुदेखिनै यस्ता सम्मानहरु विभिन्न दिवस तथा वार्षिक साधारण सभाका अवसरमा प्रदान गर्दै आएको छ । साधारण सभामा शुभकामना मन्तव्य राख्दै विर्तामोड नगर प्रमुख प्रसाईले समाजका विभिन्न क्षेत्रमा आफ्नो प्रतिभा देखाएर र योगदान दिएर जीवनको महत्वपूर्ण समय व्यतित गर्नेहरुलाई सम्मान गर्नु असल संस्कारको परिचायक भएको बताउँदै ज्येष्ठ नागरिकहरुको क्षेत्रमा समन्वय, सहकार्य र सहयोग गर्न नगरपालिका तयार रहेको तर त्यसका लागि ज्येष्ठ नागरिकका संघ संस्थाहरुले पहलकदमी भने गर्नुपर्ने धारणा प्रष्टसँग राखिन् ।

कार्यक्रममा विशेष अतिथिका रुपमा इलाका प्रशासन कार्यालय उर्लाबारी मोरङका प्रशासकीय अधिकृत विजय इङ्नाम र इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) विजय श्रेष्ठले पनि शुभकामना मन्तव्य राख्दै ज्येष्ठ नागरिकहरुको सुरक्षा, सरकारले प्रशासनिक तवरले दिने सेवामा पहिलो प्राथमिकता दिएर काम गरिने र आफूहरुले पनि त्यसका लागि सकेको सहयोग गर्ने र सकारात्मक वातावरण बनाउन भूमिका खेल्ने बताए । साधारण सभाको उद्घाटन सत्रमा अध्यक्षता संघका अध्यक्ष तिमल्सिेना, स्वागत उपाध्यक्ष सूर्यनारायण गणेश र कार्यक्रम संचालन कार्यवाहक सचिव कृष्णप्रसाद फुयालले गरेका थिए ।

साधारण सभाले जिल्ला संघ कार्यसमितिको रिक्त रहेको सचिवमा वुद्धशान्तिका कृष्णप्रसाद फुयाल र सह–सचिवमा गौरी प्रसाद घिमिरेलाई सर्वसम्मत जिम्मेवारी दिने निर्णय पनि गरेको छ । साधारण सभामा अध्यक्ष तिमल्सिेनाले प्रस्तुत गरेको संघको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कुलप्रसाद संग्रौलाले पेश गरेको आर्थिक गतिविधिसहितको लेखा प्रतिवेदन हलबाट सर्वसम्मत पारित गरिएको थियो । विर्तामोड–४ मा आफ्नै भवनमा कार्यालय रहेको संघको सो साधारण सभामा जिल्लाका १३ वटा पालिकाका ज्येष्ठ नागरिक समिति र आवद्ध सामाजिक संघ संस्थाका प्रतिनिधि तथा पर्यवेक्षहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here