काठमाडौँ, रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले त्रिदेव पौडेल र सदीक्षा पण्डितलाई ‘देवी ओली स्मृति बाल पुरस्कार’बाट सम्मान गरेको छ ।
प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा उपसभामुख इन्दिरा रानाले ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार’बाट ‘मानवअधिकारका लागि महिला, एकल महिला समूह’ नामक संस्था र ‘अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट पत्रकार बिनु सुेवदीलाई सम्मान गर्नुभयो । 

पुरस्कारको राशि जनही रु एक लाख ११ हजार १११ रहेको छ । विसं २०६७ मा झापामा स्थापित प्रतिष्ठानले हालसम्म विभिन्न सम्मानबाट हिमालयशमशेर जबरा, डा सन्दुक रुइत, भैरव रिसाल, मानव सेवा आश्रम, सिविनलगायत ३० भन्दा बढी व्यक्ति र संस्थालाई सम्मान गरिसकेको छ ।
सभामुख रानाले विभिन्न विधामा नयाँ आविष्कार वा अनुकरणीय कार्य गरी जीवनस्तर उकास्न मौलिक अभ्यास गरेका व्यक्ति तथा संस्थालाई पुरस्कृत तथा सम्मान गरिएको बताउनुभयो । उहाँले महिला, बालबालिका, साहित्य र पत्रकारिताको क्षेत्रमा योगदान पुर्याउने संस्था र व्यक्तिलाई गरेको सम्मानप्रति प्रतिष्ठानलाई धन्यवाद व्यक्त गर्नुभयो ।