किरात धार्मिक तीर्थस्थल ‘लारुम्बा’मा अर्जुनधारा जलेश्वर धामको टोली

0
16
अर्जुनधारा, पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा नगरपालिका–७स्थित अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिको आयोजनामा आइतबार इलामको माङसेबुङ गाँउपालिका–५ लारुम्बास्थित किरात धार्मिक तीर्थस्थलको भ्रमण सम्पन्न भएको छ ।
धाम व्यवस्थापन समितिका अध्यक्ष नविन गट्टानी र धामका मूल अर्चक अग्निप्रसाद सिग्देलको नेतृत्वमा आयोजना गरिएको उक्त भ्रमणको उद्देश्य दुवै धार्मिक संस्थाबीच धार्मिक सद्भाव कायम गर्नु रहेको मूलअर्चक सिग्देलले जानकारी दिए ।
भ्रमण टोलीमा समितिका कोषाध्यक्ष मनोज जोशी, वरिष्ठ सदस्य चित्रसेन भण्डारी, सदस्यहरु चन्द्रा ओली, निरज ओली, पुनम सुवेदी, रमा चापागाईं, रमेशकुमार दर्जी, श्याम घिमिरे र सन्दिप गट्टानी, सल्लाहकार शंकर सुवेदी, लेखा समिति संयोजक कृष्ण पौडेल, सदस्य मनोरथ पाण्डे, ध्यान शिक्षक चिरञ्जिवी ढुंगानालगायतको सहभागिता रहेको थियो ।
टोलीले लारुम्बा क्षेत्रको अवलोकनसँगै गुरु आत्मानन्द लिङदेनबाट आर्शिवचनसँगै धार्मिक विषयहरुमा अन्तरक्रिया गरेका थिए । अन्तरक्रियाको क्रममा किरात, बौद्ध र हिन्दु धर्मलाई सबैको साझा धर्मको रुपमा विकास गर्न आजको आवश्यकता भएको गुरु लिङदेनले दावी गरेका थिए ।
गुरु लिङदेनले हालको अवस्थामा आफ्नो धर्म, भाषा, संस्कार आदि संरक्षणमा सबैको चासो कम भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । लारुम्बा क्षेत्रमा गुम्बा र मन्दिर पनि स्थापना गर्ने आफ्नो इच्छा अनुसार त्यसको लागि आवश्यक निर्देशन दिएको गुरु लिङदेनले दावी गरेका छन् ।
त्यसैगरी कार्यक्रममा अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिले विगत वर्षदेखि सुरु गरेको ‘धार्मिक सर्किट’को विषयमा पनि चर्चा गरिएको थियो । झापाको अर्जुनधाराबाट सुरु गरिने उक्त ‘धार्मिक सर्किट’ अन्र्तगत लारुम्बा हुँदै ताप्लेजुङस्थित पाथीभरा माता मन्दिर क्षेत्रसम्मका विभिन्न धार्मिक तीर्थस्थल र महत्वपूर्ण पर्यटकीय स्थलहरुलाई जोड्न सकिने समितिको निष्कर्श रहेको छ ।
गत वर्ष महाभारतकालिन इतिहाससँग जोडिएको झापाको भद्रपुरस्थित किच्चकबधबाट सुरु गरिएको यस अभियान अन्र्तगत अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिले विभिन्न धार्मिक तीर्थस्थलहरुको भ्रमणसँगै त्यस क्षेत्रको ऐतिहासिक पृष्ठभूमिको बारेमा अध्धयन र अनुसन्धान तथा धार्मिक सहिष्णुता कायम गर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here