ठगी: प्रकृति फरक प्रवृत्ति समान

0
12

विभिन्न प्रकृतिका ठगीका घटनाहरु दिनहुँ सार्वजनिक भइरहेका छन् । प्रत्येक दिन वैदेशिक रोजगारीका क्षेत्रमा ठगिने र पक्राउ पर्ने क्रम पनि त्यत्तिकै छन् । वैदेशिक रोजगार विभागमा उजुरी परेका बाहेक पनि थुपै्र घटनाहरु सार्वजनिक हुन्छन्, तर पक्राउ परेकाहरुले के दण्ड भोगे अथवा पीडितहरु कतिले न्याय पाए त्यो अपेक्षा गरिए जस्तो सार्वजनिक हुँदैनन् । एकातिर कोभिड महामारी पछिको संक्रमण कालदेखि तीव्रगतिमा बढेको वैदेशिक रोजगार क्षेत्रको ठगी छ भने अर्कातिर राज्यले अर्थतन्त्रको तेस्रो खम्बा मानेको सहकारीमा बचत गर्ने निम्न वर्गीय बचतकर्ताहरु पनि ठगीमा परेका छन् । मिटरब्याजीहरुबाट पीडितहरुको जमात पनि ठूलै छ ।

ठगीका प्रकृति र क्षेत्र दिनहुँ नयाँ र व्यापक बन्दैछ । सरकारी जग्गा ठगी गर्नेदेखि राज्यलाई बुझाउनुपर्ने राजश्वमा ठगी गर्ने हुन् वा राज्य सञ्चालकहरु नै आफू अनुसारको ठगीमा लिप्त वा राज्य सञ्चालक पनि सार्वजनिक भएका छन् । ललिता निवास, नक्कली शरणार्थी, सून, विमानस्थल, निर्माण, ओम्नी, प्रेस खरिद जस्ता भ्रष्टाचारका मुद्दाहरु कचमचिएर सतहमै छन् । भ्रष्टाचारमुक्त शासन व्यवस्थाको कल्पना गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनाइएको छ, तर त्यही आयोग आफैं विवादित बन्छ । अहिलेको सरकारी संयन्त्र, निजी क्षेत्र र राजनीति जताततै भ्रष्टाचारको जालो छ । कुनै क्षेत्र भ्रष्टाचारबाट अछुतो छैन ।

राजधानीको सिंहदरबार गाउँ–गाउँमा पु¥याएपछि भ्रष्टाचार पनि व्यापक भएको प्रतिवेदन सार्वजनिक भएका छन् । अख्तियार स्वयम् उजुरीको फैसला गर्न नसकेर अलमलिएको टिप्पणी भइरहेको छ । आयोग माथि राजनीतिक दबाबको प्रश्न पनि उठेको छ । नीतिनिर्माण गर्नेहरु नै पटक–पटक विवादमा पर्ने गरेका छन् । उत्पन्न विवादको निरुपण गर्नुको साटो सत्ताको दबाबमा त्यत्तिकै गुपचुप भइआएका छन् । सहकारी ठगीका घटनामा ठूला र सत्तासीन दलका नेताहरुलाई उन्मुक्ति दिइन्छ । दबाब दिन नसक्नेहरु पक्राउ पर्छन, तर बचतकर्ताहरुको बचत फिर्ता पाउँदैनन् ।

भ्रष्टाचार र ठगीको लहरमा भिसा प्रक्रियाका नाममा ठगीमा परेको नौलो घटना सार्वजनिक भएको छ । अमेरिका जान लागेको भन्दै बैंक स्टेटमेन्ट देखाउनुपर्ने भन्दै एकसठ्ठी लाख रुपैयाँ आफ्नो खातामा राख्न लगाई फरार भएका दुईजना पक्राउ परेका छन् । बनेपा–२ का विशाल घिमिरे र रौतहटका प्रिन्स कुमारलाई काठमाडौंको सुन्धाराबाट प्रहरीले पक्राउ गरेको छ । म्यानपावर, शैक्षिक परामर्श केन्द्र, वैदेशिक रोजगारी समेत यतिबेला ठगीका केन्द्र बन्न थालेका घटनाहरुले पुष्टि गरिरहेका छन् । एकातिर देशमा विकृतिजन्य आपराधिक, चोरीतस्करीका घटनामा बढोत्तरी भइरहेको छ भने अर्कातिर ठूला भनिने दल कांग्रेस, एमालेका नेताहरु प्रधानमन्त्रीहरुदेखि उच्च पदस्थ राष्ट्रसेवक कर्मचारीहरु पनि अनियमिततामा मुछिएका छन् । यस्तोमा चरम भ्रष्टाचार हुने देशको सूचीबाट मुक्त गर्न अब जनता नै उठ्नु पर्छ । नत्र यस्ता ठगी आर्थिक अपराधका घटनालाई न्यूनीकरण गर्न सकिँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here