भाषा सभ्यता हो, संस्कृति हो र मानवीय वस्तु हो, भाषा समाजमा जन्मन्छ र समाजमा नै हुर्कन्छ । कुनै पनि व्यक्ति र समाज भाषा निरपेक्ष भएर रहन सक्दैन । भाषा मानवीय विचार आदान प्रदानको माध्यम हो । समाजका मानिसहरू भाषाकै माध्यमबाट भावनाहरूको साटासाट गर्दछन्, त्यसैले भाषालाई सामाजिक वस्तु हो भन्न सकिन्छ । भाषा विज्ञानले मानवीय उच्चारण अवयव (जिब्रो, ओठ, दाँत आदि)द्वारा उच्चारित सार्थक ध्वनि वा आवाजलाई मात्र भाषा भनेको मानिन्छ । त्यसैगरी भाषाका मौखिक र लिखित गरी दुई रुप हुन्छन् । भाषाको मौखिक रुप सुन्ने र बोल्ने प्रक्रियामा आधारित हुन्छ अर्थात् भाषा सुनाइ, बोलाइ, पढाइ र लेखाइसँग सम्बन्धित हुन्छ । भाषालाई विभिन्न व्यक्तिहरूले आ–आफ्नै ढङ्गबाट परिभाषित पनि गरेको पाइन्छ । व्याकरणकार पतञ्जलिका विचारमा मानवका उच्चारण अवयवद्वारा उच्चारित मानवीय अभिव्यक्ति नै भाषा हो भने ब्लुमफिल्डका विचारमा खास किसिमको उत्तेजनाको प्रतिक्रिया नै भाषा हो ।
हेनरी स्वीट उच्चरित ध्वनिहरूका माध्यमबाट गरिने विचारको प्रस्तुतिलाई भाषा मान्छन् भने आपसमा विचार विनिमय हुन सक्ने यादृच्छिक रुढ वाक् प्रतिक नै भाषा भएको आचार्य देवेन्द्रनाथ शर्माको विचार छ । त्यसरी नै मानवद्वारा निश्चित प्रयत्नका साथ स्वतः निस्कने सार्थक ध्वनि नै भाषा हो भनी भाषाशास्त्री भोलानाथ तिवारीले परिभाषित गरेका छन् । वास्तवमा भाषा मानवीय र सामाजिक वस्तु हो र मानवीय उच्चारण अवयवद्वारा उच्चारित सार्थक ध्वनिलाई भाषा भन्न सकिन्छ । मानवीय व्यवहार गर्न विचार आदानप्रदान गर्न तथा आवश्यकता पूरा गर्नकै लागि संसारमा धेरै भाषाहरू जन्मिएका छन् । नेपाल क्षेत्रफलका हिसाबले सानो भएता पनि यहाँ विभिन्न भाषा परिवारका एक सयभन्दा बढी मातृभाषा बोल्ने वक्ताहरू रहेको तथ्यबाट पुष्टि भएको छ भने एक सय २० भन्दा बढी भाषाहरु रहेको तथ्याङ्क छ ।
नेपाल एक बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक हो । यहाँ भारोपेली, चिनियाँ तिब्बती÷भोटबर्मेली, आग्नेली, द्रविड जस्ता भाषा परिवारका भाषाहरु बोलिन्छन् । नेपालमा बोलिने भाषा परिवारहरू मध्ये धेरै वक्ताहरु रहेको भाषा परिवार भारोपली भाषा परिवार हो । भारोपेली भाषा परिवारभित्र नेपाली, मैथिली, भोजपुरी, अवधी, थारु, कुमाल, बोटे, अंग्रेजी, चुरौटी आदि रहेका छन् । भोट बर्मेली भाषा परिवार सबैभन्दा बढी भाषाहरु रहेको भाषा परिवार हो नेपालमा । यस भाषा परिवारभित्र तामाङ्ग, नेवारी, मगर, राई, लिम्बू, गुरुङ, शेर्पा, चेपाङ, थकाली, लेप्चा आदि भाषाहरु पर्दछन् । आग्नेली भाषा परिवारमा सतार र सन्थाल पर्दछन भने द्रविड परिवारको भाषा झाँगड तथा धाँगड हो ।
नेपाल सानो मुलुक भए पनि विभिन्न एक सयभन्दा बढी मातृभाषाका वक्ताहरु भएकाले यहाँ पर्याप्त भाषिक विविधता पाइन्छ । सबैभन्दा बढी वक्ता रहेको भाषा नेपालको नेपाली भएता पनि विभिन्न क्षेत्र जातजातिको बसोबासको बाहुल्य आदिका आधारमा अन्य भाषाहरुको पनि त्यतिकै महत्व पाइन्छ । भाषा विचार विनिमयको प्रभावकारी साधन हो । भाषा बिना मानव व्यवहार समृद्ध हुन सक्दैन । भाषाकै माध्यमबाट व्यक्तिले आफ्ना विचार तथा भावनाहरू एकअर्कामा साटासाट गर्दछन् । समाजले भाषाकै माध्यमबाट आफ्नो परम्परा, रीतिरिवाज र संस्कृतिहरु एक पुस्ताबाट अर्को पुस्तामा सार्दै जान्छ । भाषा परिवर्तनशील हुन्छ । परिवर्तन र परिष्कारले पनि भाषामा नवीनता ल्याउने भएकोले कुनै पनि भाषाको विकासको लागि पहल हुनु नितान्त जरुरी छ ।
त्यस्तै एक अल्पसङ्ख्यक भाषाका रूपमा मारवाडी भाषा रहेको छ । अग्रवंशीका कूल प्रवर्तक अति आदरणीय अग्रसेनका सन्ततिका रूपमा रहेका मारवाडी जाति अल्पसङ्ख्यक रहे पनि नेपालमा एक अग्रणी जाति हो । व्यापार–व्यवसायमा प्रभाव जमाएको यो जाति एक शिक्षित र सचेत जातिमा पर्दछ । मारवाडी जातिका आराध्य कुलदीपक अग्रसेन महाराजजीको शितल छत्रछायाँमा आफूलाई सदैव रहेको विश्वास गर्ने यो जाति लोककल्याणकारी जीवनदर्शनलाई आत्मसात गर्दछ । सबै जातिसँग सहकार्य, सहमति र एकता गर्दै सबैको सामीप्यतामा रहँदै अघि बढिरहेको यो जातिको भाषा आशातीत विकास हुन सकेन ।
मारवाडी भारतको राजस्थानको मारवाड क्षेत्र र नेपालको तराई–मधेसमा मुख्यतयाः बोलिने जीवन्त र सांस्कृतिक रूपमा समृद्ध भाषा हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मातृभाषाको रूपमा मारवाडी भाषा बोल्नेको सङ्ख्या २१,३३३ रहेको छ । सन् १९७० अघिदेखि मारवाडीहरू नेपालमा बसोबास गर्दै आएको प्रमाण रहेका छन् । उनीहरू मुख्यतयाः व्यापारमा संलग्न छन् र नेपालका धेरै मुख्य व्यवसायहरूलाई नियन्त्रण गर्छन् । मारवाडीहरू राजस्थानबाट व्यापारीको रूपमा नेपाल आएका थिए ।
मारवाडी भाषा राजस्थानी भाषा परिवारको एक हिस्सा हो र यसले राजस्थानको इतिहास, परम्परा र साहित्यको सार बोकेको छ । मारवाडी भाषा सिक्नाले यस क्षेत्रको अद्वितीय सम्पदा र रीतिरिवाजहरू बुझ्ने ढोका खोल्छ । मारवाडी भाषा मारवाडी जातीय समूहले बोल्ने भाषा हो । यो एक पश्चिमी इन्डो–आर्यन अर्थात् भारोपेली भाषा हो जुन राजस्थानीसँग नजिकको सम्बन्ध राख्छ । मारवाडी भाषा भौगोलिकरूपमा सबैभन्दा व्यापक छ । राजस्थान पूर्वमा हिन्दी क्षेत्रहरू र दक्षिणपश्चिममा गुजराती क्षेत्रहरू बीचको सङ्क्रमण क्षेत्र हो । राजस्थानी भाषालाई भारतको संविधानमा आधिकारिक भाषाको रूपमा मान्यता दिइएको छैन । बरु, हिन्दीलाई आधिकारिक भाषाको रूपमा प्रयोग गरिन्छ ।
मारवाडी भाषाका मुख्य विशेषताहरूको कुरा गर्ने हो भने यसको उत्पत्ति र इतिहासलाई पनि बुझ्न जरुरी छ । मारवाडी भाषा इन्डो–आर्य समूहसँग सम्बन्धित छ । यसको जरा प्राचीन संस्कृत र प्राकृतमा छ, जुन शताब्दीयौंदेखि विकसित हुँदै आएको छ । ऐतिहासिक रूपमा राजस्थानमा साहित्य, गीत र उच्च वर्गमा सञ्चारमा प्रयोग गरिन्छ । मुख्यतयाः राजस्थानको मारवाड क्षेत्रमा बोलिने यो भाषा जोधपुर, पाली, जालोर, नागौर र बारमेर जस्ता शहरहरूमा पनि बोलिन्छ । गुजरात, मध्य प्रदेश र विदेशमा मारवाड़ी डायस्पोरा अर्थात् आप्रवासीद्वारा पनि बोलिने गरिएको छ । मारवाडीको निशान अपभ्रंश भाषामा पाउन सकिन्छ, जुन एक प्राचीन भारतीय भाषा हो ।
आधुनिक मारवाड भाषा राजस्थानको ऐतिहासिक मारवाड क्षेत्रसँग नजिकबाट सम्बन्धित छ, जहाँ यो उल्लेखनीय रूपमा विकसित भएको थियो । आधुनिक मारवाड भाषाको जग सामान्यतयाः १७औं शताब्दीमा बसेको मानिन्छ । भारतमा मारवाडी भाषाको कुनै आधिकारिक हैसियत छैन र यसलाई शिक्षाको भाषाको रूपमा प्रयोग गरिँदैन । मारवाडी अझै पनि जोधपुर, पाली, जैसलमेर, बारमेर, नागौर, बीकानेरमा व्यापक रूपमा बोलिन्छ । मुख्य राजस्थानी भाषा समूहहरू पश्चिमी राजस्थानमा मारवाडी, पूर्व र दक्षिणपूर्वमा जयपुरी वा धुन्धरी, दक्षिणपूर्वमा मालवी र उत्तरपूर्वमा मेवती हुन्, जुन उत्तर प्रदेशको सीमानातिर ब्रज भाषा (हिन्दी बोली) मा मिसिन्छ । मारवाडी भाषालाई मारुभाषा पनि भनिन्छ । यसको राजस्थानी र गुजराती भाषाहरूसँग नजिकको सम्बन्ध छ भने हिन्दीसँग शब्दावली र व्याकरणका कतिपय प्रबन्धहरू साझाछन्, तर विशिष्ट ध्वन्यात्मकता र अभिव्यक्तिहरू छन् । नेपालमा यो भाषा झापा, मोरङ, पर्सा र काठमाडौंमा मारवाडी जातिबीच बोलिन्छ ।
मारवाडी भाषालाई जीवन्त राख्न जरुरी छ । यसले सांस्कृतिक संरक्षण गर्दछ, भविष्यका पुस्ताहरूलाई मारवाड़ी सम्पदा संरक्षण र हस्तान्तरण गर्न मद्दत गर्दछ । यसले स्थानीय वक्ताहरूसँग राम्रो बुझाइ र सम्बन्धलाई सहज बनाउँछ । परम्परागत मारवाड़ी गीतहरू, लोक कथाहरू र साहित्यमा पहुँच प्रदान गर्दै सांस्कृतिक अन्तर्दृष्टि प्रदान गर्दछ । मारवाडीको आफ्नै लिपि छैन र यो सामान्यतयाः देवनागरी लिपिमा लेखिन्छ, जुन हिन्दी र संस्कृतका लागि प्रयोग गरिन्छ । ऐतिहासिक रूपमा, यो भाषा व्यापारीहरूले लेखा उद्देश्यका लागि महाजनी लिपिमा पनि लेखेका थिए । आफ्नो जाति र समुदायसँग अभिन्न रूपमा गाँसिएको मातृभाषा लोप हुँदै गएको पीडा निकै कष्टकर हुन्छ ।
नेपालमा आज कतिपय भाषाहरू राजनीतिक, सामाजिक आर्थिक आदि कारणले सङ्कटमा परेका मात्र छैनन्, लोपोन्मुख अवस्थामा पुगिरहेका छन् यस्तो अवस्था बढ्दै गएमा कतिपय भाषाहरूको अस्तित्व नै नरहने स्थिति देखिन्छ । त्यसैले भाषालाई समाजमा जीवन्त राख्न जरुरी हुन्छ । त्यसका निम्ति कसैको एक्लो प्रयास सफल नहुने भएकाले सामुहिक प्रयत्नका साथै सरकारी तहबाट पनि पहल हुनु जरुरी छ । अल्पसङ्ख्यक भाषाको जगेर्ना र विकासका लागि नेपालमा सरकारी क्षेत्रबाट केही प्रयास अवश्यै भएका छन् । तर, ती प्रयत्नहरू त्यति प्रभावकारी छैनन् । कुनै पनि भाषाको अध्ययनले त्यस भाषाको उत्पति, भाषिक विकास, भाषाको प्रयोग अवस्था जस्ता विषयहरु समेट्ने र त्यस भाषाको वर्तमान स्थिति अवगत गराउनुका साथै आगामी दिनमा त्यस भाषाको अवस्था र पहँुचलाई जीवन्तता दिनका निम्ति अवलम्बन गर्नुपर्ने मार्ग चित्र समेत दर्शाउने भएकोले सबै भाषाको अध्ययन आवश्यक हुन्छ । त्यसमा पनि भाषिक पहुँच कमजोर भएका र अन्य भाषाको प्रभावमा परेका वक्ता रहेको भाषाको अध्ययन अनुसन्धान त झनै बढी महत्वको हुन्छ ।
विविधताको सौन्दर्यले युक्त हाम्रो देश नेपाल अनेकतामा एकताले बाँधिएकोे छ । त्यसैगरी यहाँ बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक इन्द्रेणीले आफ्नो सौन्दर्यको छटाले सबैलाई मन्त्रमुग्ध पारिरहेको छ । भाषा आन्दोलनका दुई आयामहरु छन् । भाषाको नारा उठाएर आफ्नो पार्टीगत र व्यक्तिगत स्वार्थपूर्ति गर्ने एउटा विचार प्रवृत्ति रहेको छ भने विभिन्न समयमा भएका जनआन्दोलनहरूले पनि नेपाली भाषालाई राष्ट्रभाषा र यस देशभित्र बोलिने अन्य सबै मातृभाषालाई राष्ट्रिय भाषाको मान्यता दिएर तिनको पहिचान संरक्षण र विकासको प्रत्याभूति समेत गराएको छ । यस देशभित्र विभिन्न धर्म र संस्कृति अनुसरण गर्ने विभिन्न जाति तथा जनजाति एक सय भन्दा धेरै भाषा बोल्दछन् भन्ने विद्वानहरुको भनाइ छ ।
भाषाको पहिचान र संरक्षणका लागि राज्यका नीति, नियम, ऐन, कानून, नियमावली र विनियमावलीमा आवश्यक प्रबन्धहरु गर्ने र ती नीतिनियमलाई व्यावहारिक रुप दिने प्रयास र प्रयत्न गर्नु आवश्यक छ । भाषा भनेको गतिशील वस्तु हो । यसको समृद्धि विकास तथा ऐतिहासिकताको पहिचान त्यसमा रहेको शब्द भण्डारले गराउँछ । जुन भाषामा जति बढी शब्द पाइन्छन् अथवा जुन भाषाका शब्दमा जति बढी अभिव्यक्ति, सामथ्र्य पाइन्छ, त्यो भाषा त्यति नै समृद्ध र विकासित ठानिन्छ । तसर्थ भन्न सकिन्छ– मारवाडी केबल एक भाषा मात्र होइन, यो एक सांस्कृतिक खजाना हो र यसको संरक्षणमा मारवाडी जातिको अस्तित्वको गौरवमय इतिहास पनि जोडिएको छ भन्ने कुरा बुझ्न र बुझाउन जरुरी छ ।