श्रेष्ठता मर्न नदिऔं

0
13

धादिङको गजुरी–२ का चूडामणि कँडेलको आफैंले बुनेको जालमा परेर दुःखद् मृत्यु भएको घटना सार्वजनिक भएको छ । यो र यस्ता घटनाले मानिस कतिसम्म क्रुर हुनसक्छ भन्ने देखाएको छ । आफूलाई प्रत्यक्ष रुपले कुनै हानी–नोक्सानी नगर्ने प्रति मानिस किन यति क्रुर भएका होलान् खोजी गर्ने विषय बनिएको छ । अझ कति मानिस आफैंले जन्माएका सन्तानप्रति नै अत्यन्त निष्ठुरी भएका घटना पनि सार्वजनिक हुन थालेका छन् । हुन त मानिसलाई संसारकै निकृष्ट प्राणी पनि भनिन्छ । किनकि मानिस त्यही हो जो कसैलाई असाध्यै धेरै माया गर्छ र उसले अर्को अवस्थामा घृणा मात्र होइन निर्मम भएर प्राण लिन सक्छ ।

त्यसकै उदाहरण हो धादिङमा भएको कँडेलको हत्याको घटना । सँगै बाँच्ने र सँगै मर्ने प्रतिज्ञा गरेकी श्रीमती सुस्मितासँग सम्बन्ध चिसिएपछि श्रीमानले अपराधको बाटो रोजे । आफ्नै श्रीमतीलाई मार्न लगाउने कँडेलको निर्ममताले मानिस संसारकै निच प्राणी हो भन्ने त देखाएकै छ त्यो भन्दा पनि त्यही दुष्कर्मको फल आफूले भोग्नु परेको अर्को अपराध हुन पुगेको छ । चार लाख रुपैयाँ दिएर श्रीमती सुस्मिताको हत्या गराउन खोजेका कँडेललाई तिनै मानिस काल बनेर आए र उनलाई आफ्नै घरको नुहाउने कोठामा डोरीले पासो लगाएर मारे । प्रहरीको तदारुकताले हत्यामा संलग्न तीन जना युवा पक्राउ पनि परे र अनुसन्धानका क्रममा प्रहरीले हत्याको कारण पत्ता लगायो ।

मानिसलाई संसारकै सर्वश्रेष्ठ प्राणी पनि भन्ने गरिन्छ । मानिस मै हुने दया, माया, करुणा, स्नेह, सद्भाव र सहयोगी भावनाले उत्कृष्ट प्राणी भनिएको हो । तर, त्यही मानिसभित्र रहेको आसुरी शक्तिले कहिलेकाहीँ संसारकै घिनलाग्दो अस्तित्व भएको प्राणी बनाउँछ । ‘मुखमा राम–राम, बगलीमा छुरा’ मानिसको त्यही प्रवृत्तिलाई लिएर बनाइएको उखान हो जोसँग संयम, धैर्य, सहनशीलता र क्षमाशीलता हुँदैन । त्यसकै उदाहरण बने कँडेल र त्यही अपराधको जालोमा बेरिएर अकालमा मृत्युवरण गर्न पुगे । श्रीमती सुस्मितालाई मार्ने योजनाका साथ चार लाख रुपैयाँ बैना दिएर पनि योजना पूरा नभएको भन्दै पैसा फिर्ता माग्नु उनको अपराध भयो शायद ! त्यही पैसाले उनको ज्यान लियो ।

आजभोलि मानिसले मानिसलाई यातना दिनु, मानसिक कष्ट दिनु वा क्रुरतापूर्वक हत्या गर्नु सामान्य जस्तै भइसकेको छ । कुनै निजी स्वार्थका लागि मानिस मारिनु दश वर्षे सशस्त्र द्वन्द्वले शत्रुजीव लामखुट्टे मारे सरह बनाएको छ । शायद त्यहीकारण होला श्रीमानले श्रीमती, श्रीमतीले श्रीमान वा आफ्नै सन्तान मारिएको घटना बढ्न गएको छ । यस्तो प्रवृत्ति र मानसिकताले मानिसको श्रेष्ठतालाई कलंकित पार्दछ । त्यसकारण मानिसले प्रतिशोध, इष्र्या, वैमनस्यता वा शत्रुता होइन सद्भाव, सहनशील, करुणा, प्रेम र बन्धुत्वको भावना जाग्रत गर्नुपर्छ । यसले मात्र मानिसको श्रेष्ठता र उच्चतालाई जोगाउन सक्छ । विश्वलाई बन्धुत्वको भावले हेर्ने हाम्रो दर्शन र संस्कृतिले पनि हामीलाई त्यही सिकाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here