नेपालको राजनीतिक धरातलमा दशकौंदेखि मूल रूपमा एकै कुरा दोहोरिरहेको छ– अस्थिरता, अव्यवस्था र अवसरवादिता । परिवर्तनका सपना देखाउने नेताहरू जनताले दिएको मतलाई आफ्नो निजी सिंहासन निर्माणको भ¥याङ बनाउँदै, देशको भविष्यलाई बारम्बार जुवाको दाउमा राखिरहेका छन् । जनताको विश्वास सत्ताको खेलमा गुमाइरहँदा देशले समृद्धिको मार्ग होइन, निराशाको गल्लीमा यात्रा गरिरहेको छ ।
इतिहासको भारी छायाँ २०४६ सालमा प्रजातन्त्र पुनः स्थापना भयो । २०६२/०६३ मा जनआन्दोलनले राजतन्त्रलाई विस्थापित ग¥यो, तर यी आन्दोलनको उपलब्धि आज कहाँ छन् ? सत्ताको स्वाद चाखेका नेताहरूले गणतन्त्रलाई स्वार्थको दास बनाएका छन् । विगत १५ वर्षमा १४ प्रधानमन्त्री फेरिइसकेको तथ्य आफैँमा पर्याप्त छ, कि नेपाली राजनीतिमा स्थिरता एउटा दुर्लभ वस्तु बनिसकेको छ ।
२०८१ सालमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको नेतृत्वमा बनेको गठबन्धन सरकार नीतिहीन र दिशाहीन देखिन्छ । नेपाली कांग्रेस र एमालेले ‘राष्ट्रिय एकता सरकार’को आवरण ओढे पनि यसको भित्री स्वरूप सत्ताको साझेदारी बाहेक केही देखिन्न । प्रचण्ड जस्ता नेताहरू बारम्बार सत्ता टिकाउने खेलमा व्यस्त छन्, जसले गर्दा जनताले ‘गणतन्त्र’ शब्दमा नै वितृष्णा राख्न थालेका छन् ।
ओडीडी त्रिकोण र भागबण्डाको दुसंस्कार ओली, देउवा र दाहाल तिनै पुराना पात्रहरू जसले पटक–पटक देशको सत्तामा कब्जा जमाए । जनताले ‘ओडीडी ट्रायो’ भनेर आलोचना गर्न थालेका छन् । भ्रष्टाचारका काण्डहरू – नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा काण्ड, सुन तस्करी यी सबैमा यिनकै आसेपासेहरूको नाम आउँछ । तर, सजाय होइन, संरक्षण पाइन्छ । यस्तो दोहोरो मापदण्डले जनता निराश नभए के हुने ? सरकारी नियुक्तिमा योग्यता होइन पहुँचको मोल चल्छ । अस्पतालदेखि अदालतसम्म पहुँचवाला मात्र सुन्ने व्यवस्था बनाइएको छ । यसरी जनताले आधारभूत अधिकार पाउन संघर्ष गर्नुपर्ने अवस्था कुन गणतन्त्रमा स्वीकार्य हुन्छ ?
विद्यार्थी, शिक्षक र व्यवसायी राजनीतिक खेलका मोहरा शिक्षालयमा शिक्षा होइन, राजनीति हाबी छ । विद्यार्थी संगठनहरू दलका पंक्तिहरू बन्न बाध्य छन् । विचार होइन, चाकरीको संस्कार पलाएको छ । जो नेताहरुको प्रिय हुन्छन्, उनीहरु नै अवसरका भागीदार बन्छन् । उता, व्यवसायीहरूलाई पनि राजनीतिक छायाँ चाहिन्छ । व्यापार गर्नुछ भने पहुँच चाहिन्छ, पहुँच छैन भने कर, बाधा र जाँचको जालोमा अल्झिनुपर्छ । असल व्यापारीलाई प्रशासनले अपराधी झैं व्यवहार गर्छ । यस्तो स्थितिमा धेरै उद्यमीहरू देश बाहिर पलायन भइरहेका छन् साथै लगानी विदेशिएका छन् ।
इमानदारीको सास्ती नेपालमा आजको सन्दर्भमा इमानदार हुनु सजिलो छैन । इमानदारी त्याग्नेलाई पुरस्कार, इमान राख्नेलाई सजाय । सरकारी सेवा, ठेक्का, पद–जहाँ–जहाँ अवसर छ, त्यहाँ–त्यहाँ पहुँचवालाले मात्रै पाइला टेक्न सक्छन् । बाँकीलाई निराशा, उपेक्षा र अन्ततः पलायन । वास्तवमा, यो राज्य व्यवस्थाले इमानदारहरूलाई देश छाड्न बाध्य बनाएको छ । जुन समाजमा सत्य बोल्न डर लाग्छ, त्यहाँ इमानदारीले कसरी बाँच्न पाउँछ ?
आक्रोशको स्वर र आन्दोलनको प्रतिध्वनि पछिल्ला केही वर्षमा सडक आन्दोलनहरू मात्र होइन, निर्वाचन परिणामहरूले समेत जनताको आक्रोश प्रकट गरेका छन् । काठमाडौंका बालेन्द्र शाह, धरानका हर्क साम्पाङहरू परम्परागत राजनीतिका लागि चेतावनी हुन् । यिनीहरू परिवर्तनका आशा हुन्, यद्यपि ती प्रयासहरू अहिलेसम्म व्यापक असर पार्न सफल भएका छैनन् ।
२०८१ साल चैतमा काठमाडौंमा राजतन्त्र पुनः स्थापनाको माग गर्दै गरिएको प्रदर्शन र त्यसप्रति सरकारले देखाएको दमन, अश्रुग्यास र बल प्रयोगले सरकार जनताको आवाज सुन्नै नसक्ने अवस्थामा पुगेको सन्देश दिन्छ । दुःखद् त के भने शान्तिपूर्ण प्रदर्शनमा ज्यान गुमाउनु परेको प्रदर्शनकारी अनि पत्रकारको मृत्युको खबरलाई पनि अतिरञ्जित गरिन्छ र उनीहरुको लासमा समेत राजनीतिकरण गरिन्छ भने हामी कुन गणतन्त्रको अभ्यास गरिरहेका छौं ?
अर्थतन्त्रको आन्तरिक पीडा विश्व बैंकका अनुसार नेपालको जीडीपीमा ३.९% वृद्धि भएको छ, तर यो अंक जनताको भान्सामा पुग्न सकेको छैन । पेट्रोल, तरकारी, भाडा सबै चर्किए पनि तलब, आम्दानी र रोजगारका अवसर छैनन् । रेमिट्यान्स अर्थतन्त्रको मुख्य आधार बनेको छ । सन् २०२४ मा एक सय ५६ अर्ब रुपैयाँ नेपाल भित्रियो तर यसको पछाडि लुकेको छ, लाखौं आमाबाबु अनि आफ्ना परिवारको आँखाबाट बगेका आँशु र छोराछोरीबाट छुट्टिएका ति बिछोड र सपना सपनामै सिमित रहेर यही राज्य बेवास्थाको गर्भ मै तुहिँदाको त्यो घाउमा मल्हम लगाउन के राज्य सक्षम छ ?
अन्ततः सुधारका स्तम्भहरू बिनाको गणतन्त्र, ढल्न लागेको घर जस्तै हो । जसमा जनता भित्र बसेका छन् र बारम्बार कम्पन महशुस गरिरहेका छन् । नेपाल आज जुन मोडमा उभिएको छ, त्यो साधारण मोड होइन । यो समय निर्णायक हो, सुधार गरेर विश्वास पुनः स्थापित गरौं या इतिहासमा फेरि एक पटक अवसर गुमाएको देश बन्न पुग्ने ?
पुराना दलका शीर्ष नेताहरू जनताको माझ न त खुलेर उभिन सक्छन्, न त आँखामा आँखा जुधाउन । अनुहारमा त्रासको पोतो छ, दोष र असफलताको भारी बोकेको । तर त्यही भिडमा जब नयाँ पुस्ताका नेताहरू देखिन्छन्, जब पूर्व राजा ज्ञानेन्द्र शाह प्रकट हुन्छ, फूलको वर्षा शुरु हुन्छ । यो समर्थनभन्दा बढी, विगत ३५ वर्षदेखि ‘टेस्टेड’ भनिएका नेता प्रतिको गहिरो वितृष्णाको आवाज हो । जनताले अब परिवर्तन खोजेका छन् । नयाँ विकल्पको बाटो हेरेका छन् । यदि तीन शीर्ष नेताहरूले यथाशीघ्र आत्मालोचना नगरे, उनीहरूका नामहरू इतिहासको पानाबाट मेटिएर, कालो बादलले ढाकेको एउटा गुमनाम अध्यायमा परिणत हुनेछन् ।