अबको तीस वर्षमा नेपाल बुढ्यौली समाजमा रुपान्तरण हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार वि.सं. २१११ सम्ममा नेपाल बुढ्यौली समाजमा रुपान्तरण हुने जनाएको हो । यस्तो अवस्थामा नेपालको आवास व्यवस्था स्वास्थ्यको हेरचाह, सामाजिक सुरक्षा, आर्थिक भरणपोषण लगायतका महŒवपूर्ण विषयहरुमा चुनौती सृजना गर्नेछ । विगतका राष्ट्रिय जनगणतनाहरुमा वृद्ध व्यक्तिहरुको जनसंख्या बढ्दै गएको देखाएको थियो । २०४८ सालको गणनादेखि वृद्ध व्यक्तिहरुको संख्या तीन गुणाले बढेको छ । जनसंख्याको यस्तो अवस्थाले अहिलेका युवा नै वृद्धावस्थामा पुग्ने देखिन्छ । यसो हुनुमा प्रत्येक वर्ष जन्मदरमा हुँदै गएको कमी र युवाहरुको विदेश पलायन कारक रहेको छ । अहिले नै नेपालमा सक्रिय उमेर समूहको संख्या घट्दै गएको छ र आश्रित जनसंख्याको अनुपात वृद्धि भइरहेको छ ।
प्रत्येक दश वर्षमा हुने जनगणनाको तथ्यांकका आधारमा पनि जनसंख्याको पिरामिडमा परिवर्तन आएको देखिन्छ । विगतमा ०६८ को तथ्यांकमा पहाडमा २५.७ प्रतिशत रहेको बुढ्यौली जनसंख्या ०७८ मा पुग्दा ४३.६ प्रतिशत पुगेको छ । यसै अनुपातमा हिमाली र तराईमा पनि बुढ्यौली जनसंख्या तीब्र दरमा वृद्धि भएको छ । पछिल्लो समय युवाहरु प्रवासनतर्फ अग्रसर भएका छन् । यसकारण एकातिर नेपालमा काम गर्ने उमेर समूहको जनशक्ति घटिरहेको छ । यसले उत्पादन क्षेत्र प्रभावित हुँदा परनिर्भरता बढेर गएको छ भने अर्कातिर युवाको प्रवासनले नेपालको जन्मदर घट्दै गएको छ । नेपालीको प्रवृत्ति र स्वदेशमा रोजगारको अवसर नहुँदा विशिष्ट पहिचान भएको नेपाली पारिवारिक ढाँचा पनि संयुक्तबाट एकल पारिवारिक ढाँचामा रुपान्तरित भएको छ ।
बुढ्यौली समस्या मात्र होइन यो समाजका लागि अवसर पनि हो । वृद्धावस्थाका मानिससँग भएको अनुभव, ज्ञान, सिप नयाँ पुस्तामा हस्तान्तरण गर्न सकिए समाज परिवर्तनको नौलो ढोका खोल्न सकिन्छ । त्यसका लागि सरकारकै भूमिका र जिम्मेवारी बढी हुन्छ । अहिलेको प्रवासनको गतिलाई न्यूनीकरण गर्दै रोक्न सकिए हाम्रा कतिपय विशिष्ट सिप, कला, कुशलता युवाहरुमा हस्तान्तरण गर्न सकिन्थ्यो । यसका लागि राज्यले विश्वासयोग्य वातावरण बनाउनुपर्छ, नीति–निर्माण गर्नुपर्छ र युवा लक्षित कार्यक्रम ल्याउनुपर्छ । त्यसैगरी ज्येष्ठ नागरिकहरुसँग भएको ज्ञान, सिप, क्षमता र अनुभवलाई अवसरमा बदल्ने नीति ल्याउनुपर्छ । युवाहरुलाई आवश्यक सेवा प्रदान गर्दै देशमै आयआर्जनको सुनिश्चितता प्रदान गर्नुपर्छ । त्यसका लागि हामी जनता जागरुक भई नीति, दूरदृष्टि, योजना दिन सक्नेलाई राज्य सञ्चालनको जिम्मा दिनुपर्छ । अहिलेकै वयोवृद्ध, नीति, योजना, क्षमता, दृष्टिविहीन नेतृत्वबाट नेपाली समाजको रुपान्तरण सम्भव छैन ।