नेपाली साहित्यको भण्डारमा एउटा गहन कृति थपिएको छ । त्यो हो स्रष्टा ‘चित्रा पौड्याल’को मुक्तक संग्रह ‘शंखनाद’ । नेपाली साहित्यका विभिन्न विधा छन् । मुक्तक पनि एक प्रभावकारी विधाको रुपमा स्थापित भएको छ । थोरै हरफमा, थोरै लेखाइमा धेरै कुरा भन्न सकिने विधा हो मुक्तक । यसै मेसोमा प्रस्तुत मुक्तक कृति पाठकवर्ग समक्ष आएको छ ।
यस कृतिबारे विद्वान तथा साहित्यकार ज्ञानुवाकर पौडेलका विचारबाट जानौँ– ‘हेरौँ पर्यावरणको विनाशलाई लिएर देखिएको यिनको चिन्ता र त्यसप्रति दायित्वबोध गरी लेखिएको एउटा चाखलाग्दो मुक्तकः सृष्टिको तालिकामा तालमेल छ हाम्रो, नगर्नु विनाश यसैमा हित सामेल छ हाम्रो, बिगारेर धर्ती धराशायी भो लौन बचाऊ, रोकौँ दोहन धर्तीकै अति भेल भो हाम्रो ।’ चित्राले मुक्तकमा व्यक्त गरेको यो अन्याय अनुभूति मलाई यति मर्मस्पर्शी लाग्यो कि पर्यावरणको विषयमा यिनले लिएको चिन्ता र दायित्वबोध केवल यिनको मात्र नभएर हामी सबैको पनि सरोकारको विषय हो जस्तो लाग्यो ।
यस्तो लाग्नु नै चित्राको सिर्जनात्मक सफलता हो । यिनले यी र यस्ता मुक्तकहरु लेखेर मुक्तककार बन्ने रहर मात्र पूरा गरेको होइनन् कि मौजुदा समय र समाजप्रति आफ्नो असन्तोष पनि व्यक्त गरेकी छिन् भन्ने कुरामा म विश्वस्त छु । समयसापेक्ष यस्ता मुक्तकहरु लेख्ने यस्ता होनहार कवि, मुक्तककार र गजलकारहरुको समेत राम्रो परिचय बनाइसकेकी छिन् चित्राले । विद्वान तथा साहित्यकार ज्ञानुवाकर पौडेलका यी विचारबाट नै जान्न सकिन्छकी स्रष्टा पौड्यालको यस कृति उच्चकोटीको छ ।
स्रष्टा पौड्यालका केही मुक्तकहरु–
आमाबाबुभन्दा ठूलो अर्को कुनै नाता छैन,
आफूलाई रित्तिएर माया दिने अर्को कुनै दाता छैन,
बलियो सहारा दिऊँ वृद्ध जीवित देवतालाई, खर्च कष्ट भयो कति बुझाउँदा त्यस्तो कुनै खाता छैन ।
अर्को मुक्तक–
गर्भवती सुत्केरीमा पनि साथ हाँकिरहिन्,
कमजोर थियो शरीर गाथ हाँकिरहिन्,
खास हेरविचार दया गर्ने समय होइन यो,
कुलको इज्जत बचाउन हाँकिरहिन् ।
यस्तै–यस्तै जीवनोपयोगी, व्यवहारपरक, समय सान्दर्भिक र सन्देशमूलक मुक्तकहरुले सजिएका छन् यस शंखनाद मुक्तक कृति । स्रष्टा पौड्यालद्वारा आफ्ना बुबा लोकनाथ पौड्याल, आमा हेमकला पौड्यालमा समर्पित दुई सय पृष्टसम्मको प्रस्तुत सुन्दर कृतिमा, धर्म, प्रवृति, भावना, आँशु, माला, गीत, सिन्दुर, लक्ष्य, लैङ्गिक समानता, विभेद, सृष्टि, विवाह, फूल, रुप, आमाबुबा, प्रेम, नारी, नारीहिंसा, सोच, नयन, नदी, देश, नेता, वाद, देश, शरीर, समाज, लोकतन्त्र, भगवान, धरती, करुणा, पहिरन, संस्कृति, सद्भाव, मान्छे, प्राण, मृत्यू, उत्सव, शक्तिशाली राष्ट्र, मिलन, बिछोड, मेहनत, जीवन, छाल, शिक्षा, पर्यावरण जस्ता विषयमा थुप्रै मुक्तक प्रकाशित भएका छन् । छोटो तर गहन अर्थ प्रवाह गर्ने यो मुक्तक कम्ति मिठो छैन, संसारमा कर्म गर्दागर्दै धेरै थाकिसकेँ, खुशी अरुलाई पार्दा प्रारब्ध कति साँचिसकेँ, आफ्नै मनको लय सुन्न फुर्सद छैन, आरामै छु कति भन्नु आफैँलाई ढाँटिसकेँ । यस्तै रोचक मुक्तकहरु समेटिएका छन् यस कृतिमा ।
स्रष्टा पौड्यालका सिर्जनाहरुमा, कोमल भावना, नारी मनोविज्ञान, शालीनता, प्रभावशाली सम्प्रेशरणीय शैली, विविध शिल्प, सरल र सहज विचारहरु कुँदिएका पाइन्छन् । समय र समाजप्रति सचेत र अन्यायका बिरुद्ध आवाज बुलन्द छन् रचनाहरु । उनका सिर्जनाहरुमा भाषा र साहित्यका सुवास प्लावित भएका पाइन्छन् । उनका रचनाहरु मर्मश्पर्शी हुन्छन् । उनका मुक्तकहरुमा कतै प्रकृति, कतै संस्कृति, कतै उच्छ्वास र कतै सन्त्रासका शब्दलाई साह्रै मिहिन रुपमा लिपिबद्ध गरिएका छन् । मुक्तकहरु प्रखर रुपमा प्रकट भएका पाइन्छन् ।
मुक्तककार पौड्याल निकै अध्ययनशील रहेको यो मुक्तकबाट पनि जान्न सकिन्छ ः
सोधेनन् पाण्डवले एक वचन जुवामा दाउ हाल्दा
बोलेनन् अग्निपुत्री ! एक वचन इज्जतमा घाउ हाल्दा
कति भन्नु संसारको नाता स्वार्थी हुन्छ, बुझ द्रौपदी
सखाप भयो कुल अहंकारको शिखरमा पाउ हाल्दा ।
स्रष्टा चित्रा पौड्याल विभिन्न साहित्यिक संस्था, प्रतिष्ठान र कार्यक्रमहरुमा कविता, मुक्तक बाचन गर्दै काव्य समाजमा एक छाप छाड्न सफल भएको पाइन्छ । उनको प्रखर कविता मुक्तक प्रतिभा पाठक वर्गमा समेत अभिसञ्चारित भएको छ । यस कविता संग्रहमा थुप्रै मुक्तकहरुमा नारी अस्तित्व एवम् सौन्दर्य चेतना, मानव मूल्य, समाजमा देखिएका विकृत पक्ष, स्वाभिमानी चेतना, मानव चेतना परिवर्तन, समाज विकासका आधार, जीवनबोध, आध्यात्मिक चेतना, ईश्वरीय चेतना, प्रेम तथा अहिंसा आदि विषयगत एवम् भावनागत परिधि प्रस्तुत गरेकी छन् । समाजमा नारीलाई हेर्ने दृष्टि उजागर गर्दै साहित्यकार पौड्यालले मुक्तकका माध्यमबाट नारी अस्तित्वको खोजी गरेकी छन् । जीवन मूल्यको उत्थान र सामाजिक कल्याण उनका मुक्तकहरुको मुख्य प्रयोजन रहेको देखिन्छ ।
चित्रा पौड्यालको पहिलो कविता वि.सं. २०३७ सालमा ‘पहिलो चोटि मोतीलाई सम्झिँदा’ नामक कविता विश्वदीप मासिकमा प्रकाशित भएको थियो र जीवनमा पहिलो कविता वाचन कक्षा ४ मा पढ्दा गरेकी थिइन् । मुक्तक यात्राको प्रेरणा भने राष्टिूय मुक्तक मेला २०७७ बाट पाएको तथ्य कृतिभित्र उल्लेख गरिएको छ । कृतिभित्रको एक मुक्तक यस प्रकार छ जसमा मान्छेले पृथ्वीको शोषण गरेको बारे रचना गरिएको छ ः
निर्दयतापूर्वक भोगेर पृथ्वी मान्छेले
शोषण गरेकै हो
विश्वमै प्रकृति र जलवायुको
सन्तुलन हरण गरेकै हो
हुनुपर्ने संरक्षक सृष्टिकै बनायो
झन् पृथ्वी अस्वस्थ
आघात अझै कति खप्नुछ
विवेकमा ग्रहण लागेकै हो ।
साहित्य रचनाहरु चिन्तनहरु पनि हुन् । जीवन जगत, चराचर जगत, प्रकृति अनि देश, प्रणाली र समाजप्रतिको चिन्तन हुन् । यी चिन्तन्हरुबाट देश सञ्चालकहरुले निकै राम्रा र दुरदर्शी मार्गदर्शन पाउन सक्दछन् । मुक्तक आकारमा एकदम छोटो हुन्छ, तर अर्थ विशाल । यस कृतिमा चार–चार हरफका मुक्तकहरु समेटिएका छन् अनि एक पृष्टमा मात्र एक मुक्तक । चार हरफमा यति विशाल अर्थ प्रवाह गर्न सक्नु मुक्तकको सुन्दरपक्ष हो र मुक्तककारको गहन खुबी ।
स्रष्टा चित्रा पौड्यालका यस कृति अघि ‘श्वेत शिखर’ (कविता संग्रह) प्रकाशित भएको छ र यस ‘शंखनाद’ मुक्तक संग्रहपछि संयुक्त गजल संग्रह ‘उडान’ प्रकाशन भएको छ । स्रष्टा पौड्यालका अध्यात्म, साहित्य र समाजसेवाप्रति पनि रुची रहेका छन् । स्नातकोत्तरसम्मको शिक्षा हासिल गरि जीवनको लामो समयसम्म सरकारी निकाय र अन्तर्गत १८ वर्ष ‘जीवन विज्ञान प्रशिक्षक’ जस्तो गहन जिम्मेवारीवहन गरी सेवा सम्पन्न भएका छन् र अवकाश जीवनमा साहित्यका माध्यमबाट नेपाली भाषा साहित्यको सेवामा सक्रिय रहेकी छिन् । स्रष्टा पौड्यालका उल्लेखित यो उच्च कोटीको सुन्दर कृति लोकनाथ हेमकला पौड्याल ट्रष्टले प्रकाशन गरेको छ ।