झापाका फुटबल क्षेत्रका नायक चर्चित युवा तथा अनेकन सामाजिक संस्था मार्फत राष्ट्रिय पहिचान बनाएका बिर्तामोडका विनोद बस्नेतले महाप्रस्थान रोजेका छन् । छोटो समय र युवा कालमै नेतृत्वदायी भूमिका निर्वाह गर्दै व्यावसायिक सफलता समेत हासिल गरेका बस्नेतको स्वेच्छिक महाप्रस्थानले बिर्तामोड मात्र होइन सिंगो झापा स्तब्ध भएको छ । कुनै पनि भूमिकामा ‘खरो’ उपस्थिति देखाउन सक्ने विनोदको सम्भावित अभावले झापालीको मन पिरोलिएको छ भने उनको परिवारको भरोसा र निश्चिन्तताको छानो ढलेको छ ।
बिर्तामोड–१, जगतबस्तीमा रहेको निजी निवासमा शुक्रबार मृत भेटिएका उनको पार्थिव शरीरलाई सोही दिन साँझ पवित्र कन्काई नदी किनारमा अन्तिम विदाइ गरिएको थियो । हजारौंको संख्यामा उपस्थित उनका शुभचिन्तक, समर्थक, आफन्त, इष्टमित्र र परिवारजनले अश्रुपुरीत श्रद्धाञ्जली अर्पण गरेका थिए । बिर्तामोडका पुरानो र प्रतिष्ठित बस्नेत परिवारका युवा विनोदले व्यवसायीका रुपमा स्थापित गर्दै विभिन्न सामाजिक संघ–संस्थाहरु सम्बन्ध बिस्तार गरेका थिए । हक्की, स्पष्टवक्ता र निर्णय क्षमताका कारण अत्यन्त छिटो समाजमा स्वतन्त्र पहिचान कायम गरेका उनी वीरता जेसीजका अध्यक्ष हुँदै नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष भएका थिए ।
सयपत्री ट्रेड लिंकबाट प्रारम्भ भएको उनको व्यवसायिक यात्रा मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिवसम्म पुगेको थियो । त्यस्तै सामाजिक संस्था रोटरी क्लव अफ बिर्तामोडको अध्यक्ष, जेसीज समाज झापाको अध्यक्ष भएर व्यक्तित्व र नेतृत्वको विकास गरेका बस्नेत व्यावसायिक संगठन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का कार्यसमिति सदस्यको रुपमा सेवारत थिए । कोरोना कालमा अत्यावश्यक सेवा प्रदान गर्न स्थापित ‘एकका लागि एक’ अभियानका सह–संयोजक भएर मानव सेवाको क्षेत्रमा समेत उत्कृष्ट योगदान दिएका थिए ।
पूर्वी नेपालको प्राकृतिक सौन्दर्यले भरिपूर्ण जिल्ला इलामको साँखेजुङ पैतृकथलो भएका बस्नेत कृष्णबहादुर र कृष्णकुमारी बस्नेतका प्रथम सन्तान थिए । सुनसरीको धरानकी कोपिलासँग विवाह गरी छोरी विभुतिको समेत असल छहारी बस्नेतको अकल्पनीय र अप्रत्याशित देहत्यागको घटना झापाली समाज खासगरी युवाका लागि बिर्सिन नसक्ने पीडा बनिएको छ । त्यसमा पनि झापा गोल्ड कपको अध्यक्ष रहेर फुटबल क्षेत्रको विकास प्रबद्र्धनमा उनले निर्वाह गरेको भूमिका अविस्मरणीय रहने शवयात्रामा सहभागी विशाल लहरले देखाएको छ । सानै उमेरमा व्यावसायिक सफलता र उचाइ प्राप्त गरेका बस्नेतले भर्खरै पाँच दशकको जीवनयात्राको अनुभव गर्दै थिए । सबै उमेर समूह र अग्रजहरुका प्रति मिलनसार, अनुशासित र दृढइच्छा शक्तिको पर्याय बनिएका बस्नेत पूर्वाञ्चल दैनिकका समेत हितचिन्तक थिए । उनको यो स्वेच्छिक महाप्रस्थानबाट मर्माहत उनकी आमा, धर्मपत्नी, छोरी, भाइहरु राजु, विपिन, बुहारीहरु लगायत सम्पूर्ण परिवारमा समवेदनासहित उनको अनन्त यात्रा शान्त रहोस्, भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।