युद्धबहादुर बोहोरा,
इलामको फाकफोकथुम–१ खाम्बाङमा निर्माण सम्पन्न नागेश्वर शिवालय मन्दिर उभौली पर्वको अवसर पारेर उद्घाटन गरिएको छ । मन्दिर निर्माण मुल समिति अध्यक्ष खगीमाया भट्टराईको अध्यक्षतामा प्रमुख अतिथि फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल र स्थानीयबासी ९८ वर्षीया लिलावती भट्टराईद्वारा मन्दिर उद्घाटन गरिएको हो ।
विधिवत उद्घाटन गरिएको मन्दिरमा पाँच जना ब्रह्माणबाट पञ्चरुद्री पाठसहित विविध कार्यक्रमसँगै सञ्चालनमा ल्याइएको छ । यसैबीच, मन्दिर निर्माण सम्पन्न गर्ने सहयोगी धार्मिक व्यक्तित्व, जग्गादातासहित ५० जनालाई सोही अवसरमा सम्मान गरिएको छ भने आजीवन सदस्यहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको सचिव इन्द्रकमल तामाङले जानकारी दिए ।
स्थानीय जग्गादाता सिद्धिप्रसाद भट्टराईले निःशुल्क उपलब्ध गराएको एक रोपनी जमीनमा २०७४ सालबाट मन्दिर निर्माण कार्य थालिएको थियो । निर्माण शुरु गर्न पूर्व मन्त्री केशव थापाले ५० हजार रुपैयाँ प्रदान गरेका हुन् । आर्थिक वर्ष २०७५÷०७६ र ०७९÷०८० मा गरी १ नम्बर वडा कार्यालयले तीन लाख, ०७६÷०७७ र ०७८÷०७९ मा फाकफोकथुम गाउँपालिकाले दुई पटक गरी पाँच लाख उपलब्ध गराएको थियो ।
उक्त शुरूको बजेटबाट मन्दिर निर्माणमा खर्च अभाव भएपछि अलपत्र भयो । त्यसबेला वैदेशिक रोजगारको शिलशिलामा कोरियामा रहेका स्थानीय युवाले एक लाख १३ हजार संकलन गरी निर्माण समितिलाई हस्तान्तरण गरिएको र मन्दिरको काम अगाडि बढेसँगै स्थानीय तहले पनि पछिल्लो पटक बजेट उपलब्ध गराएको निर्माण समितिले जनाएको छ ।
पटक–पटक गरी जम्मा रकम आठ लाख ६३ हजार प्राप्त भएपछि निर्माण सम्पन्न भइ हाल मन्दिरको नाममा ११ हजार रुपैयाँ बचत रहेको कोषाध्यक्ष नारायण बोहोराले बताए । साधारण सदस्य शुल्क पाँच सय पाँच रुपैयाँ रहेको यस संस्थामा २२ जना सदस्य र तीन हजार एक सय रुपैया निर्धारण गरिएको आजीवन सदस्यमा १६ जना छन् । साधारण सदस्य र आजीवन सदस्यबाट जम्मा भएको रकम संस्थाको खातामा जम्मा गरिएको छ ।
प्यागोडा शैलीको डिजाइनमा जस्तापाताको छानो भएको मन्दिर बजेट अभावका बाबजुद लामो समयपछि निर्माण सम्पन्नसँगै विद्युत, खानेपानी र शौचालय पनि निर्माण भएको छ । हाल घेराबारा, गेट र प्रतिक्षालयसँगै अन्य मन्दिर सजावट टायल, मार्बल, पक्की छाना मन्दिर परिसरमा ढलान लगायत अन्य पूर्वाधार संरचना निर्माण गर्नुपर्ने आवश्यक रहेको समितिले जनाएको छ । प्रमुख अतिथि पालिका अध्यक्ष खनालले आवश्यक संरचनालाई पालिकाले सम्बोधन गर्ने बताए ।
उद्घाटन समारोहमा १ नम्बर वडाध्यक्ष कर्णबहादुर लिम्बू, महिला सदस्य गोमादेवी भट्टराई, पूर्व शिक्षक जयनारायण भट्टराई, जगत बोहोरा, जग्गादता सिद्धिप्रसाद भट्टराई लगायतले मन्तव्य राखेका थिए । हाल उद्घाटन गरिएको मन्दिर सधैँ खुल्ला राखिने र विशेष पर्वहरुमा कार्यक्रम सञ्चालन गरिने भएको छ । समारोहमा कवि तथा साहित्यकार जयनारायण भट्टराईद्वारा निर्मित सम्झनाका सुशेली कविता संग्रहको पनि प्रमुख अतिथि खनाल मार्फत विमोचन गरिएको थियो । उक्त कविता संग्रह यसोभानु साहित्य संङ्गीत प्रतिष्ठान, इलामले प्रकाशन गरेको हो ।
खस–आर्य समुदायको बाक्लो बसोबास भएको यस ठाउँमा तामाङ, राई र दलित समुदायको पनि बसोबास रहेको छ । शिवालय मन्दिरमा सवै जातजातिको साथ सहयोग र सद्भाव रहेको पाइन्छ । यसअघि यो ठाउँ आसपास कुनै मन्दिर निर्माण गरिएको थिएन । स्थानीयले पूजापाठ गर्दै र मान्दै आएका प्राकृतिक देवस्थलहरु भने पर्याप्त छन् । हाल निर्माण भएको मन्दिरको केही माथिल्लो भागमा भने साङ्गे च्योदाम्दे छोयलिङ गुम्बा करिब दुई दशक हाराहारी पहिले बनेको छ । यहाँ सबै धर्मावलम्बीहरु विभिन्न अवसरमा भेला हुने गर्दछन् ।
मन्दिर उद्घाटन गर्नुअघि स्थानीय धार्मिक व्यक्तित्वहरुबाट ठूलो घन्टी, शंख, त्रिशूल, घडा, चक्र, थाली, जलहरी, आरती थाल, कलश, गणेशको मूर्ति, चम्मर लगायत पूजाआजाका सामग्री प्रदान गरेका छन् भने सामग्री सौजन्य गर्ने क्रम जारी रहेको बताइएको छ । मन्दिरको उद्घाटन गर्न स्थानीयबासीले आवश्यक खानपिनका सामग्रीसहित आर्थिक सहयोग गरेका छन् ।
नयाँ मन्दिरको उद्घाटनले स्थानीय धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने अपेक्षासहित स्थानीय समुदायमा धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकता र सांस्कृतिक पहिचानलाई बलियो बनाउने विश्वास गरिएको छ । सात सदस्यीय समिति र पाँच जना सल्लाहकार समिति रहेको यस संस्थाको भव्यताका साथ उद्घाटन गरिएको कार्यक्रममा स्थानीयबासी, समाजसेवी, धार्मिक व्यक्तित्व, पण्डित, पुजारी लगायतको बाक्लो उपस्थिति थियो । स्थानीय शिक्षक खगेन्द्रप्रसाद भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन बालकृष्ण भट्टराईले गरेका थिए ।