शान्तिका अग्रदूत भगवान बुद्धको जन्मजयन्ती आज । बुद्धले जन्म लिएको, ज्ञान प्राप्त गरेको र महापरिनिर्वाणको एउटै तिथि आजको दिनलाई बुद्ध पूर्णिमा पनि भनिन्छ । यो संसार दुःखैदुःखको सागर हो, यसबाट मुक्त हुन सकेमात्र आफूभित्र र संसारभर शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रबर्तक गौतम बुद्ध त्यही र त्यस्तै उपदेशका कारण भगवानका रुपमा पुजिन्छन् । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको स्मरण, सम्मान तथा उनका आदर्श विचारका अनुशरण गर्नेहरु मानवता, दया, प्रेम, करुणाका प्रतिरुप मानेर आज विभिन्न कार्यक्रमहरु गर्छन् । बुद्धत्व अर्थात् ज्ञान प्राप्तिपछि उनका उपदेश र सन्देशका आधारमा भगवान कहलिएका सिद्धार्थ गौतमको अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो भन्ने भनाइ थियो । त्यसकै आधारमा बौद्ध धर्मावलम्बीहरुले चैत्य, गुम्बा, बिहार लगायतका स्थलमा लामा एवम् धर्मगुरुहरु द्वारा विशेष पूजाआजा गरिन्छ । नेपाल भगवान बुद्धको जन्मस्थल भएका कारण बौद्धमार्गीहरुका लागि सर्वोच्च तीर्थस्थल हो । त्यसकै कारण प्रत्येक वर्ष हजारौं बौद्धमार्गीहरु बुद्धको जन्मस्थल लुम्बिनी आउने गरेका छन् । आजभन्दा २५६९ वर्षअघि हालको रुपन्देहीको लुम्बिनी उद्यानमा माता मायादेवीको गर्भबाट राजा शुद्धोधनका सन्तानका रुपमा जन्मिएका सिद्धार्थ गौतमले कठोर साधनाबाट प्राप्त गरेको ज्ञान नै यो लोकमा दुःखबाट मुक्ति पाउने माध्यम बनिएको छ । उनको त्यही ज्ञान आज विश्वमा हिंसा, अधर्म र असत्यबाट मानव जातिलाई जोगाउने दर्शन बनिएको छ ।
भगवान बुद्धका उपदेश वर्तमानका लागि अझैं सान्दर्भिक र सार्थक हुनेछ । आज पनि विश्व हिंसा, द्वन्द्व र मानव जात मात्र होइन पृथ्वीकै विनाश गर्नेतर्फ उन्मुख छ । बुद्धकै भूमिमा हजारौंले व्यक्तिगत र दलीय स्वार्थका निम्ति मारिनु परेको घटना छ । कतिपय देशहरु अझै युद्ध जस्तो विनाशकारी कार्यमा होमिएका छन् । हाम्रै छिमेकी भारत र पाकिस्तानका बीचको विवादले हिंसाको रुप लिइसकेको छ । भारतको कास्मिर राज्यको पहलगाममा केही समयअघि आतंकवादीहरुको आक्रमणमा परी छब्बीस जनाले ज्यान गुमाए । पर्यटकीय स्थलमा आतंकवादी आक्रमणमा एक नेपाली युवाको समेत हत्या भयो । त्यसकै बदलामा भारतले पनि जवाफी आक्रमण ग¥यो, जसका कारण मानवीय साथै भौतिक क्षति हुन पुग्यो ।
विश्व मानव समाजमा अहिले पनि मानव सभ्यतालाई नै प्रतिकूल हुने कुकार्य भइरहेका छन् । मानव सभ्यता प्रतिकूलको आतंकवाद सीमाविहीन भएर फैंलिँदैछ । नेपालीले पनि राजनीतिका नाममा भएको मानव हत्याले उत्पन्न गरेको पीडा व्यहोरेका छौं । अझै पनि त्यसको छिटपुट असर देखिने गरेको सन्दर्भमा भारत–पाकिस्तानको द्वन्द्वबाट नेपाल प्रभावित हुने जोखिम त्यत्तिकै छ । जसका कारण खुला सीमानाकाका कारण हुन सक्ने सुरक्षा चुनौति प्रति सजग हुन जरुरी छ । दक्षिण एसियाका दुई देशका बीच धर्मका नाममा द्वन्द्व हुँदै आएको छ । यस्तोमा भगवान बुद्धका सन्देश औचित्य अझै बढेको छ । त्यसैले विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने भगवान बुद्धका तीन महत्वपूर्ण घटनाको समष्टिको आजको दिनलाई शान्ति, बन्धुत्व र सहअस्तित्वको पर्याय बनाउनुपर्छ । अनि मात्र मानव सभ्यतालाई संरक्षण र प्रबद्र्धन गर्न सकिन्छ । बुद्ध जयन्तीको सम्पूर्णमा शुभकामना ।