विनोद सापकोटा,
झापा।
समाचारको प्रभाव :
वैशाख २५ गते पूर्वाञ्चल दैनिकको अनलाइन संस्करणमा “खोला बन्यो शौचालय, रक्सी राहत: शिवसताक्षीको सन्थाल बस्तीमा शिक्षाको अवस्था बेहाल” शीर्षकको समाचार प्रकाशन भएको थियो। जिल्लाको शिवसताक्षी नगरपालिका–८ स्थित सन्थाल बस्तीको दशकौँदेखि उपेक्षित पीडालाई उक्त अनलाइन संस्करणले स्थानीय सतहमा पुर्याएर छ्यापछ्याप्ती बनायो।
१३ घरका करिब ५५ जना बासिन्दा बसोबास गर्ने सानो सन्थाल बस्तीमा एक घरमा पनि सुरक्षित शौचालय थिएन। स्थानीयहरू बिहान–साँझ बनियानी खोलाको किनार, बगर र झाडीमा लाज छोपेर शौच गर्न बाध्य थिए। महिलाहरूलाई रातको अँध्यारो कुर्नुपर्ने बाध्यता थियो। वृद्धदेखि बालबालिकासम्म सबैजना खुला आकास मुनि असुरक्षित शौच गर्ने गर्थे।
स्थानीय विजय ऋषिदेव भन्छन्, “कतिपय अवस्थामा त जेठाजु र बुहारी एउटै ठाउँमा शौच गरिरहेका हुन्छन्। यस्तो दृश्य निकै लाजमर्दो हुन्छ।” उनीहरू जानाजान सँगै बसेर सोच गरेका होइनन् । ‘अँध्यारो समयमा को छेउमा पर्छ थाहा पत्तै हुँदैन,’ उनले भने ।
त्यस्तै बुधिनी ऋषिदेव को गुनासो छ, “चुनावमा नेताहरूले शौचालय बनाइदिने वाचा गर्छन्, तर पछि फर्केर हेर्दैनन्।” तर, समाचार प्रकाशनपछि परिस्थिति एकाएक परिवर्तन भयो। सामाजिक सञ्जालमा समाचार भाइरल भएपछि वडाध्यक्ष सन्तकुमार फेउदिनले उक्त विषय र प्रसङ्गलाई गम्भीर ध्यान दिए। उनले तत्कालै प्रतिक्रिया दिँदै भने,“साँचो कुरा त के हो भने, हामीलाई यत्रो समस्या छ भन्ने यकिन नै थिएन। चालु आर्थिक वर्षको बजेट सकिए पनि म व्यक्तिगत स्रोत र शुभचिन्तकबाट कम्तिमा एउटा शौचालय र बाथरूम बनाउने प्रतिवद्धता लिन्छु। यो मेरो वादा हो।”
वडाध्यक्षको यस भनाइपछि सन्थाल बस्तीमा खुसीको लहर छायो। स्थानीयहरू भन्छन्, “हामीलाई त अब लाज लुकाएर खोलातिर जानु नपर्ने भयो । वर्षौंदेखिको अप्ठ्यारो वडा अध्यक्षज्यूले हटाइदिनु हुने भयो । हामी त अवधि खुसी भएका छौँ ।’ स्थानीय बुधुनी ऋषिदेवले भनिन्।
वडाध्यक्षका अनुसार बुक अपुग डेड लाख रुपैयाँको लागतमा सार्वजनिक शौचालय र बाथरूम निर्माण गरी जेठ महिनाभित्र स्थानीयलाई हस्तान्तरण गरिनेछ। शौचालय निर्माणपछि खुला दिशामुक्त अभियानको वास्तविकता पनि मजबुत उनले बताए। असुरक्षित शौचका कारण बालबालिका, महिलाहरूलाई लाग्ने संक्रमणजन्य रोगमा समेत कमी ल्याउन सकिने समाजका अगुवाको भनाइ छ। महिलाहरूको सुरक्षा, आत्मसम्मान र किशोरकिशोरीहरूमा स्वाभिमानको अनुभूति वडा अध्यक्ष सन्तकुमार फेउदिनको नेतृत्वमा बन्ने सार्वजनिक शौचालयले पूरा गर्ने स्थानीय बासिन्दाले बताए ।