योगेन्द्र योगी
बिराटनगर,
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसिसि) साउदी अरबले नवौं राष्ट्रिय अधिवेशन (२०२३–२५ कार्यकाल) पश्चात सामाजिक सेवामा उल्लेखनीय योगदान दिँदै आएको छ। रबिना अर्यालको नेतृत्वमा निर्वाचित कार्यसमितिले जनहितमा समर्पित कार्य गरिरहेको छ ।
एनआरएनए साउदीले एक विज्ञप्ति जारी गर्दै नवौं राष्ट्रिय अधिवेशन पश्चात गठित यस कार्यसमितिले साउदी अरबको शहरहरू दमाम, जुबेल, रियाद, अलकासिम, जिजान, आब्बा, खमिस जेद्धा र ताबुक राहदानी शिविरहरुका साथै श्रमिक समस्या समाधानमा नेपाली दूतावास र नेपाली सामुदायिक संस्थाको भूमिका विषयक अन्तरक्रिया तथा श्रमिक सचेतना कार्यक्रमहरु सञ्चालन गरी नेपाली श्रमिकहरूलाई राहदानी सम्बन्धि सेवासंगै श्रमिक सचेतनाका सेवा प्रदान गरेको जनाएको छ ।
दूतावास रियाद र महावाणिज्य दूतावास जेद्धा सँगको सहकार्यमा सञ्चालित राहदानी शिविरबाट ३० हजार ९ सय १७ जना भन्दा बढीलाई राहदानी वितरण गरिएको छ भने २१ हजार ५ सय ६४ जनाको विद्युतीय राहदानी प्रि-ईन्रोल्मेंट अनलाइन फारम संकलन गरिएको एनआरएन साउदीकी अध्यक्ष रबिना अर्यालले जानकारी दिईन।
अध्यक्ष अर्यालका अनुसार अलकासीम र जेद्धा क्षेत्रमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर बाट २ सय ७९ जनाले लाभ लिएका छन्। यसैगरी, ५ जना पिडित श्रमिकको लागि एकतर्फी हवाई टिकट उपलब्ध दिएको छ भने २८ जना भन्दा बढी श्रमिकहरुलाई राहत वितरण तथा स्वदेश फिर्तीमा सहजीकरण गरिएको बताईन् । अहिलेसम्म ५२ हजार ५ सय १४ जना नेपाली श्रमिकहरू प्रत्यक्ष लाभान्वित भएका छन्।
महावाणिज्य दूतावास जेद्धाको नेतृत्वमा सञ्चालित दुर्गाबहादुर सुनारको उद्धारको लागि एनआरएनएको मातहतका क्षेत्रिय तथा स्थानीय समन्वय समितिहरु मार्फत सहयोग रकम संकलन गरी १५ हजार ८ सय १७ साउदी रियाल महावाणिज्य दूतावास जेद्धालाई हस्तान्तरण गरिएको छ। त्यस्तै विगत लामो समय देखी उद्धारको पर्खाईमा रहेको दामोदर क्षेत्रीको उद्धारको लागि पनि एनआरएनएले ३ हजार ५ सय साउदी रियाल दूतावास रियादलाई हस्तान्तरण गरेको जनाएको छ।
यस्तै,संखुवासभा घर भई साउदीस्थित सरकारी जरिवाना तिर्न नसकी बन्धक भई बसेका एक जना श्रमिकको जरिवाना तिर्नका लागि क्षेत्रिय समन्वय समिति रियादको सहयोगमा दूतावास रियाद मार्फत १ हजार ५ सय साउदी रियाल हस्तान्तरण गरिएको जनाएको छ। यसैगरी, सडक दुर्घटनामा परी खुट्टा गुमाएका जनकलाल वाईवालई हालसम्म नगद २ हजार ९ सय ५८ रियाल हस्तान्तरण गरिएको छ भने थप सहयोगको लागि अभियान अझै जारी रहेको एनआरएनएले जनाएको छ।