नेपालको अर्थतन्त्रको मूल आधार विप्रेषण भएको छ । युवाहरु कामको खोजीमा विदेश पलायन भएका छन् । स्वदेशमा रोजगारीका अवसर प्रदान गर्नेतर्फ सरकारको ध्यान नै नगएपछि दिनहुँ ठूलो संख्यामा रोजगारीकै खोजीमा विदेश पलायन भएका हुन् । सरकारी तथ्यांकले यसरी कामको खोजीमा विदेश जानेहरुको संख्या साठी लाख भने पनि अनौपचारिक तथ्यांक अनुसार लगभग एक करोड युवा जनशक्ति देश बाहिर छन् । ऊर्जाशील कर्मशील र सश्रम जनशक्ति वैदेशिक रोजगारीका लागि बाह्य मुलुकमा जाँदा नेपाल आश्रित जनसंख्या बसोबास भएको देशमा परिणत हुने संकेत देखिएको छ । त्यही पलायन भएका युवा जनशक्तिले कमाएर पठाएको पैसाले देशको अर्थतन्त्र धानेको छ ।
युवा जनशक्ति रोजगारीको अवसरको खोजीमा विदेश जाने चलन नयाँ होइन । तर, अहिलेको गति र परिवेशमा युवा शक्तिको पलायन देशका लागि भने घातक हुने निश्चित छ । जन्ती, मलामी र अर्मपर्मका लागि समेत युवा शून्य हुनु राष्ट्र र राष्ट्रिय स्वार्थका लागि सुखद् पक्कै होइन, कठोर मेहनत र परिवार तथा समाजबाट अलग रहेर पठाएको विप्रेषण नै देशको अर्थतन्त्रको ठूलो हिंसाले देशको दैनिकी चल्नु चै राज्य सञ्चालकहरुका लागि आनन्दको विषय हुनसक्छ । नेपालको सन्दर्भमा राष्ट्रिय बजेटको हाराहारीमा विप्रेषणको रकम भित्रिने गरेको छ । यसरी प्राप्त भएको रकमको सकारात्मक उपयोग नहुनु चाहिँ नेपालीको दुर्भाग्य हो ।
नेपाल राष्ट्र बैंकले पछिल्लो विप्रेषणको अवस्था सार्वजनिक गर्दै चालू आर्थिक वर्षको नौ महिनामा झण्डै बाह्र खर्ब बराबरको विप्रेषण आप्रवाह भएको जनाएको छ । तर, विप्रेषणको बढ्दो आप्रवाह दीर्घकालीन सुख प्राप्त हुने विषय होइन । किनकि यस्तो आर्थिक अवस्थाले व्यक्ति, परिवार समाज र राष्ट्रलाई दीर्घकालीन र दिगो लाभ दिँदैन । युवा जनशक्ति विहीनताको अवस्थाले राष्ट्रको समृद्धि सम्भव छैन न त पारिवारिक वा सामाजिक सुरक्षा प्राप्त हुन्छ । विप्रेषणले दिने सुख क्षणिक हुन्छ केबल भोकोले पेटभर खान पाए जस्तो ।
राष्ट्रको समृद्धिका लागि स्वदेशमै रोजगारीको अवसर सृजना गर्नु पर्दछ । स्वदेशमै आन्तरिक उत्पादन बढाउने आधार तयार गर्नुपर्छ । उत्पादन वृद्धि गरेर आन्तरिक आवश्यकता पूरा गर्दै विदेश निर्यात गर्नुपर्दछ । यसबाट हुने आय दिगो हुन्छ र सामाजिक एवम् पारिवारिक एकता र सद्भावनाको रक्षा हुन्छ । सरकारको अनुत्तदायी कर्म, गैरजिम्मेवार प्रवृत्तिले भएका उद्योगहरु बन्द गरिए, भएका रोजगारीका अवसर समाप्त भए । जसका कारण युवा शक्तिहरुको भविष्य खोज्न विदेश पलायन हुनैपर्ने अवस्था सृजना भयो । कृषि प्रधान अर्थव्यवस्था पनि कमजोर भयो आधारभूत आवश्यकता पूरा गर्न पनि आयात मै निर्भर हुनुप¥यो । यसले परनिर्भरता मात्र बढाएन देश विकासको आधार पनि ध्वस्त भएको छ । त्यसैले विप्रेषण बढेकोमा खुशी हुने सरकारको मानसिकता बदल्न जरुरी छ । अहिलेको आवश्यकता भनेकै आन्तरिक अर्थतन्त्र सुधार गर्नु हो ।