शब्दहरू कहिलेकाहीँ निस्तब्ध हुन्छन् । भावना त्यो सीमा पार गर्छ, जहाँ भाषा पुग्न सक्दैन । मानिस जब आफ्नो अन्तिम निर्णय मौनतामा गर्छ– त्यो निर्णयले केबल एक जीवन होइन, सयौं चेतनाहरूमा कम्पन ल्याउँछ । झापाका सक्रिय युवा, समाजसेवी, व्यवसायिक व्यक्तित्व बिनोद बस्नेतको आत्महत्या, केबल एक अप्रत्याशित घटना होइन, यो सामाजिक संवेदन शून्यताको मौन प्रतिरोध हो ।
त्यसो त झापा बिर्तामोड उहाँको परिचयले भरिएको थियो । जेसीजको नेतृत्व, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश समितिमा सक्रियता, खेलकुद, सामुदायिक सेवा, युवा अभियानहरू सबैजसो जिम्मेवारीलाई ऊर्जा र अनुशासनमा पिरोएर बोकेका व्यक्ति । तर, त्यसै ऊर्जावान मानिसले एकदिन मौन विदाइ रोज्छ, जहाँ कुनै सार्वजनिक सम्बोधन छैन, अन्तिम संवाद छैन, सिर्फ आत्माको आवाजमा मृत्युको हल्का गुञ्जाहट ।
किन ?
आत्महत्या कहिल्यै सहज व्याख्या हुँदैन । किनकि पीडा बोल्दैन । पीडा देखिँदैन । उहाँ समाजको केन्द्रमा हुनुहुन्थ्यो, तर केन्द्रमा भएर पनि एक्लो हुनु के हो भन्ने उहाँको बिदाइले देखायो ।
हामी यो सोचेर चित्त बुझाउँछौं शायद उहाँ ‘स्ट्रेस’मा हुनुहुन्थ्यो, शायद डिप्रेशन थियो । तर, यी केबल अनुमान हुन् । असली कारण हाम्रो मौन समाज हो, जहाँ सुनिदिने आँखा छैन, बुझिदिने समय छैन ।
कोपिला दिदी : बाँकी संसारको मौन साक्षी
उहाँकी जीवनसाथी कोपिला दिदी । जो आज शोकको छायाँमा उभिनुभएको छ । उहाँ केबल पत्नी होइन, जीवनको हरेक संघर्ष र सफलतासँग सँगै उभिएकी साक्षी हो । उहाँलाई म व्यक्तिगत रूपमा दिदी भनेर सम्बोधन गर्छु । आजको लेख केबल बिनोद बस्नेतप्रति श्रद्धाञ्जली होइन, उहाँप्रति गहिरो सम्मान र सहानुभूतिको समर्पण हो ।
कोपिला दिदी ईश्वरले तपाईंलाई यस अपूरणीय क्षतिलाई आत्मसात गर्ने गहिरो शक्ति दिनुहोस् । तपाईंको आँशु अब तपाईं मात्रको पीडा होइन, हाम्रो समाजको आँखा खोल्ने सम्भावित दर्पण बन्न सक्छ ।
हामीले के गुमायौं ?
हामीले एउटा उदाहरण गुमायौं । एक स्वप्नदर्शी, योजनाविद्, समाजप्रेमी । तर, हामीले मात्र व्यक्ति होइन, एउटा चेतना गुमायौं । एक प्रेरणा गुमायौं । अब प्रश्न उठ्छ– हामी अर्को बिनोद बस्नेत गुमाउन चाहन्छौं ? के हामी अझै मौन बस्नेछौं ?
हामी के गर्न सक्छौं ?
– हामी संवेदनशील बनौं ।
– हामी सम्बन्धहरूको सतह मुनि पुग्न सिकौं ।
– हामी ‘ठिक छु’ भन्ने शब्दको पछाडिको मौनतालाई चिर्न सिकौं ।
– हामी शोकको क्षणमा मात्र होइन, हर्षको भीडमा पनि साथ दिने मान्छे बनौं ।
अन्ततः
बिनोद बस्नेत अब हामीसँग हुनुहुन्न । तर, उहाँको मौन विदाइ एक ठूलो प्रश्न छोडेर गएको छ । ‘के हाम्रो समाज साँच्चै बाँच्न चाहनेहरूका लागि सुरक्षित छ ?’ हामी यो प्रश्नबाट भाग्न सक्दैनौं । हामीले यो मौनतामा आवाज फुक्नै पर्छ । श्रद्धाञ्जली दाजु बिनोद बस्नेत । श्रद्धाञ्जलि हाम्रो आफ्नै संवेदन शून्यता ।