बिराटनगर,
साहित्यिक कार्यक्रम ‘नझरेका फूलहरू’को ४६औँ शृङ्खला अन्तर्गत साहित्यकार पुरन याक्खालाई सम्मान गरिएको छ । धरानमा आयोजित ‘पलेँटीमा पुरन याक्खा’ कार्यक्रममा याक्खालाई नगद रु ५१ हजार १ सय ५१, सम्मानपत्र र दोसल्ला प्रदान गरी सम्मानित गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार बम देवानले याक्खालाई सम्मान प्रदान गर्नुभएको थियो ।
लामो समयदेखि पत्रकारितामार्फत ‘नझरेका फूलहरू’ अभियानलाई सहयोग पुर्याएको भन्दै पत्रकार कृष्णचन्द्र सुवेदीलाई पनि कदरपत्र प्रदान गरिएको थियो ।
धरान सङ्गीत प्रतिष्ठानको सहकार्यमा धरान-२ मा आयोजित कार्यक्रममा कविहरू देवान किराती, किरण टी लिम्बू, सिजन श्रेष्ठ, युवराज ठकुरी, खेमराज आचार्य, गीताप्रसाद श्रेष्ठ, रूपनारायण श्रेष्ठ र वासुदेव अधिकारीले याक्खाका कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा गायक दुर्गा पराजुली, कृष्णराजा श्रेष्ठ, गायिका पम्फा चाहार र मेरिना राईले सांगीतिक प्रस्तुति दिनुभएको थियो ।
धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष रमेश राईको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन ‘नझरेका फूलहरू’का परिकल्पनाकार तथा प्रस्तोता केपी घिमिरेले गर्नुभएको थियो ।
गएको ११ वर्षदेखि निरन्तर स्रष्टाहरूलाई सम्मान गर्दै आएको एकल प्रयास ‘नझरेका फूलहरू’ले दुई सय भन्दा बढी स्रष्टाहरूलाई सम्मान गरिसकेको छ । केपी घिमिरेद्वारा सुरु गरिएको यस अभियानले नेपाली साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको छ ।