सरकारले कृषि व्यवस्थालाई सुधार गर्न आधुनिक औद्योगिक र व्यावसायिक बनाउने मन्त्र जपेको धेरै भयो । त्यही मन्त्रको पहिलो प्राथमिकतामा कृत्रिम मलखाद र खनिज ऊर्जामा आधारित यान्त्रीकिकरणलाई लक्ष्यसम्म पुग्ने सूत्र बनाइएको छ । दशकौंदेखिको त्यसकै निरन्तरताले माटो सुख्खा बनाएको छ भने विषादिको प्रयोगले वातावरण मात्र होइन मानिस लगायत सम्पूर्ण जीवको स्वास्थ्यमा गम्भीर असर पु¥याएको छ ।
त्यही मन्त्रको उपयोगबाट कृषिले विषको उत्पादन गरिरहेको छ । उन्नत बीऊबिजनका नाममा आयातित बीऊले व्यापार र किसानको लागत बढाएको छ । किसानलाई बीऊबिजनमा परनिर्भर बनाएको छ भने यस्ता वस्तुको बिक्रीले बजार बढाएको छ । हाम्रा परम्परागत खाद्यवस्तु मासिएका छन् र खाद्यवस्तुको विविधता पनि घटेको छ । व्यावसायिक बनाउन परम्परागत कृषि प्राणालीको साटो यन्त्र उपकरणको प्रयोग बढाएको छ, जसले कृषि मजदुरहरुको रोजगारी खोसिएको छ, प्रकृतिको विविधता क्षय भएको छ र वातावरण प्रदूषित भएको छ । यसकै पछि लाग्दा नेपालीलाई बाह्य ऋणको भारी पनि थपिएको छ ।
समृद्ध नेपाल र सुखी नेपालीको गीत गाउनेहरुले औद्योगिकीकरणका नाममा अरुको नक्कल गर्दा भूगोल, समाज र परम्पराको विविधताका बीच मेल नहुँदा परनिर्भरता बढेको छ । कुनै समय थियो नेपालले विदेशमा समेत खाद्यवस्तुको निर्यात गर्ने गरेको थियो । अहिले लोकप्रियताका लागि, चुनाव जित्नकै लागि लगाइएका नाराहरुले पेट नभरिएपछि अरु देशबाट मागेर ल्याएका खाद्यवस्तुले दुःखले चुल्हो बलेको छ ।
तीनवटै तहका सरकारले आफ्ना कार्यक्रमहरुमा कृषिलाई प्राथमिकतामा राखेका छन् । धेरै लगानी गरेर धेरै आय गर्ने, उत्पादन बढाउने र बेच्नुलाई कृषिको व्यावसायिकता भन्ने गरेका छन् । हाम्रा परम्परागत कृषि प्रणाली रैथाने बालीहरुको प्रबद्र्धन गर्नुको साटो बढी उत्पादन गर्ने नाममा रासायनिक मल र विषादीको अत्यधिक प्रयोग गराइएको छ । यस्तोमा प्रणालीले एकातिर परम्परागत प्रणाली लोप भएको छ भने अर्कातिर कृषि मजदुरहरु विस्थापित गराइएको छ ।
अहिले पनि विश्वका एक अर्ब मानिसले भोखमारीको समस्या भोगिरहेका छन् । यता नेपालमा भने अत्यधिक विषादीको प्रयोग र विषादीयुक्त तरकारीको आयातले मानव स्वास्थ्यमा गम्भीर असर देखिन थालेको छ । भारतबाट आयातित मात्र होइन नेपालमै गरिने व्यावसायिक खेती र त्यसको प्रयोगले शरीरका स्नायु प्रणालीदेखि छाला, मृगौलादेखि नसर्ने रोग मात्र होइन क्यान्सर पनि बढ्दैछ । खासगरी शहरहरुका बजारमा बेचिने सागसब्जीमा अधिक विषादी रहेको भेटिने गरेको छ । पूर्वी नेपालका बिर्तामोड, धरानमा बेचिने तरकारीमा खानै नहुने परिमाणमा विषादी पाइएको छ । विषादी परीक्षण गर्ने विषादी अवशेष दूत विश्लेषण प्रयोगशालले अधिक विषादी भए नष्ट गर्ने गर्छ, तर नियमित परीक्षण नहुँदा मानव स्वास्थ्य जोखिममा छ । यस्तोमा सरकारले प्रत्युत्पादक नारा होइन, प्राङ्गारिक तथा जैविक कृषि प्रणालीलाई प्राथमिकतामा राख्नु पर्छ । अन्यथा नेपाली जीवन खाद्यवस्तुकै कारण अनिश्चित हुनेछ ।