अमित खम्बू
अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहले पहिलोपटक मौरी प्रबद्र्धनको कार्यक्रम सुरु गरेको छ ।
मानव–वन्यजन्तुबीचको द्धन्दलाई न्यूनिकरण एवम् व्यवस्थापन गर्दै गरिबी न्यूनिकरण अन्र्तगतको आयमूलक कार्यक्रममार्फत् उपभोक्ताहरुको आर्थिकस्तर उकास्ने उद्देश्यले मौरी प्रबद्र्धन कार्यक्रम सञ्चालन गरिएको समूहका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए ।
समूहसँगै अर्जुनधारा नगरपालिका अन्र्तगत कृषि विकास शाखा र सामाजिक विकास शाखाको त्रिपक्षीय साझेदारीमा कार्यक्रमको लागि छनौट भएको ९० जना उपभोक्तालाई मौरीपालन सम्बन्धी आधारभूत तालिम, मौरीसहितको एक थान घार र आवश्यक सामग्री वितरण गरेको छ ।
तालिमका सहजकर्ता एवम् चुलाचुली गाँउपालिका कृषि विकास शाखा प्रमुख सुवास दाहालले सहजिकरण गरेको तालिम २–२ दिनका दरले जम्मा ६ दिन सञ्चालन भएको थियो । तालिममा समूह अन्र्तगत क्षेत्र नं. १बाट छनौट भएका ३० जना, क्षेत्र नं. २ र ३बाट छनौट भएका ३० जना र क्षेत्र नं. ४ र ५बाट छनौट भएका ३० जना उपभोक्ता सहभागी भएको बताइएको छ ।

तालिमसँगै मौरीपालन सम्बन्धी स्थलगत अध्धयन अवलोकन गरेका सहभागीहरुलाई बुधबार एक कार्यक्रमकोबीच मौरीको घार, सामग्री र प्रमाण पत्र वितरण गरिएको थियो । समूहको कार्यालय प्राङ्गणमा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले सहभागीहरुलाई उक्त सामग्रीहरु वितरण गरेकी थिइन् ।
सहभागीहरुलाई तालिम, मौरीसहितको घार र सामग्री वितरण गरिएको मौरी प्रबद्र्धन कार्यक्रमले कृषकहरुको आर्थिक जीवनस्तरसँगै विषादी न्यूनिकरणमा पनि सहयोग पुग्ने कृषि विकास शाखाकी प्रमुख एञ्जिला बेडारीले दावी गरिन् । गत आर्थिक वर्ष २०८०÷०८१मा अर्जुनधारा नगरपालिका–२बाट सुरु भएको यस कार्यक्रममार्फत् कृषकहरु प्रत्यक्ष लाभान्वित हुने उनी बताउँछन् ।
प्रशिक्षक दाहालले मौरीपालन सम्बन्धी केही जानकारी दिएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, कनकाई सब डिभिजन वन कार्यालय सुरुङ्गाका प्रमुख सुरेशकुमार खनाल, शाखाकी प्रमुख बेडारीलगायतले आफ्नो धारणा राखेका थिए । समूहका अध्यक्ष श्रेष्ठले कार्यक्रमको औचित्य, उपाध्यक्ष लक्ष्मीराम शर्मा तिम्सिनाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव उर्मिला कटुवालले गरेकी थिइन् ।