छविराज ढकाल,
पथरीशनिश्चरे।
मोरङको पथरीमा दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव सम्पन्न भएको छ।
गत बैशाख २० गतेदेखि शुरु भएको दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत पुरुष तथा महिला फुटबल, पुरुष तथा महिला भलिबल, क्रिकेट, म्याराथन भारोत्तोलन, बुद्धिचाल ,पौडी लगायतका विभिन्न प्रतियोगिताको आयोजना गर्दै वैशाख ३० गते सम्पन्न भएको हो।
प्रतियोगितामा पुरुष फुटबलको फाइनल खेलमा उपाधि देवीगञ्ज एफसीले उचाल्यो ।प्रतियोगिताको फष्ट रनरअप अप प्रभात सामुदायिक एफसी बन्न सफल भयो। फाइनल खेलमा देवीगञ्ज एफसीले प्रभात सामुदायिक फुटबल क्लबलाई ट्राईबेकर हुँदै सडेन डेथमा पराजित गर्दै उपाधि चुमेको थियो।
खेलको निर्धारित समयमा दुवै टिमबाट एक–एक गोल भएपछि खेल ट्राईबेकार हुँदै सडेन डेथ तर्फ धकेलिएको थियो। खेलको म्यान अफ दि म्याच देवीगञ्ज एफसीका खेलाडी जोसन कार्की घोषित भए भने गोल्डेन बुट प्रभात सामुदायिक फुटबल क्लबका किपर समीर क्षेत्रीले जिते।
पथरी शनिश्चरेको सान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजित उक्त महोत्सव पथरी शनिश्चरे वडा नं १ जाँते मोरङमा रहेको प्रस्तावित रङ्गशालामा फुटबल र भलिबलका खेलहरू भएका थिए भने क्रिकेट डाँस मोरङ्गी खेल मैदानमा सञ्चालन गरिएको थियो। बुद्धिचाल र पौडी सिन भिलेज पार्टी प्यालेसमा सञ्चालन भयो भने म्याराथन वडा नम्बर ८ देखि ५ सम्मको प्रदेश सडक खण्डमा सञ्चालन गरिएको थियो।
यसैगरी ,भलिबलतर्फ प्रथम पुरस्कार ३१ हजार नगद तथा दोस्रो पुरस्कार २१ हजार नगदसहित ट्रफी तथा मेडलले पुरस्कृत गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत तथा नगर खेलकुद विकास समितिका सदस्य सचिव नवीन खुलाल बुढाथोकीले बताए ।
कार्यक्रममा पथरीशनिश्चरे नगरप्रमुख मोहन प्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई लगायतका अतिथिहरुले खेलकुदका विभिन्न विधाहरूमा विजय हासिल गर्ने खेलाडीहरूलाई नगद सहित मेडल तथा ट्रफीले पुरस्कृत गरेका थिए ।
नगर खेलकुद विकास समितिका संयोजक दीपक राईको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा १० वटै वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीति दलका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।