नेपालले सिक्नैपर्ने कुरा

0
26

नेपालीको नियति नै ‘बर्मा गयो–कर्मैसँग’ जस्तै भएको छ । स्वदेशमा परिवार र समाजसँग बसेर सुन्दर भविष्य निर्माण गर्ने वातावरण र अवस्था नभएर लाखौं नेपाली युवा अहिले विश्वको श्रमबजारमा पुगेका छन् । फरक हावापानी, तापक्रम, वातावरण र कामका कारण दिनहुँ बक्सामा फर्किनु नेपालीको नियति जस्तै बनेको छ । सरकारले युवाशक्तिलाई स्वदेशमै रोक्ने कार्यक्रम नदिँदा दिनहुँ दुई हजारभन्दा बढी युवा विदेशिने गरेका छन् । उच्च शिक्षा अध्ययनका लागि जानेको तुलनामा खाडी लगायत पश्चिमी मुलुकमा जानेहरुको संख्या उच्च छ ।

आफ्नोसँगै परिवारको भविष्य सुरक्षित गर्ने उद्देश्यका साथ विदेशिएका कतिपय युवा त्यहाँको सैनिक सेवामा प्रवेश गर्ने गरेका छन् । त्यसक्रममा रुस पुगेका नेपालीहरु युक्रेनसँगको युद्ध मोर्चामा खटिएका पनि छन् । तिनै मध्ये पछिल्लो समय तेइस जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । यो सँगै रुसी सेनामा भर्ती भएका नेपालीमध्ये मारिनेको संख्या त्रिहत्तर पुगेका छ । युद्धमा बेपत्ता भएकामध्ये पचास जनाको डीएनए परीक्षणका लागि नमूना पठाइएका मध्ये पचास जनाको ‘रिपोर्ट’ आउन बाँकी रहेकोले युद्धमा मारिने नेपालीको संख्या अझै बढ्न सक्ने देखिन्छ ।

परराष्ट्र मन्त्रालयका अनुसार रुसस्थित नेपाली दूतावासले पठाएको विवरण अनुसार मृतकहरुको कतिपय एक वर्षदेखि परिवारको पनि सम्पर्कमा थिएनन् । विगत तीन वर्षदेखि जारी युद्धले मानवीय तथा भौतिक रुपमा गरेको क्षतिको लेखाजोखा नभए पनि युद्धको विभिषिका कति भयानक हुन्छ इतिहासले देखाइसकेको छ । युक्रेनसँगको युद्धमा रुसी सेनाका रुपमा कति नेपाली कार्यरत छन् त्यसको आधिकारिक तथ्यांक नेपाल सरकारसँग छैन । युक्रेनसँगको युद्ध नरोकिएपछि रुसी राष्ट्रपति पुटिनले विदेशी नागरिकलाई आकर्षक तलब र नागरिकता दिने नीति ल्याएका थिए । देशमा काम र दाम नपाइने भएपछि कैयौं नेपाली युवा रुसको प्रस्तावमा आकर्षित भए । युद्धका लागि आवश्यक तालिम समेत नलिई अवैध बाटोबाट त्यहाँ पुगेर सेनामा भर्ती भए । यहाँसम्म कि अध्यनयका लागि गएका नेपाली युवा पनि अध्ययन छाडेर सेनामा प्रवेश गरे ।

आर्थिक सुरक्षालाई मुख्य उद्देश्य बनाउनुपर्ने नेपालीका बाध्यता देशको कुशासन र व्याप्त भ्रष्टाचारका कारण आएको टिप्पणी भइरहेकै छ । देशमा आर्थिक रुपले धानिनसक्नु राजनीतिक व्यवस्था पनि यो बाध्यताको कारक हो । उत्पादनमुखी व्यवस्था बलियो बनाउनुको साटो आयातमूलक प्रणाली पछ्याउने अर्थ व्यवस्थाको प्रबद्र्धन गर्ने बाटो नत्यागेसम्म नेपालीले यो नियतिबाट मुक्ति पाउने छैनन् । अझै समय छ राज्यका सञ्चालकहरु सच्चिउन् र विदेशी इशाराबाट मुक्त भएर देश सुहाउँदो अर्थव्यवस्था र स्वस्थ राजनीतिक प्रणालीका निम्ति अग्रसर होउन् । अन्यथा बिना कारण मर्नुपर्ने बाध्यता नेपालीको नियति बन्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here