बिकराल बन्दै आत्महत्या, नदेखिएका अन्तरद्वन्द्व

0
42

सामान्य अर्थमा आफैले आफ्ने हत्या गर्नुलाई, आत्महत्या भनिन्छ । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । तर, यस किसिमको पीडा नहुँदा पनि मानिसले रिस र क्रोधको आवेगमा आत्महत्य गर्छन् । तर, मानिस किन आत्महत्या गर्छन् ?

हामी सधैँ कुनै मानिसको बाहिरी जीवनको आधारमा मूल्यांकन गर्छौं, ठूलो घर, महङ्गो गाडी, सफल केरियर, व्यवसाय, स्नेही परिवार, समाजमा मान–सम्मान यिनै तत्वको आधारमा हामी कसैको सफल वा असफल को परिभाषा मान्ने गर्छौं । तर, कहिलेकाहीँ यस्तै सु–संस्कृत सम्पन्न सम्मानित मानिसले यस्तो कठोर निर्णय लिन्छ, जुन समाजलाई अञ्चमित र आश्चर्यमा पारि दिन्छ, हामी सोच्न बाध्य हुनेछौं कि यो मानिसले पनि आत्महत्या जस्तो कदम चाल्न सक्छ ।

यो प्रश्न बारम्बार हामीलाई भित्र–भित्र झस्काउँछ, आखिर किन यस्तो गरेका होलान् ?

आत्महत्या एउटा अदृस्य रोग हो , धेरै जस्तो अवस्था मा आत्महत्या मानसिक समस्याको अन्तिम विकल्प हो । आत्महत्याको घटना नेपालमा मात्र नभएर विश्व भरिनै हुने गरेका छन् । विश्व स्वास्थ संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष करिब आठ लाख मानिसले आत्महत्या गर्छन् । यस आधारमा प्रत्येक ४० सेकेन्डमा एक व्यक्ति आत्महत्या गरिरहेका हुन्छन् । नेपालमा पुरुषको तुलनामा महिलाले आत्महत्या गर्नेको संख्या बढी नै हो । आत्महत्या गर्ने महिलाको संख्या हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्छ । नेपालमा बर्षेनि औषत आठ हजार छ सय ४० जना मानिसले आत्महत्या गर्ने गरेका छन् ।

धेरै देशमा आत्महत्या तथा आत्महत्याको प्रयास सामाजिक दृष्टिमा पाप र कानूनी दृष्टिमा अपराध भनिन्छ । धार्मिक दृष्टिले पनि आत्महत्या महापाप हो । हिन्दू धर्म ग्रन्थ मात्र होइन कुरान, बाइबल सबै धर्मले यसलाई महापाप भनिन्छ । वैदिक विद्वान डा. सञ्जय देव भन्नुहुन्छ– ‘मानव जीवनलाई कुनै कारणले समाप्त गर्नु मनुष्य जीवन र ईश्वर दुबैको अपमान हो । यजुर्वेदमा भनिएको छ, जुन मानिस आफ्नो शरीरको अन्त्य गर्छ, ऊ घोर अन्धकारमा डुब्छ ।’

ऋग्वेदमा भनिएको छ– मनुर्भव जनया दैव्य जनम अर्थात् स्वम मनुष्य बन र दिब्ययुक्त सन्तान उत्पन्न गर । मानिसले विभिन्न तरिकाले आत्महत्या गर्छन्, हाम्रो नेपालमा आत्महत्या गर्नेमध्ये ७२ प्रतिशतले झुण्डिएर आत्महत्या गर्छन् । युससँगै विष सेवन, आफूलाई गोली मारेर, आगो लगाएर, हाम फालेर, करेन्ट लगाएर, हात हतियारको प्रयोग गरेर, आत्महत्या गर्ने गर्छन्, मानसिक अवसाद, डिप्रेशन पनि आत्महत्याका प्रमुख मध्ये एक कारण हो– डिप्रेशन सँगै दुश्चिन्ता, व्यक्तित्व विकार तथा सिजोफ्रेनिया आदि जस्ता मानसिक रोगहरु पनि कारण हो । मानिसलाई डिप्रस्ड बनाउने निम्न लिखित– समाजिक तथा मनोवैज्ञानिक कारणहरूले गर्दा मानिस आत्महत्या गर्छन् ।

गम्भीर तथा पीडादायक शारीरिक रोगहरू जस्तैः क्यान्सर, एड्स, यौन समस्या, परीक्षामा असफलता, प्रेममा बिछोड तथा असफलता । कष्टकर वैवाहिक जीवन, अवैध गर्भ व्यवसायमा घाटा वा नोक्सान, बंैकिङ ऋण, सामाजिक अपमान तथा सामाजिक बहिष्कार, आत्मसम्मानमा ठेस, झुठो आरोप, लान्ञ्छना, उपेक्षा, जागिरबाट बर्खास्ती, अरुको सामु बेज्जती, प्रियजन र आफन्तको मृत्यु, मानसिक द्वन्द्व, मद्यपान वा दुव्र्यसन, पारपाचुके वा आपसी सम्बन्धमा कटुता, यौन समस्या, दाइजो समस्या, घरेलू हिंसा, बलात्कार, वैदेशिक रोजगारी, वेरोजगारी, आर्थिक समस्या जस्ता कारणहरू पनि आत्महत्याका पहलु हुन् ।

हाम्रो शरीरमा रोग वा घाउ लागे भने डाक्टरमा जान्छौं र उपचार गराउँछौं वा हामी यसलाई साधारण रूपमा लिन्छौं, तर मानसिक रोग वा डिप्रेशन हुँदा, कमजोरी र लाजको रूपमा लिन्छौं जसकारण मानिस खुलेर आफ्नो पीडा– व्यथा भन्न सक्दैन, ऊ डराउँछ, समाजले थाह पाएर मलाई नकार्ने त होइन ? मलाई पागल त भन्दैनन् ? कहिलेकाहीँ यस्तो मानिसको मस्तिष्कमा सेरोटोनिन रसायनको कमी हुन्छ । त्यस्तै रसायनको कमि हुँदा मानिस आफ्नो रिस, संवेदना, आवेगलाई नियन्त्रण गर्न सक्दैन, उनीहरू आक्रमक विध्वंसक हुन जान्छ र कोई अप्रिय घटनालाई अन्जाम दिन्छन् । यस्तो समयमा हामीले परिवारका सदस्यहरुले शान्तिपूर्वक यस्तो मानिसलाई आफ्नो विश्वास दिएर शान्त गर्नुपर्छ ।

आत्महत्याका केही अरू पनि कारण छ । जस्तैः प्राविधिक युगको प्रवेशले संसारलाई जति नजिक ल्याएको छ, मानिस–मानिसबाट त्यति नै टाढा भएको छ । मोबाइल र सामाजिक सञ्जालको कारण मानिस आज एक्लो भएको छ । मोबाइलमा एक हजारभन्दा माथि साथी छन् । कुनै पोस्टमा एक हजार वा एक लाख लाइक आँउछ, तर दुःखको घडीमा कति जना साथ हुन्छ ? तपाईको पीडा सुन्ने कति जना छ ? धेरै जना सम्पन्न मानिस आफ्नो उपलब्धिहरू सामाजिक सञ्जालमा देखाउँछन् । तर, आफ्नो दुःख, पीडा गोप्य राख्ने गर्छन् र यही पीडाको बोझ एक्लोपन एकदिन बिस्फोट हुन्छ र ऊ सधैँको लागि सबैबाट टाढा हुन्छ ।

अरुको कुरा सुन्ने संस्कृतिको विकास गरौं, आफ्नो मात्र नभए अरुको कुरा शान्तिले सुन्नु पर्छ । अवसर लागेको बेला मात्र नभएर आत्मीय सम्बन्ध जहिले पनि राख्नु पर्छ । सफलता को परिभाषा फेर्नु पर्छ, सफलता मात्र पद, इज्जत, धन, वैभव मात्र होइन, मानसिक शान्ति, आत्मसन्तुष्टि, आत्मस्वीकृति पनि त्यत्ति नै महत्वपूर्ण छ ।

पूर्णतावाद–धेरै सम्मानित र सम्पन्न मानिसमा पूर्णतावाद बन्ने धुनमा जीवनभरि संघर्ष गर्छ । दुईको चार, चारको आठ यहीँ होडबाजीमा धेरैसँग टाढा हुँदै जान्छ । यस्तो मानिस सानो असफलता पनि सहन गर्न सक्दैन । ‘म कसरी गलत हुन सक्छु’ भन्ने सोचले उनीहरूलाई निरन्तर मानसिक दवाबमा राख्छ । तर, जीवनमा सबैथोक सोचे जस्तो हुन सक्दैन, यस्तो व्यक्ति गल्ती , आलोचना, असफलतालाई सहन गर्न सक्दैन । ऊ भित्र–भित्र खण्डित हुन थाल्छ र यही पीडा आत्म निन्दा, आत्मदण्ड, घृणाको रुपमा लिन्छ र म बलियो छु देखाउनका लागि आत्महत्याको बाटो रोज्छ ।

अतित र विगतको घाउ धेरै जना कहिल्यै पनि बिर्सन सक्दैनन्, उनीहरूको पीडा, घुटन अतीतसँग जोडिएको हुन्छ । सानो उमेरमा गरेको गल्तीको सजाय, बलात्कारको पीडा, यौन हिंसा, अपमान यस्तो कुरा मानिसको मस्तिष्कमा गहिरो छाप छोड्छ । उ, सफल भएता पनि के विगतबाट बाहिर आउन सक्दैन । सामाजिक आवरण कतिपय मानिस बाहिर केही रूप र घरभित्र अर्को रूप लिएर हिँडीरहेका हुन्छन् । यस्तो मानिस दिनभरि हाँस्छन् । अरुलाई प्रोत्साहन र प्रेरणा दिन्छन, तर ऊ आफ्नै घरमा एक्लोपनको शिकार हुन्छ । समाजमा सकारात्मक सोचका कुराकानी गर्ने, तर आफ्नो मनोभाव पोख्न लाज मान्छन् । यस्तो दोहरो चरित्रका मानिस नै आत्महत्याको बाटो रोज्छन् ।

कोही–कोही मान्छे एकैपटकमा आत्महत्या गर्दैनन्, ऊ केही समय अगाडिदेखि कि त निराशाको कुरा गर्छ, एक्लो भएर बस्छ निराशावादी कुरा गर्छ, दार्शनिक बन्न खोज्छन्, यस्तो लक्षण देखा परेमा घरका मानिसलाई सचेत हुनु पर्छ, त्यस्तो मानिसलाई गिज्याउनुभन्दा हिम्मत र प्रोत्साहन दिनुपर्छ, उनीहरूलाई एक्लो छोड्नु हुँदैन । यस्तो व्यक्तिलाई मानसिक रोग विशेषज्ञसँग सर–सल्लाह लिनु पर्छ ।
निष्कर्ष

जसरी उज्ज्यालो देख्ने चन्द्रमामा पनि दाग हुन्छ, त्यस्तै सफल र सम्मानित व्यक्तिको पनि पीडा, डर हुन सक्छ, धन–दौलत, मान–सम्मान, समाज हैसियत मात्र दिन्छ । तर, वास्तविक सुख–शान्ति आफूभित्र र परिवार मित्र भेटिन्छ । हामीले आत्महत्या गर्नेहरूलाई कमजोर, कायर भनेर होइन, संवेदनशील भनेर बुझ्नुपर्छ । सकारात्मक सोच, सादगी, सहानुभूति, सक्रिय संवाद नै आत्महत्या रोकथामको प्रभावकारी औषधि हो । सरकार र सरोकारवालाहरुले पनि सकारात्मक र सचेतनामूलक कार्यक्रम गरेर जनतालाई आत्महत्याबिरुद्ध सचेत हुन् जागरुक गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here