भगीरथ भण्डारी,
इलाम ।
हरेक निर्वाचनमा तिनै किसानका उत्पादन बजारीकरण गर्छौ भनेर चुनाव जित्छन् । चुनाव जितेपछि किसान प्रति कुनै योजना बन्दैनन् ।
आफ्ना उत्पादन बजार पुग्ने आशा बोकेका किसानले उत्पादन गरेको वस्तु सदुपयोग हुन नसक्दा किसानको जीवनस्तर उक्सिन सकेको छैन । तर, इलामको रोङ गाउँपालिकाले किसानको जीवनस्तर उकास्नका लागि स्थानीय कृषि उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
शुरुमा गुन्द्रुक र सिन्कीलाई बजारीकरण गर्दै सफल बनेको रोङ गाउँपालिकाले गत वर्ष मह र बेसारलाई बजारमा पु¥याउन सफल भयो । गाउँपालिकाले गुन्द्रुक–सिन्की, मह र बेसार रोङको उत्पादन चिनाउने गरी बजार पु¥याएपछि यति बेला किसानलाई मालिक बनाउनुपर्छ भन्दै गुरु किसान घोषणा गरेर काम थालिसकेको छ ।
पालिकाले ‘गुरु किसान व्यवस्थापन कार्यविधि–२०८०’ निर्माण गरी त्यसै अन्तर्गत पालिकाका नमुना किसानलाई ‘गुरु किसान’का रूपमा घोषणा गरेको हो । पालिकाले एक कार्यक्रमका बीच एक सय २१ जनालाई ‘गुरु किसान’ घोषणा गरी ‘गुरु किसान’ लेखिएका ब्याग र पोसाक वितरण गरिसकेको छ ।
पालिकाका अनुसार अब उनीहरूले अरू किसानलाई पनि सफल किसान बन्ने तरिका सिकाउने र आफू उदाहरणीय किसान बन्ने जनाएको छ । कार्यविधिमा तोकिएका मापदण्ड पूरा गरेपछि मात्र किसान ‘गुरु किसान’ सूचीमा दर्ज हुन पाउँछन् । गुरु किसानका लागि पालिकाले वर्षमा एक पटक वा आवश्यकता अनुसार सूचना जारी गर्नेछ ।
गुरु किसान घोषणा पछि यतिबेला माटो परीक्षणको काम भइरहेको छ । पालिकाका १५ ठाउँमा माटोको स्याम्पल सङ्कलन गरी परीक्षणका लागि तयारी गरेको हो । एक सय २१ जना गुरु किसानले थप चार जना किसानको माटो सङ्कलन गरेर पालिका भरका पाँच सय जनाभन्दा बढी किसानको माटो परीक्षणका लागि लगिएको रोङ गाउँपालिकाका अध्यक्ष सुवास स्याङ्वो बताउँछन् ।
‘गुरु किसान योजना सुरुवात ‘माटो परीक्षण’बाट गर्दैछौ, माटो के हो ? माटोको महत्त्व ? माटो कस्तो अवस्थामा छ ? माटोलाई जिउँदो राख्न के गर्ने ? मल खादको व्यवस्थापन कसरी गर्ने ? रासायनिक मलको सट्टामा के प्रयोग गर्ने ? माटोबाट मानव स्वास्थ्यमा कस्तो असर छ ? भन्ने विषयमा माटो परीक्षण रिपोर्ट आएपश्चात् तालिम दिन्छौ ।’ अध्यक्ष स्याङ्वो भन्छन्– ‘पहिलो चरणमा यी कुरा सिकाउँछौ माटो नै सिकाउन नसकी कृषिमा लगानी, ठुला ठुला गफ र योजना बनाउनु जरुरी छैन ।’ त्यसैले सबै गुरु किसानलाई माटो परीक्षणको लागि नमूना माटो सङ्कलन कसरी गर्ने गुरु किसानलाई नै सिकायौ र उहाँहरूले किसानलाई समेत सिकाउँदै नमुना माटो सङ्कलन भएको छ ।’
रोङ गाउँपालिकाले सङ्कलन गरेको माटो परीक्षणको लागि माटो परीक्षण केन्द्र झुम्का पठाइसकेको छ । माटोको रिपोट आइसकेपछि फेरी पनि अन्य ठाउँको माटो सङ्कलनका लागि पठाउने र कुन ठाउँमा कस्तो खेती गर्न सकिन्छ भनेर प्लान नै बनाएर कृषि उत्पादनमा लाग्ने रोङ गाउँपालिकाको योजना रहेको छ ।
‘प्राङगारिक पदार्थ माटोको मुटु हो । खेतीको मुख्य आधार नै माटो हो । सफल तथा दिगो कृषि उत्पादनका लागि माटोको भौतिक रासायनिक तथा जैविक गुणहरू धेरै महत्त्वपूर्ण हुन्छ ।’ –अध्यक्ष स्याङ्वो भन्छन्– खेतीयोग्य जमिनमा प्राङ्गारिक मलको कमी तथा रासायनिक मलको असन्तुलित प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै गएको छ त्यसकारण माटो परीक्षण नगरी कृषिमा लगानी गर्दा सोचे अनुसार उत्पादन हुँदैन त्यसकारण माटो परीक्षण गरेपछि त्यहाँको आवश्यकता अनुसार उत्पादन र मलको व्यवस्थापन गर्न सजिलो हुन्छ ’ उनले किसानलाई प्रविधि हस्तान्तरण र उत्पादनका लागि चाहिँ प्रदेश तथा सङ्घीय सरकारले सघाउनु आवश्यक रहेको बताउँदै सिँचाइमा पानीको पुनः प्रयोग, उत्पादकत्व वृद्धि र उत्पादनको गुणस्तरमा पनि यो कार्यक्रम प्रभावकारी भइरहेको बताए ।
पालिका उपाध्यक्ष विष्णुमाया खवासले देशका स्थानीय तहमध्ये रोङले किसानका लागि नमुना कार्यक्रम ल्याएको भन्दै उनले कृषि प्रधान देशले किसानको मर्म र भावना बुझ्न नसकेको अवस्थामा रोङले किसानलाई उनीहरूको मेहनतको सम्मान गरेको बताइन् ।