अमित खम्बू
अर्जुनधारा ।
“एक सामुदायिक वन एक संरक्षण पोखरी” कार्यक्रम अन्र्तगत झापाको अर्जुनधारा नगरपालिका–२स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहले पोखरी निर्माण गरेको छ ।
समूहको ब्लक नंं.४स्थित शिकारी खोल्सीमा निर्माण गरिएको उक्त पोखरी वन्यजन्तुहरुको लागि आवश्यक खानेपानी र आहाल खेल्ने स्थलको रुपमा व्यवस्थापन गर्ने उद्देश्यले निर्माण गरिएको समूहका अध्यक्ष खगेन्द्र कोइरालाले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०८१/०८२को प्रदेश वन विकास व्यवस्थापन कार्यक्रम अन्र्तगत गत वैशाख १५ गते डिभिजन वन कार्यालय झापा र समूहबीच सम्झौता भई वैशाख १६ गतेदेखि पोखरीको निर्माण कार्य शुरु भएको योजनाको सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
डिभिजन वन कार्यालयको पाँच लाख १५ हजार रुपैयाँ र समूहको ५७ हजार चार सय ६३ रुपैयाँ ६३ पैसा(श्रमदान)सहित जम्मा पाँच लाख ७२ हजार चार सय ६३ रुपैयाँ र ६३ पैसाको लागतमा निर्माण सम्पन्न भएको पोखरीको लम्बाई ६५ मिटर र चौडाई ३१ मिटर रहेको छ ।
‘रिचार्ज पोखरी’ नामकरण गरिएको पोखरी क्षेत्रको अनुमानित पाँच कठ्ठा क्षेत्रफलमा समूहले टहरा, ट्रि हाउस, वनभोज स्थल आदि निर्माण गरेर त्यसलाई पर्यापर्यटनसँग जोडेर स्थानीय उपभोक्ता एवम् समूहको आम्दानीमा वृद्धि गर्ने लक्ष्य समूहको रहेको छ । “सम्झौता अनुसार यही जेठ १५ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने पोखरी निर्माणको कार्य समयभन्दा अघि सम्पन्न गरेका छौं ।”–अध्यक्ष कोइरालाले खुसी व्यक्त गरे ।
समूह अन्र्तगत रहेको पोखरी निर्माण कार्य उपसमितिका संयोजक एवम् समूहका सहसचिव प्रेमप्रसाद घिमिरेको नेतृत्वमा पोखरी निर्माणको कार्य सम्पन्न भएको हो । यसैबीच पोखरी निर्माण स्थलको शुक्रबार एक कार्यक्रमकोबीच जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला एवम् समूहका पदाधिकारी तथा सदस्यहरुको टोलीले अनुगमन गरेको छ ।
टोलीमा वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, वडा सदस्य प्रेमबहादुर उपरकोटी, नेपाली काँग्रेस पार्टी सभापति चुँडामणि फूँयाल, नेकपा एमाले पार्टी अध्यक्ष हरिप्रसाद घिमिरे, वेलटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र आचार्य, सल्लाहकारद्वय चन्द्र आचार्य र लीलानाथ खनाल, सामाजिक व्यक्तित्व पूण्यप्रसाद ओझालगायतको सहभागिता रहेको थियो ।
यता सोही दिन समूहका अध्यक्ष कोइरालाको अध्यक्षता र वडाध्यक्ष श्रेष्ठको प्रमुख आतिथ्यमा निर्माण सम्पन्न भएको पोखरीको विषयमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको थियो । कार्यक्रममा समूहका अध्यक्ष कोइरालाले पोखरीको आवश्यकता र औचित्यसँगै निर्माणमा प्रयोग भएको विभिन्न सामग्रीहरुको विवरण प्रस्तुत गरेका थिए ।
समूहकी उपाध्यक्ष लक्ष्मी कन्दङवाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव नरेन्द्रप्रसाद गौतमले गरेका थिए ।