झापा ।
नेपालमा पछिल्लो समय आर्थिक अपराधका घटनामा वृद्धि भएको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो केही वर्षदेखि आर्थिक अपराधका घटनामा वृद्धि भएको हो । आर्थिक अपराधका घटनामा राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मको संलग्नता फेला परेको प्रहरीले जनाएको छ ।
बैंक तथा वित्तीय कारोवार, घरजग्गा, स्टक, विदेशी विनिमय, कर, भन्सार, अन्तःशुल्क, वैदेशिक रोजगारी, लगायतका बहानामा आर्थिक अपराध हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बैंक तथा वित्तीय संस्था तथा सहकारी ठगी, नेटवर्किङ व्यवसाय, अवैध भीओआईपी, विदेशी मुद्रा तस्करी, भन्सार छली, हुण्डी कारोबार, सुन तस्करी, लागूऔषध ओसारपसार लगायतका कारण समाजमा विभिन्न खाले आपराधिक गतिविधि बढेपछि प्रहरीलाई अपराध न्यूनीकरणका लागि प्रहरीलाई हम्मे–हम्मे भएको छ ।
आर्थिक अपराध न्यूनीकरणका लागि प्रहरीले सक्रियता देखाइरहेका बेला झापाको धुलावारीबाट समेत अर्बाैं रुपैयाँको आर्थिक अपराधको घटना भइरहेको सूचना पाएपछि केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले केही समयदेखि झापाका व्यवसायी तथा कारोवारीहरुको निगरानी बढाएको थियो । यसैक्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) ले अवैध वित्तीय कारोबारमा संलग्न ७ जनालाई पक्राउ गरेसँगै झापाबाट समेत ठूलो रकमको आर्थिक अपराध हुँदै आएको तथ्य खुलेको हो ।
२७ अर्बभन्दा बढी हुण्डीको कारोवार गरेको आरोपमा प्रहरीले मेचीनगर–१० धुलाबारीमा गिफ्टोरियम नामक आयात निर्यातको कारोबार गर्दै आएका कविस मारु, अनुज मारुसहित निर्मल राई, दीपेन्द्र खड्का, महेश पौडेल, अंकित अग्रवाल र सुनिल राईलाई नियन्त्रणमा लिएर काठमाडौं पु¥याएर अनुसन्धान शुरु गरेको छ । प्रहरीले झापामा अन्य क्षेत्रमा पनि निगरानी बढाएको जनाएको छ । धुलावारीसंगै अन्य शहरी क्षेत्रमा समेत हुण्डी कारोवार, क्रिप्टो करेन्सी, सुन तस्करी लगायतका आर्थिक अपराधका घटना हुनसक्ने सूक्ष्म रुपमा निगरानी बढाइएको सीआईवीले जनाएको छ ।
यसैबीच नेपाल प्रहरीले आर्थिक तथा वित्तीय अपराधको चाप बढ्दै गएको निष्कर्ष निकाल्दै यस सम्बन्धी अनुसन्धान गर्न छुट्टै इकाइको स्थापना गरेको छ । प्रहरी प्रधान कार्यालयले १७ वैशाखदेखि औपचारिक रूपमा ‘आर्थिक तथा वित्तीय अपराध अनुसन्धान इकाइ’ गठन गरेको जानकारी दिएको छ ।
प्रहरी केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले यस इकाइको औपचारिक गठन भइसकेको जानकारी दिए । उनका अनुसार, अहिले यो इकाइको कमान्डर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीले सम्हालेका छन् । प्रारम्भिक रूपमा यो इकाइमा एसएसपीसहित १९ जना प्रहरी खटाइएको उनले जानकारी दिए ।
नेपालमा पछिल्लो समय आर्थिक अपराधहरू नयाँ ढंगले बढ्दै गएका छन् । डिजिटल कारोबारको विस्तार, वैदेशिक लगानीको आकर्षण र निजी क्षेत्रको सक्रियतासँगै बैंकिङ, बिमा, शेयर बजार, सहकारी संस्थाजस्ता क्षेत्रमा अनियमितता र ठगीका घटनाहरू उजागर भइरहेका छन् । यस्ता जटिल प्रकृतिका आर्थिक अपराधको अनुसन्धानका लागि प्रहरी संगठनभित्र विशेष दक्षता र व्यवस्थापन आवश्यक ठानिँदै आएको थियो । त्यसलाई मध्यनजर गरेर छुट्टै इकाइ नै गठन गरेको हो ।
झापासहित कोशी प्रदेशका १४ जिल्लामा आर्थिक अपराधका घटनामा वृद्धि भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । वर्षेनि आर्थिक अपराधका घटना बढ्नुले प्रहरीलाई अनुसन्धानमा चुनौति थपिएको जनाइएको छ ।
झापासहित तराईका केही जिल्लाहरुमा दैनिकजसो चेक वाउन्स, विमा, शेयर बजार, सहकारी लगायतका आर्थिक अपराधसँग सम्वन्धित उजुरीहरु दर्ता हुने गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।