साउदीमा ४६९ नेपाली अलपत्र प्रकरण : उद्धारको लागि कूटनीतिक पहल भइरहेको छ- दूतावास

0
16

योगेन्द्र योगी
बिराटनगर,

आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेका ४६९ नेपाली अलपत्र परेका छन्। साउदीको जुबेल सहरमा रहेको सेन्दान इन्टरनेशनल कम्पनी लिमिटेड नामक कम्पनी बन्द भएपछि उनीहरु अलपत्र परेका हुन्। उनीहरु अलपत्र परेपछि रियादस्थित नेपाली दूतावासले उद्धारको पहल थालेको छ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै जुबेलस्थित सेन्दान इन्टरेनशनल कम्पनी टाट पल्टिने अवस्थामा पुगी काम विहिन भएका ४६९ नेपाली नागरिकहरू मध्ये केहीले तलव भत्ता उपलब्ध गराउन र नेपाल फिर्ता तथा अन्य कम्पनीमा स्थानान्तरणका लागि पहल गरिदिन अनुरोध गर्दै दूतावासमा निवेदन प्राप्त भए पश्चात् समस्या सम्बोधनका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको जनाएको छ ।

नेपाल फर्कन चाहनेहरूको बहिर्गमन भिसाका सन्दर्भमा साउदी सरकारको सम्बन्धित श्रम कार्यालयलाई आवश्यक कागजात समेत पठाइ सकिएको दूतावासले जनाएको छ । श्रम कार्यालयहरूले बहिर्गमन भिसा जारी गर्ने प्रणाली विगत केही महिना देखि प्राविधिक रूपमा अद्यावधिक गराउने प्रयास गर्दा बहिर्गमन भिसा जारी हुने समग्र प्रणालीबाट काम हुन नसकेको विषय दूतावासको जानकारीमा आएको छ ।

साउदीबाट नेपाल जान इच्छुक नेपाली श्रमिकहरूलाई र विशेष गरी सेन्दान इण्टरनेशनल कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूलाई बहिर्गमन भिसा यथाशक्य छिटो जारी गरिदिन अनुरोध गर्दै साउदी सरकारको श्रम मन्त्रालयमा बैठक तथा छलफल भएको जनाएको छ ।

नेपाल फर्कन चाहनेहरूको हकमा बाँकी सेवा सुविधा प्राप्त गर्ने कानूनी आधारहरू पुरा गरी नेपाल फर्काउने तथा साउदी अरबका अन्य कम्पनीहरूमा स्थानान्तरण भइ रोजगार गर्न चाहनेहरूका लागि स्थानान्तरण प्रक्रियालाई सहजीकरण गर्ने सम्बन्धमा साउदी सरकारको श्रम मन्त्रालय र सम्बन्धित अन्य निकायहरूमा भएका वार्ता तथा छलफलहरू सकारात्मक रूपमा अगाडि बढेको दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसै सन्दर्भमा विवरण अद्यावधिक गर्ने र नेपाल फर्कनु अगावै बाँकी सेवा सुविधा प्राप्त गर्ने कानूनी प्रक्रिया पुरा गर्ने विषयमा जानकारी गराउन राजदूतावासले आज मिति १५ मे २०२५ का दिन कम्पनीमा रहेका नेपाली श्रमिकहरूसँग भर्चुअल वैठक आयोजना गरी विवरण माग गरेको छ ।

विवरण प्राप्त भएपश्चात् सेवा सुविधा प्राप्त गर्ने कानूनी प्रक्रिया पुरा गरी नेपाल फर्कन चाहनेहरूका लागि यथाशक्य छिटो बहिर्गमन भिसा दिलाउन राजदूतावासले निरन्तर रूपमा थप कूटनीतिक पहल गरिरहने जनाएको छ । यस अवधिमा धैर्यताका साथ रहनुहुन तथा खाना,आवास र स्वास्थ्य सम्बन्धी समस्या परेमा दूतावासका तृतीय सचिव दिनेश प्रसाद शिवाकोटीलाई ०५५८९००३३९ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

उता, नेपाली जनप्रगतिशील मञ्च साउदी अरबका अध्यक्ष रामचन्द्र वाग्लेले यहाँको झन्जटिलो कानुनी प्राभधानले गर्दा समस्या भएको र दूतावासलाई झक्झक्याई रहेको बताए। अलपत्र ४६९ नेपाली मध्ये कतिपय नेपालीहरू बिरामी पर्न थालेपछि जनप्रगतिशील मञ्चले संगठनको तर्फबाट केही औषधीको व्यवस्थापन गरेर बिरामीलाई पठाएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here