वीरगञ्ज (पर्सा),
पर्सामा चालु आर्थिक वर्षको १० महिनामा सवारीसाधन दुर्घटनामा परेर ३४ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयले सवारीसाधन दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या न्यूनीकरणका लागि सातामा एकपटक ट्राफिक जनचेतनामूलक कार्यक्रम अघि बढाउँदै आइरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्टले जिल्लामा चालु आवमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या न्यूनीकरणका लागि सातामा एक पटक सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको जानकारी दिनुभयो ।
कार्यालयले दुर्घटना न्यूनीकरणका लागि वीरगञ्जको चोक–चोकमा ट्राफिक सचेतनासम्बन्धी अभियानलाई पनि निरन्तरता दिँदै आइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताको अगुवाइमा बुधबार साँझ वीरगञ्जको घण्टाघरचोकमा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।
वीरगञ्जमा ट्राफिक नियम उल्लङ्घन गर्ने तथा सवारीचालकलाई लक्षित गरेर एकघण्टे प्रशिक्षण गरिएको हो । प्रमुख लोकराज भट्टले ट्राफिक नियम पालना गर्न सवारीचालक तथा यात्रुलाई अनुरोध गर्नुभएको छ ।
समृद्धि नेपाल फाउन्डेसनका अध्यक्ष सुरज सर्राफले पनि वीरगञ्जमा सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको जानकारी दिनुभयो । कार्यक्रम संयोजक दिलीपराज कार्कीले रोगले भन्दा सवारीसाधन दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या उच्च भएकाले पनि ट्राफिक नियमको पालना गर्नुपर्ने बताउनुभयो ।