विपद् व्यवस्थापनमा जिम्मेवार बन

0
19

यो वर्ष झापामा औसतभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस्तो आंकलन गरे पनि झापाका स्थानीय सरकारले पूर्व तयारीमा चासो नदेखाएको झापा रेडक्रसले जनाएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका झापा संयोजक प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा सोमबार बसेको बैठकमा रेडक्रस सभापति लोकराज ढकालले प्रतिकार्य योजना बनाउनेतर्फ ध्यान दिन आग्रह गरेका थिए ।

झापा भएर बग्ने कन्काई, बिरीङ, रतुवा, मेची, निन्दा, देउनीया, फूलबासा, हडिया, टाङटिङ, कमल लगायतका कारण दक्षिणी क्षेत्रका पालिका बाढी र कटानको उच्च जोखिममा छन् । यस बाहेकका पालिकाहरु पनि बाढीको जोखिममा रहेका छन्, तर विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित पालिकाहरुले त्यसको व्यवस्थापन तथा प्रतिकार्यका निम्ति पूर्व तयारी नगर्नुले क्षति बढ्न सक्छ । स्थानीय सरकारको हैसियतले पालिकहरुले विपद् व्यवस्थापन शीर्षकमा प्रत्येक वर्ष बजेट छुट्याउनुपर्छ । रेडक्रस सभापति ढकालले जिल्लाका एक सय एकतीस वडा कार्यालयहरुमा विपद्मा चाहिने सामगी नभएको बताए ।

मौसम विज्ञान फिल्ड कार्यालय झापाका सुमनराज भट्टराईले पनि यस वर्ष झापामा विगतमा भन्दा बढी पानी पर्ने आंकलन गरिएको बताएका छन् । यस्तोमा उच्च जोखिममा रहेका पालिकाले बढी सतर्कता अपनाउन जरुरी छ । प्रकृतिसँग कसैले जित्न नसक्ने भएकाले सजगता अपनाउँदै पूर्व तयारीमा जुट्न पालिकाहरुले बेलैमा ध्यान दिनुपर्दछ । बाढीपछिको विपद्जन्य घटनाबाट जनतालाई बचाउनु सरकारको कर्तव्य मात्र होइन जिम्मेवारी पनि हो ।

यो वर्ष बाढीका कारण बीस लाख मानिस प्रभावित हुनसक्ने अनुमान गरिएको छ । त्यसकै लागि जिल्लामा विपद् व्यवस्थापनका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको रेडक्रसले बाढीपछि आवश्यक सामग्रीहरुको व्यवस्थापनका लागि कन्काई वारि र पारि दुईवटा भण्डारण कन्टेनर राखेको छ । उक्त कन्टेनरमा विपद्जन्य सामग्री उपलब्ध गराइदिन रेडक्रस झापाले अनुरोध पनि गरेको छ । दैवी र प्राकृतिक विपद् जहाँ जहिल्यै आउन सक्ने भएकाले व्यक्ति त सचेत हुनैपर्छ, तर स्थानीय सरकार र जनप्रतिनिधिले प्रमुख जिम्मेवारी लिनै पर्छ । अन्यथा ‘पुर्पुरोमा हात’ राख्नु बाहेक केही रहँदैन । यसतर्फ समय छँदै पालिकाहरु गम्भीर होउन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here