छत्रसाल भारतको मध्य प्रदेशस्थित बुन्देलखण्डमा पिता चम्पत राय र माता लालकुवरका पुत्ररत्नको रुपमा विक्रम सम्वत १७०६ ज्येष्ठ शुक्ल तृतीयाको दिन अर्थात् सन् १६४९ मे महिनामा जन्मेका थिए । त्यो समय भारतमा मुगल शासनको समय रहेको थियो । स–साना हिन्दू राज्यहरूमा मुगल शासकहरूको आक्रमण, अत्याचार र धर्मान्तरण हुन्थ्यो । विद्रोहको आवाज निकाल्ने, नमान्ने, तथा धर्म परिवर्तन नगर्नेहरूलाई कठोर सजाय दिने मार्ने, महिलाहरूलाई अपहरण गर्ने, बलात्कार गर्ने र जबरजस्त स्वास्नी बनाएर राख्ने कार्यहरू सामान्य जस्ता हुन्थे ।
स–साना हिन्दू राज्यहरूबाट ठूलो कर उठाएर मुगल शासकहरु बस्दथे र अन्तिममा राज्य नै कब्जा गर्दथे । त्यो समय वैदिक सनातनीहरू माथिको ज्यादति चरम उत्कर्षमा पुगेको थियो । खास गरेर मुगल सम्राट औरङ्गजेव अत्यन्त क्रुर तानाशाही हत्यारा प्रकारका थिए । उनले आफ्नै पिताजीलाई जेलमा राखेर ठूलो यातना दिएका थिए भने आफ्नै भाइको टाउको छिनाएर सम्राटको बिरुद्धमा बोल्नेको यस्तै हुन्छ भनेर अरुलाई देखाउँथे ।
मुगल शासकहरूको बिरुद्धमा लड्दालड्दै छत्रसालका माता पिता चम्पतराय र लाल कुँवर जङ्गलमा घेराबन्दीमा पर्न पुग्छन् । उनकी आमा समेत लडाकु थिइन् । घेराबन्दीभित्र मुगलहरूबाट मारिनुभन्दा आफै मारिनु ठिक हो भनेर उनीहरु तरबारले सिर छिनाएर आत्महत्या गर्न पुग्दछन् । बालक छत्रसाल आफन्तकोमा राखिएका अवस्थामा टुहुरा बन्न पुग्छन् । उनमा मुगल शासकहरूको बिरुद्धमा सानैदेखि विद्रोही चेतना विकास भएको देखिन्छ । उनले सन् १६७१ मा २२ वर्षको उमेरमा मुगल शासन बिरुद्ध झन्डा उठाएर गुरिल्ला युद्ध प्रारम्भ गरेका थिए भन्ने कुरा भगवानदास गुप्ताले लेखेको बुन्देल खण्डको मध्यकालीन इतिहास भन्ने पुस्तकमा उल्लेख भएको छ । उनका मुख्य दुश्मन बादशाह औरङ्गजेव थिए ।
त्यही समयको सेरोफेरो महाराष्ट्रमा छत्रपति शिवाजीको आदर्शबाट प्रेरित भएर हिन्दू जागरण अभियान शुरु भएको थियो । लडाकुका रूपमा सेनामा भर्ना भएका छत्रसाल पनि त्यही प्रेरणाबाट प्रभावित बनिरहेका थिए । सो समयमा मध्यप्रदेशमा हिन्दू जागरण गराउँदै हिँडिरहेका स्वामी प्राणनाथसँग सन् १६८३ मा छत्रसालको पहिलोपटक भेट भएको थियो । त्यसबेला प्राणनाथले कुरानका कुराहरूलाई समेत समाएर जबरजस्त धर्मान्तरण गर्ने र यातना दिने काम बन्द गर्नुपर्छ त्यो आफैमा कुरान विरोधी हुन्छ भनेर मुगल सम्राट औरङ्गजेबसम्म आफ्ना भनाइहरू पु¥याउन सक्षम भएका थिए । यसलाई लालदास विरचित वितकको यो भनाइले पुष्टि गर्दछ–
जोर से किजे मुसलमान, तो साफ न होए दिल उन ।
राजी ना होए इन पर, त्यो क्यो पावे कदम मोमिन ।।
अर्थात् बलपूर्वक कसैलाई मुसलमान बनाइयो भने उनीहरूको मन पवित्र हुन सक्दैन । धर्म परिवर्तनका निमित्त मानिसहरू सहमत हुँदैनन् । उनीहरुका मनमा मोमिन ब्रह्मात्माहरूप्रति श्रद्धा उत्पन्न हुँदैन । तर, क्रुर शासक औरङ्गजेवमा कुनै परिवर्तन देखिएन । त्यसबेला स्वामी प्राणनाथले हिंसा र बर्बरताबाट समाजलाई जोगाउनको निमित्त समन्वयात्मक अध्यात्मवादको सहारा लिएको देखिन्छ । उनले वैदिक हिन्दू दर्शन, कुरानका महŒवपूर्ण आदर्शलाई जोडेर सार्वभौम आध्यात्मिक सन्देश प्रदान गर्ने प्रयास गरेको देखिन्छ ।
धार्मिक विभाजन हटाएर मानिसहरूमा एउटै आध्यात्मिक आधारमा जोड्नको लागि प्रयास गरेका, इस्लामसँग संवाद गर्न अरबी फारसी जस्ता इस्लामिक भाषाशैली प्रयोग गरेका, कुरानका सन्दर्भहरू दिएका जस्ता कुरालाई समन्वय र शान्तिका लागि थियो, आध्यात्मिक एकता र सर्वधर्म समभावको लागि समेत थियो भनेर बुझ्नुपर्दछ । तर, उक्त मार्गले काम नगरेपछि स्वामी प्राणनाथ एकजना हिन्दू लडाकुको सहारामा निष्कलङ्क हिन्दू राज्य स्थापना गर्ने लक्ष्यका साथ अगाडि बढिरहेका थिए ।
छत्रसाल उनले खोजिरहेका एकपात्र बन्न पुगे । त्यसबेला स्वामी प्राणनाथमा औरंगजेवको जडमूलदेखि नै उखेलेर नष्ट गरिदिने विद्रोही भावना विकास भएको देखिन्छ । स्वामी प्राणनाथले कुरानका सन्देशहरूको सहारा लिएर बादशाहलाई अहिंसात्मक मार्गबाट परिवर्तन गराउन खोजेका कुरालाई लिएर कतिपय हिन्दू सम्प्रदायहरुभित्र उनलाई मुसलमान भनेर दोषारोपण समेत गरेको भेटिन्छ । लालदास विरचित वितक प्रकरण ४९ को १३औं श्लोकले यसो भन्दछ–
तब श्रीजी साहेबजीए कहया,
अब ना छोडौँ इनेँ ।।
और इलाज कर मारहोँ
जड उखाडौँ बुनियाद पने ।।
अर्थात् स्वामी प्राणनाथजी भन्नुहुन्छ कि अब हामी औरङ्गजेबलाई यसरी छोड्ने छैनौँ । कुनै अर्को उपाय गरेर हामी यसलाई जडमूलदेखिनै उखेलेर नष्ट गरिदिनेछौं ।
श्री प्राणनाथजीको आध्यात्मिक प्रेरणाबाट छत्रसाल युद्धको मैदानमा अझ गतिलो ढंगले प्रेरित बन्न पुग्छन् । स्वामी प्राणनाथले जलपुरी नामको तरबार प्रदान गरेका कुराहरू इतिहासमा भेटिन्छ । छात्रसालको स्वामी प्राणनाथबाट आध्यात्मिक जागरण हुन्छ र उनकै प्रेरणा र आशीर्वाद लिएर युद्धमा होमिन पुग्छन् । केही युद्धहरू जित्दै गएपछि स्वामी प्राणनाथले धेरै हिन्दू भक्तहरूको अगाडि छत्रशाललाई सम्राट घोषणा गर्दछन् । भगवान दास गुप्ताको बुन्देलखण्डीय मध्यकालीन इतिहासमा समेत उल्लेख भएको र छत्रसालसँग जोडिएकका केही कुराले विशेष अर्थ राख्दछन् । जस्तैः
इत यमुना उत नर्मदा, इत चम्बल, उत टोंस ।
छत्रसाल सोँ लरनकी रहिना काहु होँस ।।
छता तोरे राजमे धकधक धरती होय ।
जित जित घोडा मुख करे उतउत फत्ते होय ।।
अर्थात् पूर्वमा मन्दाकिनी तट चित्रकोट, छत्रपुर र पन्ना पश्चिममा ग्वालियरको बीचमा आफ्नो निष्कलङ्क हिन्दू राज्य महाराजा छत्रशालले विस्तार गरेका थिए । उनीबाट मुगल शासकहरू रोहिल्ला खान, कालिक मुनावर खान, सहरुद्दिन खान, अब्दुस अहमद आदि परास्त भएका थिए । उनले २५ हजारको संख्यामा लडाकु सेना तयार पारेका थिए भन्ने कुरा भगवान दास गुप्ताको इतिहासमा उल्लेख गरिएको छ ।
त्यस्तै उनको भलेभाइ नामको घोडा थियो र त्यसमा चढेर उनी जति दौडन सके त्यति नै सिमानामा राज्य विस्तार भएको कुरा उल्लेख छ । उनले पन्ना नगरको स्थापना गराएका र स्वामीप्राणनाथको प्रेरणाबाट घोडा हिँडेका क्षेत्रहरूमा हिराखानी बनेको भन्ने समेत धार्मिक मान्यता रहेको छ । अहिले पनि मध्य प्रदेशको बुन्देलखण्ड अन्तर्गतको पन्ना क्षेत्र हिराखानीको लागि संसारमै चर्चित क्षेत्रको रुपमा रहेको छ ।
महाराजा छत्रशालले आफ्नो दरबारमा महामति प्राणनाथज्यूलाई आमन्त्रण गरेर नीसकलङ्क बुद्ध अवतारको रुपमा महा आरती गरेको कुरा इतिहासहरूमा उल्लेख छ । स्वामी प्राणनाथ सद्गुरु देवचन्द्र जी महाराजबाट दीक्षित थिए । सो ज्ञानको प्रचार गर्दै बाँकी प्रचारको जिम्मा उनले महाराजा छत्रशाललाई सुम्पेका थिए । श्रीकृष्ण प्रणामी, निजानन्द सम्प्रदायमा छत्रसाललाई परमधामका शाकुण्डलसखी को रुपमा व्याख्या गरिएको छ । मध्य प्रदेशको छत्रपुर जिल्लाको धुबेला भन्ने स्थानमा छत्रसाल पुरातत्विक संग्रहालय रहेको छ । जसमा उनको समयमा मुगलहरूद्वारा टाउको काटिएका मूर्तिहरू, उनले प्रयोग गर्ने सरसामान, तरबार, सो बेलाका अनेकौं इतिहास झल्कने वस्तुहरू राखिएका छन् ।
छत्रसालको मृत्युको सम्बन्धमा धेरैखाले कुराहरू छन् । इतिहासमा उनको कसरी मृत्यु भयो भन्ने स्पष्ट जानकारी भेटिँदैन । उनको मृत्यु १७३१ मा ८२ वर्षको उमेरमा मध्य प्रदेशकै छत्रपुर मउमा भएको भनिएको छ । त्यही स्थानमा महाराजा छात्रसालको अन्तध्र्यान भएको भनिएको स्थान पनि रहेको छ । शाकुन्डल धामको रुपमा परिचित उक्त मन्दिरको अगाडि रहेको चौतारामा आफ्नो घोडा भलेभाइ तथा सम्पूर्ण सामानहरू राखेर महाराजा छत्रसाल अन्तध्र्यान भएको कुरा बताइन्छ । सोसँग सम्बन्धित केही लेख, आलेखहरू तथा शिलालेख र भित्ते लेखन समेत सो क्षेत्रमा देख्न पाइन्छ । पछि उनका सरसामान र कपडाहरू राखेर विशाल समाधि समेत बनाइएको छ । उनको समाधिस्थल छेउमा भलेभाइ घोडाको समेत समाधि स्थल रहेको छ ।
महाराजा छत्रसालका धेरै जना रानीहरू थिए । जसमा मुगल राजकुमारी उनकी प्रिय रानी थिइन् । ऊनबाट जन्मिएकी छोरी मस्ताना थिइन् । यसले महाराजालाई मुगल शासकहरूसँग नजिक बनाउन सहयोग पु¥याएको थियो । उनकी पत्नी देवकुँवर, कमलावती, रूहानी बाईबेगम आदि थिए । उनका छोराहरू हर्देशा जसले पन्ना राज्यमा उत्तराधिकारीको रुपमा राज्य गरे, अर्का जगत रायले जैतपुरमा राज्य गरेका र अर्का छोरा भारती चन्द जसले जासो राज्य सम्हालेको इतिहास भेटिन्छ ।
मध्य प्रदेशको बुन्देलखण्ड पन्नामा हिन्दू राज्य स्थापना गरेर धेरै वैदिक सनातनी हिन्दुहरूको संरक्षण गरेको, समृद्ध राज्य स्थापना गरेको, मुगल शासकलाई परास्त गरेको, धर्मको रक्षा गरेको, प्रजाहरूलाई सुख सुविधा प्रदान गरेको कारण महाराजा छत्रसाललाई बुन्देल केसरी नामले चिनिन्छ । उनलाई बुन्डेलखण्डका शिवाजी, परम्धामका शाकुण्डल सखीको आत्मा समेत भनिन्छ । उनको जन्मदिनको अवसरमा वैदिक सनातनी सभ्यताको पक्षमा उभिने सबैजनाप्रति हार्दिक शुभकामना अर्पण गर्दछु ।