शिवसताक्षीमा पहिलो पटक नीजि स्कूलका विद्यार्थीले गणतन्त्र दिवस मनाए

0
159

शिवसताक्षी ।

झापाको शिवसताक्षी नगरपालिकामा पहिलोपटक एक संस्थागत विद्यालयका विद्यार्थीले आफैँले पहल गरेर गणतन्त्र दिवस मनाएका छन् ।

शिवसताक्षी–६ स्थित सगरमाथा अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालय छुट्टी भए पनि साँझ स्थानीय हवल्दार चोकमा दीप प्रज्वलन गर्दै गणतन्त्र दिवसलाई सम्मानपूर्वक मनाएका हुन् ।

कार्यक्रममा सहभागी विद्यार्थीहरू मात्र होइन, स्थानीय अभिभावक, समाजसेवी, विभिन्न पेशामा संलग्न व्यक्तित्व, शिक्षक र कर्मचारीहरू समेतको उल्लेखनीय उपस्थिति रहेको थियो । विद्यालय वरपरका करिब ६५ जना विद्यार्थीको उत्साहजनक सहभागिताले कार्यक्रमलाई जन–चेतनात्मक मात्र बनाएन अन्य विद्यालयका लागि उदाहरणीय पनि बन्यो ।

विद्यार्थीहरूले गणतन्त्रका विषयमा छोटा तर प्रभावशाली भाषण पनि प्रस्तुत गरे । उनीहरूको भनाइमा गणतन्त्र केवल राजनीतिक परिवर्तन र स्वार्थका लागि होइन, जनताको बलिदानी र लामो संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि हो । यसकोे संरक्षण र संवद्र्धन सबै गणतन्त्रबादीकोे जिम्मेवारी हो ।

कक्षा १० की छात्रा कृपा थेबेले भनिन्, ‘नेपालमा गणतन्त्र स्थापना हुँदा म जन्मिएकी थिइनँ । तर हामीले इतिहास पढेर, सुनेर बुझेका छौं कि यो सहजसँग आएको उपलब्धि होइन । यसको रक्षा र सम्मान गर्न हामी सबै जागरुक हुनुपर्छ ।’

कार्यक्रममा वडा सदस्य गीता दर्जी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष जीवन राई तथा प्रधानाध्यापक एवं प्याप्सन झापाका कोषाध्यक्ष अमृतकुमार तिम्सिनाको विशेष उपस्थिति थियो ।

उनीहरूले विद्यार्थीहरूको यो चेतनशील सहभागिता प्रशंसनीय भएको बताए । ‘राजसंस्थाको अन्त्य र गणतन्त्रको स्थापनाको कथा आजका विद्यार्थीले बुझ्न थालेका छन् । सिकाइको अत्यन्त सशक्त यो उदाहरण हो,” तिनैले भने ।

कार्यक्रम विद्यालय र विद्यार्थी दुबैका लागि प्रेरणाको स्रोत बनिदिएको छ । संस्थागत विद्यालयका विद्यार्थीहरूलाई पाठ्यपुस्तक बाहिरको यथार्थ जीवन र राष्ट्रिय भावनासँग जोड्ने यस्तो खालको गतिविधि अनुकरणीय रहेको नेपाली कांग्रस झापाका अन्तरपार्टी समन्वय समितिका सम्योजक पर्शुराम ढुँगानाले बताए ।

सगरमाथा अङ्ग्रेजी माध्यमिक विद्यालयले शिक्षालाई पाठ्यक्रममा मात्र सीमित नराखी व्यवहारिक चेतनासँग जोड्ने काम गरेको उनले बताए । ‘जुन अन्य विद्यालयका लागि पनि एउटा सकारात्मक सन्देश हो,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here