झापा भद्रपुरमा स्थापित मेची अञ्चल अस्पताल जिल्ला मात्र नभएर इलाम, पाँचथर र ताप्लेजुङबासीका लागि समेत स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पताल थियो । पछिल्लो समय संघीयताको कार्यान्वयनसँगै यसलाई प्रादेशिक अस्पताल बनाइयो तर स्रोत, साधन र जनशक्तिका हिसाबले उसको स्वरुपमा परिवर्तन आएको छैन । अञ्चल अस्पताललाई प्रादेशिक बनाइएपछि समस्या बढ्दै गएको स्थानीय सचेत नागरिकको भनाइ छ । केन्द्रीय सरकारले सञ्चालन गर्दै आएको अस्पताल प्रदेश सरकारलाई जिम्मा लगाइएपछि समस्या झन जटिल बन्दै गएको अस्पतालको सुधारका निम्ति आवश्यक पहल भएको छैन । प्रदेश सरकारका केही मन्त्रीहरु अस्पतालको सेवा प्रवाहप्रति संवेदनशील बनेको पाइए पनि जारी सेवामा प्रभाव पर्ने गरी समस्याको सुनुवाई नभएको आम गुनासो छ ।
साविकको अञ्चल अस्पताललाई प्रादेशिक बनाइए पनि चिकित्सकसहितको आवश्यक जनशक्ति तथा भौतिक संरचना नहुँदा तह अनुसारको सेवा दिन नसकिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको निरीक्षण तथा अनुगमनमा आएका स्वास्थ्य मन्त्री भूपेन्द्र राईलाई निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामबाबु खड्काले ध्यानाकर्षण गराएका छन् । त्यस अवसरमा डा. खड्काले प्रदेश मन्त्री राईलाई अस्पतालको विद्यमान अवस्था, समस्याको जानकारी दिँदै सुधारका लागि गर्नुपर्ने विषयसहितको ज्ञापनपत्र बुझाएका थिए । तत्कालीन अञ्चलाधीश छिरिङ तेन्जिङ लामाको पहलमा अञ्चलभरीका सेवाग्राहीको सेवाका लागि पन्ध्र शय्याको अस्पतालबाट प्रारम्भ भएको सेवा अहिले एक सय छब्बीस शय्यामा सञ्चालन भइरहेको थियो वि.सं. २०७९ बाट प्रादेशिकमा रुपान्तरण गर्दै दुई सय शय्या पु¥याइएको छ ।
अस्पतालको नाम र शय्या थपिए पनि यहाँ दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक छैनन् । तहका आधारमा एक्काइस जना विशेषज्ञ चिकित्सकको दरबन्दीमा दश जनाले सेवा दिनु परेको छ । त्यस्तै एक सय तीन जना कर्मचारी दरबन्दीमा अन्ठाउन्न पद रिक्त छन् । सेवा प्रवाह सहज होस् भन्दै दुई जना मेडिकल अफिसर करारमा नियुक्ति गरिएको र अन्य समेत एक सय उन्नन्तीस जनालाई समितिले पारिश्रमिक दिनुपर्ने बाध्यता रहेको अस्पतालको दुखेसो छ । त्यसबाहेक भौतिक संरचनाको अभावमा अपेक्षित सेवा प्रवाह गर्न कठिन भएको मन्त्रीलाई जानकारी दिइएको स्रोतले जनाएको छ । त्यसो त यस्तो समस्या अस्पतालले विगतदेखि नै भोग्दै आएको छ । सम्बद्ध निकाय र सरकारको उदासीनताका कारण प्रादेशिक अस्पताल आफै बिरामी छ । आवश्यक जनशक्तिको अभावमा बिरामीलाई अपेक्षाकृत सेवा दिन सकेको छैन । पूर्वी नेपालकै पुरानो र जनसहभागितामा निर्मित नमूना अस्पतालले आजसम्म चिकित्सक र भौतिक संरचना र प्राविधिकको अभावबाट मुक्ति पाएको छैन । अस्पताल सञ्चालनका लागि गरिने राजनीतिक नियुक्तिले समेत बिरामी परेको अस्पतालको सुधारका लागि कडा दबाव दिन जरुरी छ ।