बुट्टाबारी ।
अर्जुनधारामा लेखक श्याम सिंघकको कृति ‘कोइलाखाद’को एक कार्यक्रमका बीच परिचर्चा भएको छ ।
पाँचथरको एउटा गाउँबाट रोजगारीका लागि भारतको मेघालय छिरेको लिम्बू ठिटोले झेलेको सुख–दुःखसँगै पारिवारिक, सांस्कृतिक, प्रेम सम्बन्धसँगै नेपाली युवाहरुको भोगेका दर्दनाक अवस्था बारे लेखक श्याम सिंघकले उपन्यासमा छर्लङ्ग पारेका छन् ।
लेखक सिंघकको तेस्रो कृतिको रुपमा रहेको ‘कोइलाखाद’ उपन्यास नेपाली युवाहरुको भविष्य केन्द्रित रोजगार, भारतको मेघालय राज्यसँगको सम्बन्ध, संस्कार, संस्कृति, भाषा, मातृ सत्तात्मक रीतिरिवाज, संस्कार बोकेका खसिया समुदायसँगको यथार्थ चित्रण भएको बताए ।
लामो समय खोजमूलक अध्ययन–अनुसन्धानपछि बजारमा आएको यस उपन्यासले नेपालका पूर्वी पहाडी जिल्लाहरुबाट सन् १९८० को दशकमा रोजगारीका लागि कोइलाखानीमा कामदारका रुपमा जाने नेपाली युवाहरुको चित्रण र मातृसत्ता भूमि मेघालयका युवती बीचको प्रेम सम्बन्ध, समर्पणसँगै आफ्नो पारिवारिक सम्बन्धलाई सन्तुलित राख्न गरिएका प्रयासलाई लेखकले पाठकको ध्यान खिचि राख्न गरेको प्रयत्नको प्रशंसा र परिचर्चा प्राज्ञ गुणराज शेर्मा र साहित्यकार लीला अनमोलले गरेका थिए ।
उपन्यासमा नेपाली युवाहरुको जीवन र मरणको अवस्थालाई पनि उत्तिकै सरल ढंगबाट प्रस्तुत गरेको उनीहरुको ठम्याइ छ । कोइला निकाल्न गएका युवाहरुले खानीभित्रै ज्यान गुमाउनुपर्ने स्थिति, फरक संस्कृतिका खासिया जातिको समुदायबाट दोस्रो दर्जाको नजरबाट अपहेलित जीवन बाँच्न बाध्य पारिएका अवस्था निकै टिठलाग्दो रहेको उल्लेख गरिएको छ ।
पाठकले एकपटक यो पुस्तक अध्ययन गर्न जरुरी रहेको लेखक श्याम सिंघकले बताए । यलम्बर टाइम्स साप्ताहिकको आयोजनामा भएको कार्यक्रममा साहित्यकार कृष्ण बरालले टिप्पणी गरेका थिए भने प्राज्ञ सुमित्रा बाङ्देल (चेली)ले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा झापाका साहित्यकारहरुको उल्लेख्य उपस्थित रहेको थियो । यलम्बर साप्ताहिकका सम्पादक दिपिन राईको अध्यक्षता सञ्चालित कार्यक्रमको सहजीकरण साहित्यकार अभागी थेगुवाले गरेका थिए ।