बिर्तामोड।
झापाको बिर्तामोडमा पत्रकार तथा गजलकार बिटु केसीको गजलसङ्ग्रह ‘धीत’ को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ झापाको आयोजनामा शनिवार केसीको दोस्रो कृति ‘धीत’ को परिचर्चा गरिएको हो ।
नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा ‘धीत’ को परिचर्चा साहित्यकार शिव प्रणत र विवश बलभद्र कोइरालालले गरेका थिए । महासंघका पूर्व केन्द्रीय महासचिव चन्द्र भण्डारी, महासंघका पूर्व अध्यक्ष केशव आचार्यले शुभेच्छा मन्तब्य राखेका थिए ।
नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तथा स्रष्टाका पति तारा बरालले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत महासंघ झापा शाखा उपाध्यक्ष विनिशा शर्माले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन महासंघ झापा कार्यसमिति सदस्य स्वास्तिका आचार्यले गरेकी थिइन् । स्रष्टा केसीले झापाप्रतिको आफ्नो सम्वन्ध केलाउदै सबैलाई धन्यवाद ज्ञापन गरिन् ।
कार्यक्रमका बीच महासंघ झापाका संस्थापक सचिव तथा पूर्व अध्यक्ष बराललाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो । महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको रकम एक करोड ११ लाख पुर्याउन योगदान गरेकोमा बराल दम्पत्तिलाई सम्मान गरियो ।
उनीहरुलाई महासंघ झापाका अध्यक्ष गिरी, महासंघका पूर्व केन्द्रीय महासचिव चन्द्र भण्डारी, महासंघका पूर्व अध्यक्षहरु केशव आचार्य,कृष्ण हुमागाईले सम्मान पत्र प्रदान गरेका थिए । सम्मानपत्रको वाचन महासंघ कार्यसमिति सदस्य इशा प्रधानले गरेकी थिइन् ।
कार्यक्रममा साहित्यकारहरु मोक्ष खतिवडा,टीका चापागाईं, खगेन्द्रा खुशी, भगवती ढुंगेल र अम्बिका कडरियाले धीत भित्रका गजल वाचन गरेका थिए । अग्रज पत्रकार, सक्रिय पत्रकार, साहित्यकार,संघसंस्थाका प्रतिनिधि लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
गजलसङ्ग्रह ‘धीत’ काठमाडौंमा बिमोचन गरिएको थियो । यसअघि केसीका मायाको मात नामक मुक्तक संग्रह र आधा मन नामक गीति एल्बम सार्वजनिक भइसकेका छन् ।