भद्रपुर ।
भद्रपुरमा अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सहभागिता वृद्धिका लागि वडा स्तरीय अन्तर संवाद कार्यक्रम सञ्चालन गरिएको छ ।
कोशी सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन नेपालको साझेदारी तथा भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा वडास्तरीय मिलीजुली समूहको आयोजनामा नगरका १० वटै वडामा सो कार्यक्रम सञ्चालन गरिएको हो ।
अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रममा के हो ? कहाँ–कहाँ र कसरी यो कार्यक्रम सञ्चालन भइरहेको छ भन्ने बारेमा जानकारी गराउने उद्देश्यले वडा वडा गएर जानकारी गराइएको सामाजिक विकास शाखाका सहजकर्ता नरेन्द्र प्रधानले बताए ।
कार्यक्रममा सहभागीहरूलाई अपाङ्गताका प्रकार, अपाङ्गता परिचय पत्रका प्रकार, अपाङ्गता भएका व्यक्तिहरूले पाउने सेवा सुविधा र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार बारेमा जानकारी गराइएको थियो ।
त्यस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो इच्छा, योग्यता र क्षमताका आधार राजनीतिमा, सङ्घ–संस्थाहरूमा, विभिन्न भौतिक संरचनाहरू निर्माण हुँदा बन्ने उपभोक्ता समितिहरूमा अपाङ्गता भएका व्यक्तिहरूको पनि प्रविधित्व हुने गरी समिति गठन हुनु पर्ने विषयहरूमा पनि जानकारी गराइएको प्रधानले बताए ।
उक्त कार्यक्रम सञ्चालनमा सहजकर्ताहरू शङ्कर लम्साल, सोनी सुब्बा र पूजा श्रेष्ठले गरेका थिए, वडाहरूमा प्रस्तुतीकरण सहजकर्ता प्रधानले गरेका थिए । २०७८ सालको जनगणना अनुसार भद्रपुरमा एक हजार ६३१ जना अपाङ्गता भएका व्यक्ति रहेको तथ्याङ्कमा उल्लेख छ । त्यसमध्ये गत बैशाख मसान्त सम्म ९२८ जनालाई परिचयपत्र वितरण गरिसकेको जनाइएको छ ।