नेपालका वरिष्ठ संगीतकार, गायक, साहित्यकार गणेश रसिकको निधनले राष्ट्रलाई नै ठूलो क्षति भएको छ । नेपाली जीवन, नेपालको प्रकृति र समाजलाई आफ्ना सृजनामार्फत अभिव्यक्ति गर्ने कुशल स्रष्टाको निधनबाट राष्ट्रको गीत, संगीत र साहित्य क्षेत्रको धरोहर गुमेको छ । नेपाली समाजको सजीव चित्र आफ्ना सृजना मार्फत पस्किन सक्ने वरिष्ट सर्जक भाषागत सरलताका कारण समेत नेपाली समाजसँग सुपरिचित प्रिय हुनुहुन्थ्यो ।
भोजपुरको छिनामाखुमा वि.सं. २००४ असोज ४ गते जन्मिनुभएका रसिक किशोर वयमा अवसरको खोजीमा राजधानी प्रवेश गर्नुभयो । संघर्षमय जीवन भोग्दै अध्ययनलाई समेत निरन्तरता दिँदै गीत, संगीत, साहित्यको साधनासँग जोडिनुभयो । राजनीतिक चेतना प्रवाह गर्ने अभियान राल्फासँग आबद्ध उहाँले पछिल्लो समय साथीहरुसँगै ‘लेकाली’ समूह बनाउनुभयो । सरकारी जागिर शुरु भएपछि त्यसकै निरन्तर र योगदानको उत्कृष्टताले प्रशासनिक उच्च पदसम्म पु¥यायो । रत्न रेकर्डिङ संस्थान, साझा प्रकाशन, सांस्कृतिक संस्थान, नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठान लगायतका संस्थानहरुमा अध्यक्ष, महाप्रबन्धक, सदस्य सचिवको सम्मानित पदमा रहेर स्वदेशको माटोको सुगन्धमा रमाउँदै मानवजीवनलाई सार्थक बनाउनुभयो ।
नेपाली समाज, जाति, भाषा, साहित्य, संगीत र गायन क्षेत्रको श्रीवृद्धिमा अतुल्य योगदान दिनुहुने रसिक आफू भने पीडाको पहाड हुनुभयो । चौबीस वर्षकै उमेरमा कथा संग्रह प्रकाशित गरी साहित्यिक क्षेत्रमा उदाउनुभएका रसिकले थुपै्र राष्ट्रिय गीतहरुको सृजना गर्नुभयो । वरिष्ठ सर्जक बुलु मुकारुङले रसिकका संस्मरणमा भन्नुभएको छ– उहाँलाई पीडाको सगरमाथा भन्थ्यौं । परिवारमा तीन जना भाइहरुको निधनपछि वैश्विक महामारी कोरोनाका कारण छोरा र श्रीमती समेत बितेर पीडाको कठिन यात्रामा यात्रारत् उहाँ पूर्वाद्धमा प्रोस्टेट क्यान्सरसँग संघर्ष गर्दै हुनुहुन्थ्यो ।
आफ्नो देश, आफ्नो समाज, आफ्नो सीमाना र आफ्नो भाषा, संस्कृतिप्रति अत्यन्त मोह राख्नुहुने वरिष्ठ गीतकार, गायक तथा साहित्यकार रसिकको निधनले उत्पन्न रिक्तता अब कहिल्यै पूर्ण हुँदैन । पछिल्लो समय पूर्वी नेपालको इलाम जिल्लालाई बासस्थल बनाउनुभएका रसिकसँग अब सम्झना मात्र बाँकी छ । उहाँका कथा, कविता, गीत, नियात्रा र संगीतहरुले उहाँको स्मरण गराइरहने छन् । एक अत्यन्त सादा, सरल, मिलनसार तथा उच्च प्रतिभा सम्पन्न स्व. रसिकप्रति हार्दिक श्रद्धाञ्जली । तपाईको महाप्रस्थान अकंटक रहोस् ।