झापा ।
‘युवाहरूको सशक्तीकरण ः जलवायु कार्य नेतृत्व विकास र स्थानीय विकास हातेमालो भन्ने नाराका साथ झापाको भद्रपुरमा ‘दोस्रो नगर यूथ समिट’ हुन लागेको छ ।
भद्रपुर नगरपालिका, नगर युवा परिषद्को आयोजनामा यही जेठ २३ र २४ गते ‘दोस्रो नगर यूथ समिट’ हुन लागेको आयोजकले बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । युवाहरूले आफू भित्र रहेको क्षमताको पहिचान गरी आफ्नो र राष्ट्रको दिगो सुरक्षित भविष्यका लागि उचित कार्य गर्न सक्ने उद्देश्य यो कार्यक्रमको रहेको भद्रपुर नगर प्रमुख गणेश पोखरेलले बताए ।
साथै विश्वव्यापी जलवायु प्रभाव, स्थानीय विकासमा युवा सहभागिता र युवा अभियान बारे युवाहरूको परिचालनको अवगत गराई स्थानीय युवा परिचालनको अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने नगर प्रमुख पोखरेलको भनाई छ । यस कार्यक्रममा २२० जना युवायुवतीलाई सहभागी गराइनेछ ।
सहभागीहरूलाई जलवायु परिवर्तनको विश्वव्यापी प्रभाव र नेपालको वर्तमान अवस्था साथै सञ्चालन गर्नुपर्ने कार्यहरूको विषयमा बहस, युवाहरूमा सामाजिक तथा सामुदायिक दायित्व भावनाको विकास, जीवनोपयोगी सीपको विकास गरी जीवनलाई उपयोगी व्यवहारिक धारणा सहित जिउन उत्प्रेरित गर्ने कार्यको बारेमा पनि जानकारी गराइने नगर युवा परिषद्का सदस्य सचिव योगेन्द्र पौडेलले जानकारी दिए ।
कार्यक्रममा १६ देखि २४ वर्षसम्म उमेर समूहका युवाहरू सहभागी हुनेछन् । प्रत्येक वडाबाट ६ जनाका दरले ६० जना, खुला आवेदनबाट एक सय जना, सङ्घसंस्थाबाट ३० जना, नगर युवा परिषद्बाट १० जना र पर्यवेक्षक २० जना सहभागी हुने सदस्य सचिव पौडेलले बताए ।
कार्यक्रममा विषय विज्ञहरू डा. सन्देशदास श्रेष्ठ, अर्णव चौधरी, नवराज पराजुली, इन्जिनियर आरिफ अलि, प्रतीक राउत, महेश बर्तौला, रजनी थापा, रामहरि खतिवडा, सुगारिका केसी लगायतले सहजीकरण गर्ने परिषद्का कार्यकारी उपाध्यक्ष आरोग्य तिम्सिनाले जानकारी दिए । समापनका दिन नगरका युवा प्रतिभा गायक प्रशान्त शिवाकोटीलाई सम्मान गरिने जनाइएको छ ।