बिराटनगर,
मोरङको सुन्दरहरैचा -६ मा रहेको पूर्वाञ्चल एकेडेमीमा अध्यानरत तीन जना विद्यार्थी राष्ट्रिय स्तरको खेलमा छनौट भएका छन्। अघिल्लो बर्षहरू झै यसपटक पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा आफ्ना खेलकुद प्रतिभा प्रस्तुत गर्दै राष्ट्रिय स्तरमा झण्डा फहराउने फेरी पनिअवसर प्राप्त गरेको छ।
एकेडेमीले विगतमा राष्ट्रिय खेलकुद प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेको सम्मानजनक इतिहाससँगै यस पटक पनि आफ्नो सम्पूर्ण खेलकुद संरचना र विद्यार्थीहरूको कडा परिश्रमको फलस्वरूप विभिन्न खेल विधामा राष्ट्रिय छनोटमा सफल भएका खेलाडीहरूलाई प्रस्तुत गरेको छ।
विद्यालयका वुशु खेलकुद विभागद्वारा दिइएको उत्कृष्ट प्रशिक्षण र मार्गदर्शनको परिणामस्वरूप, अभिन दास र सितल मगरजस्ता खेलाडीहरू नगर, जिल्ला र प्रदेश स्तरमा लगातार प्रथम स्थान हासिल गर्दै राष्ट्रिय खेलकुदका लागि छनोट भएका छन्।
यी खेलाडीहरू विद्यालयको खेलकुद क्षेत्रको गौरवका प्रतीक मात्र होइन, सम्पूर्ण क्षेत्रका लागि प्रेरणाका स्रोत बनेका छन्। अर्कोतर्फ, सर्जना बी.के., जो ज्याभलिन थ्रो र दौड (रनिङ) दुवै विधामा अत्यन्तै प्रभावकारी प्रदर्शन गर्दै राष्ट्रिय खेलकुद फाइनलमा स्थान बनाउँन सफल भएकी छिन्।
सर्जनाको बहुआयामिक क्षमता र असाधारण समर्पणले विद्यालयको खेलकुद प्रक्षेत्रमा थप उचाइ हासिल गर्न मद्दत पुर्याएको एकेडेमीका प्रधानाध्यापक दिपेन राईले बताए। प्रधानाध्यापकले राईले भने, ” हामी शैक्षिक र खेलकुद दुवै क्षेत्रमा समर्पित छौं,हाम्रो विद्यालयका विद्यार्थीहरूको राष्ट्रिय खेलकुदमा छानोटले हाम्रो समर्पण र प्रयासको प्रमाण प्रस्तुत गर्दछ,हामी भविष्यमा पनि यस्ता सफलताहरू प्राप्त गर्न निरन्तर प्रयासरत रहनेछौं।”
विद्यालय परिवारले छानिएका सबै खेलाडीहरूलाई हार्दिक बधाई दिँदै आगामी राष्ट्रिय खेलकुद प्रतियोगितामा शानदार प्रदर्शनको शुभकामना व्यक्त गरेको छ। राष्ट्रिय खेलकुद प्रतियोगिता भोली २८ देखि ३० जेठसम्म काठमाडौंको दशरथ रंगशालामा आयोजना हुँदैछ ।