आत्माराम राजवंशी,
कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय, गौरीगञ्ज गाउँपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमले सन् २०८१/०८२ मा गौरीगञ्जमा उल्लेखनीय प्रगति गरेको छ । ५८ लाख तीन हजार दुई सय ७५ रुपैयाँको यो कार्यक्रमले गाउँपालिकामा नसोचेको परिवर्तन ल्याएको हो ।
कार्यक्रमको कुल बजेटमा सामाजिक विकास मन्त्रालय, गौरीगञ्ज गाउँपालिका र करुणा फाउण्डेशनले समान १८ लाख ३४ हजार चार सय २५ रुपैयाँको लगानी गरेका छन् । करुणा फाउण्डेशनका संयोजक सुशिल राजभरका अनुसार कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, उपचार, पुनःस्र्थापना, सीप विकासदेखि सामाजिक पुनः एकीकरणको समग्र चक्र समेटेको छ ।
समुदायमै सेवा, शिविर मार्फत पहिचान
सो कार्यक्रम मार्फत अपाङ्गता भएकाहरुको पहिचान गर्ने क्रममा गाउँपालिकाका छ वटै वडामा घर–घरमा पुगेर सात सय ५३ जना अपाङ्गता भएका व्यक्तिको प्रारम्भिक विवरण संकलन गरिएको थियो । त्यसपछि आयोजित स्वास्थ्य शिविरमा पाँच सय ४७ जनाको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले जानकारी दिइन् । गत मंसिरमा सञ्चालन गरिएको जाँचमा शारीरिक, दृष्टि, बौद्धिक, श्रवण, बोलाई, अटिजम, मनोसामाजिक, हेमोफिलिया, बहु अपाङ्गता लगायतका समस्याहरू पहिचान गरिएका थिए । शिविरबाट चार सय २३ जनाको आवश्यकता पहिचान गरेर एक सय २४ जनालाई नयाँ परिचयपत्र वितरण र १० जनाको परिचयपत्र नवीकरण गरिएको थियो गौरीगञ्ज गाउँपालिकाले जनाएको छ ।
भिमादेवी घिमिरेको जीवनको पुनर्जागरण
गौरीगञ्ज गाउँपालिका–२ की ४९ वर्षीया भिमादेवी घिमिरेको जीवन लामो समयदेखि शारीरिक पीडासँगै अन्धकारमा बितिरहेको थियो । अपाङ्गता भएकी भिमादेवी हिँडडुल गर्न सक्दिनथिन् । आफ्नै दैनिक कामकाज गर्न सक्दिनथिन् । ‘खुट्टा सिधा पार्न निकै कठिन हुन्थ्यो’ –उनले आफ्नो विगत सम्झिँदै भनिन् । सामान्य परिवारकी सदस्य भए पनि अपाङ्गताकै कारण उनको जीवन असामान्य र संघषपूर्ण थियो । आमासँगै बस्दै आएकी उनी भाउजुको स्याहार–सुसारमा निर्भर थिइन् । ‘न म घरको आँगन नाघ्न सक्थेँ, न त गाउँको दृश्य हेर्न पाउँथेँ’–उनले भनिन्– ‘ती दिनहरु निकै पीडादायी थिए । यसरी दैनिकीमा परिवर्तन आउला भन्ने सोचेकैै थिइनँ ।’
जब अपाङ्गता रोकथाम तथा पुनःस्थापनाको शिविर कार्यक्रम गाउँमा आयो तब उनको जीवनमा नसोेचेको परिवर्तन आयो । शिविर मार्फत उनको अवस्था पहिचान भयो । शिविरमा गरिएको स्वास्थ्य परीक्षण र विस्तृत मूल्याङ्कनपछि उनलाई सी.पी. ह्वीलचेयरको आवश्यकता देखियो । साइज मापन गरी गत मंसिरमा उपयुक्त ह्वीलचेयर प्रदान गरियो । त्यही दिनदेखि भिमादेवीको अनुहारमा नयाँ जीवनको आशा पलायो । ‘मलाई त्यो केबल एउटा उपकरणमात्रै होइन, नयाँ जीवन पाएको अनुभव भयो’ –उनले भनिन् । ह्वीलचेयर पाएपछि अहिले उनी सहयोगीको मद्दतमा हिँडडुल गर्न सक्छिन्, आफ्ना खुट्टा सिधा राख्न सक्छिन् र वरिपरिका दृश्यहरू नियाल्न सक्छिन् । उनले भनिन्– ‘हिजो म मृत्यु सरहको जीवन बाँचिरहेकी थिएँ, अब त भगवान भेटे जस्तै भएको छ ।’
यो परिवर्तन केबल शारीरिक राहत मात्रै होइन, आत्मबल र आशाको पुनर्जन्म पनि हो । कुराकानीका क्रममा उनका आँखाबाट आँशु बगिरहेका थिए । तर त्यसमा विगतको पीडा मात्र थिएन, भविष्यप्रतिको आशा पनि मिसिएको थियो । उनले कोशी प्रदेश सरकार, स्थानीय सरकार गौरीगञ्ज गाउँपालिका तथा करुणा फाउण्डेशन नेपाललाई धन्यवाद दिँदै भनिन्– ‘जीवनमा मैले धेरै कुराहरू भोगेँ, तर यो माया र सहयोग कहिल्यै बिर्सनेछैन ।’
भिमादेवीको जीवनमा आएको यो परिवर्तनले सानोतिनो सहयोगले पनि कसैको जीवनमा कति ठूलो परिवर्तन ल्याउन सक्दोरहेछ भन्ने उदाहरण प्रस्तुत गर्छ । उनले प्राप्त गरेको ह्वीलचेयरसँगै उनको आत्मविश्वास पनि फर्किएको छ । अब उनी केबल अर्काको मुखापेक्षी भएर मात्रै होइन आत्मसम्मानका साथ बाँच्न थालेकी छन् । यही हो साँचो पुनःस्थापना हो, जहाँ उपकरण मात्र होइन, मान्छेको आत्मबल उठ्छ र केही गर्न सक्ने आशा पलाउँछ । भिमादेवीको सफलता र आत्मविश्वास सबैका लागि प्रेरणाको स्रोत पनि हो, जहाँ दुःख र निराशाबीच पनि आशाको उज्यालो बल्न सक्छ । भिमादेवी अब त्यो उज्यालोको यात्रामा छन् – जसको सहयोगी बनेका छन् राज्य, समाज र करुणाको साझा प्रयास ।
अप्सरा राउतको संघर्ष र पुनर्जन्म
अप्सरा राउत, गौरादह नगरपालिका–९, बैगुनधुरा निवासी ३२ वर्षीया एकल महिला हुन् । शारीरिक अपाङ्गता भएकी अप्सराको जीवन लामो समयसम्म संघर्ष र निराशामा डुबेको थियो । ‘सेतो कार्ड’ पाउनु भनेको राज्यले दिएको एउटा प्रमाणपत्र मात्र थियो, जसले अप्सरालाई उनी अपाङ्ग छिन् भनेर चिनायो, तर उनको आत्मबल र अस्तित्व चिनाउन सकेको थिएन । उनी अपाङ्ग भए पनि परिवारको जिम्मेवारी धान्नकै लागि इँटाभट्टामा कठोर परिश्रम गर्न बाध्य थिइन् ।
एकल महिला भएकै कारण थपिएको बोझ, एउटी आमाको जिम्मेवारी अनि घर खर्च धान्न इँट्टाभट्टाको कठोर श्रमले उनको जीवनलाई थप जटिल बनाउँदै लगे । अपाङ्गता भएका कारण ‘इज्जतिलो’ काम पाउने आशामा पनि तुषारापात भयो । आत्मबल गुमाउँदै गइन् उनी । ‘समाजका मानिसहरूले व्यवहारमा गरेको विभेदले मनमा गहिरो चोट पु¥याउँथ्यो’–उनले विगत सम्झँदै भनिन्– ‘म केही गर्न सक्दिन जस्तो लाग्थ्यो ।’
तर समयले नयाँ मोड लियो, जब उनले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमसँग जोडिने मौका पाइन् । करुणा फाउन्डेसन नेपाल र गौरादह नगरपालिका एवम् कोशी प्रदेश सरकार मिलेर सञ्चालन गरेको यस कार्यक्रममा सहभागी भएपछि अप्सराको जीवनमा उज्यालोको किरण देखाप¥यो । उनी मिलिजुली समूहमा आवद्ध भइन्, इएम (सशक्तिकरण मोडेल)मा सदस्य बनिन् । नेतृत्वका लागि प्रयत्न गरिन्, सिबिआरएफ पदमा आवेदन दिइन्, उक्त पद प्राप्त गर्न सफल नभए पनि कार्यक्रममा आबद्ध भएर निरन्तर सिक्ने र अघि बढ्ने क्रम जारी राखिन् ।
कार्यक्रमले आयोजना गरेका क्षमता विकास तालिमहरूमा सक्रिय सहभागिता जनाउँदै उनले आफूभित्रको सम्भावनालाई चिनिन् । ‘एमएचए (मेन्टल हेल्थ एण्ड एड्भोकेसी) कार्यक्रम अन्तर्गत मानसिक स्वास्थ्यसँग जोडिएका गतिविधिहरूमा लागेपछि आफूबाट गुम्न लागेको आत्मविश्वास फिर्ता ल्याएँ’ –उनले भनिन् । यही क्रमले उनलाई अपाङ्गता सहायता सहजकर्ताको रुपमा नियुक्तिको ढोका खोलिदियो । इँट्टाभट्टाको जटिल श्रममा जीवन कटाइरहेकी उनै अप्सरा आज सहजकर्ता बनेकी छन् । गाह्रो शारीरिक कामबाट मुक्त भएकी छन्, आफ्नै समुदायमा सजिलो र सम्मानजनक पेशा अँगाल्न पाएको उनी खुशी र सन्तुष्ट छन् । मानसिकरूपमा सशक्त बनेकी अप्सरालाई अब न त आफ्नो भविष्यप्रति डर छ, न त सामाजिक विभेदप्रति नै ।
‘सहजकर्ता बनेर छोरालाई राम्रो स्कूलमा पढाउन पाउँदा सबैभन्दा खुशी लागेको छ’–उनले भनिन्– ‘घर खर्च चलाउन गाह्रो छैन ।’ अहिले छिमेकी, आफन्त र समाजले पनि उनीप्रतिको दृष्टिकोण फेरेको छ । पहिले हेरविचारको पात्र मानिएकी अप्सरा, अब प्रेरणाको पात्र बनेकी छन् । अप्सरा राउतको जीवनमा आएको परिवर्तनले हरेक बाधा, अड्चनलाई अवसरमा रूपान्तरण गर्न सकिन्छ भन्ने सन्देश दिएको सामाजिक अभियन्ता यादव रिजाल बताउँछन् । उनले पीडालाई शक्तिमा बदलिन र समाजलाई पनि आफू जस्तै परिवर्तनको बाटोमा सोच्न बाध्य पारेको रिजालको भनाइ छ ।
अपाङ्गता रोकथाममा उपचार
यो कार्यक्रम अन्तर्गत २८ दिनसम्मका नवजात शिशुलाई घरमै पुगेर स्वास्थ्यकर्मीले परीक्षण गर्छन् । यदि शारीरिक वा मानसिक असमानता देखिएमा तुरुन्तै उपचारका लागि रेफर गरिन्छ । पछिल्लोपटक २९ दिनदेखि ५ वर्षसम्मका ७ बालबालिकामा अपाङ्गता देखिएपछि उपचार शुरु गरिएको करुणा फाउन्डेशन नेपालका गौरीगञ्ज संयोजक सुशिल राजभरले बताए । उनका अनुसार १० वर्षमुनिका बालबालिकालाई विद्यालयमै स्वास्थ्य परीक्षण गरी ३७ जनालाई आवश्यक स्वास्थ्य सेवामा पठाइएको छ । यसै क्रममा २६ सामुदायिक विद्यालयमा प्रधानाध्यापक र व्यवस्थापन समितिलाई समावेशी शिक्षा तालिम दिइएको छ ।
विद्यालयमा समावेशी शिक्षा र दौंतरी प्रयास
गौरीगञ्ज मावि र खजुरगाछी माविमा अपाङ्गता भएका बालबालिकालाई दौतरी शिक्षामा सहभागी गराइएको छ । विद्यालय जान नसक्ने १० बालबालिकालाई तीन महिनासम्म दिनको डेढ घण्टा स्थानीय शिक्षक मार्फत घरमा आधारित शिक्षा दिइएको महिला तथा बाल विकास शाखा प्रमुख पूजा घिमिरेले बताइन् । उनले भनिन्– ‘समावेशी शिक्षाले बालबालिकाको आत्मबल मात्र होइन, सम्पूर्ण कक्षाको मनोबल बढाएको छ ।’
मिलिजुली समूह र सामुहिक उठान
छ वटै वडामा अपाङ्गता भएका व्यक्तिहरू र उनका परिवारहरू मिलेर मिलिजुली समूह गठन गरेका छन् । प्रत्येक समूहमा १३ देखि २५ जना सदस्य छन् । मासिक बैठक, समस्या पहिचान र बिऊ पूँजीको परिचालन मार्फत सहकार्य प्रवद्र्धन गरिएको छ । ५० हजार रुपैयाँ बिऊ पूँजीबाट बचत गर्ने बानी विकास, आपसी सहयोग, आयआर्जन र सानो व्यवसाय सञ्चालन हुन थालेको छ । भविष्यमा बहुउद्देश्यीय सहकारी संस्था निर्माण गरी यसलाई पालिकास्तरीय अपाङ्ग सहायता संघको अभिभावकत्वमा लैजाने योजना रहेको राजभरले बताए ।
समूहले सञ्चालन गर्न सक्ने सम्भावित व्यवसायहरूमा तरकारी खेती, कुखुरापालन, सिपमूलक तालिमपछि सिंगार तथा सिलाइ–कटाइ सेवा, मोबाइल मर्मत पसल, किराना तथा खाजाघर, मोटरसाइकल धुने केन्द्र, गाईभैंसी पालन, मौरीपालन, धागो बुनाई, फोहोर सङ्कलन तथा पुनः प्रयोग केन्द्र लगायतका क्षेत्रमा व्यवसाय गर्न सकिने करुणा फाउण्डेशन नेपालका गौरीगञ्ज संयोजक सुशिल राजभरले बताए । यस्ता व्यवसायले आत्मनिर्भरता बढाउनुका साथै समुदायमा अपाङ्गता भएका व्यक्तिहरूप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पु¥याउने उनी बताउँछन् ।
सीपमूलक तालिम र स्वरोजगार
शिविरमा चिनिएका अटिजम र मस्तिष्क पक्षघात भएका ३८ जनालाई स्व–हेरचाह तालिम दिइएको छ । यस बाहेक व्यवसायिक प्रवद्र्धनका लागि दुई जना लाभग्राहीलाई फ्रिज प्रदान गरिएको छ । सीपमूलक र व्यवसायिक तालिम लिएपछि अपाङ्गता भएका व्यक्तिहरू आय आर्जनमा संलग्न हुन थालेका छन् ।
नास्ता तथा चिसो पेय पदार्थ व्यवसाय गर्दै आएका गौरीगञ्ज गाउँपालिका वार्ड नं. ६ घर भएका रञ्जित राजवंशी शारीरिक अपाङ्गता भएका व्यक्ति हुन् । उनलाई यही बिऊ पूँजी अन्तर्गत ५० हजार दिइएको थियो । उनी हाल उक्त व्यवसायबाट राम्रै आम्दानी गरिरहेका छन् । उनले मासिक १५/२० हजार रुपैयाँ आम्दानी गरेको बताए । राजवंशी भन्छन्– ‘पसलबाट राम्रै आम्दानी भइरहेको छ । यसको लागि करुणा फाउण्डेशन, स्थानीय सरकार र प्रदेश सरकारलाई धन्यवाद ।’ उनलाई कोल्ड ड्रिङ्स लगायत चिसो पेय पदार्थ राख्न फ्रिज किन्न रकम सहयोग समेत गरेको थियो । साना–साना व्यवसाय जस्तैः चिया पसल, किराना पसल, चटपटे व्यवसाय लयागत सीपमूलक व्यवसायमा संस्थाले लगानी गरेर उनीहरुको आयआर्जनमा मद्दत गर्न सकिने संयोजक राजभरको भनाइ छ ।
नेतृत्वको दृष्टिकोण
गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमलाई पालिकाको सामाजिक न्याय अभियानको मूल आधार मान्छिन् । उनले पालिकाका विभिन्न वडामा शिविर निरीक्षण गर्दै समुदायमा आएको सामाजिक रुपान्तरणको प्रत्यक्ष अनुभव समेत लिएकी छन् । ‘अपाङ्गता भएका नागरिकहरूलाई सहानुभूतिका दृष्टिले होइन, सम्भावनाको दृष्टिले हेर्नुपर्छ’ –उनले भनिन्– ‘उनीहरूलाई सामथ्र्य प्रदान गर्नु भनेको हाम्रो समाजलाई समृद्ध बनाउनु हो । यो कार्यक्रमले नदेखिएको समस्या उजागर ग¥यो, नबोलिएको आवाजलाई मुखरित बनायो ।’
उनले हालै वडा नं. ६ मा भएको स्वास्थ्य शिविरमा एक बालकलाई दृष्टि सम्बन्धी समस्या पहिचान भई उपचार शुरु गरिएको घटना उदाहरण दिँदै भनिन्– ‘शिविरमा एक आमाले रोएर भनिन्– ‘मेरो छोरा दृष्टिविहीन हो भनेर थाहा पाएको थिइनँ, अब उपचार गर्न सकिन्छ भन्ने आशा पलायो ।’ यस्ता परिवर्तनले नै हामीलाई हिम्मत दिन्छ ।’ अध्यक्ष राजवंशीले आगामी वर्षहरूमा कार्यक्रमलाई अझ सशक्त बनाउँदै समावेशी शिक्षा, स्वास्थ्य पहुँच, र सीप विकासमा थप बजेट विनियोजन गर्ने बताइन् ।
अपाड्डता रोकथाम तथा पुनःस्थापना कार्यक्रमः कोशी प्रदेशका १३७ पालिकामा प्रभावकारी कार्यान्वयन
कोशी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमलाई प्रभावकारी रूपमा विस्तार गर्दै आएको छ । मन्त्रालयका सहायक सचिव तथा महाशाखा प्रमुख दुर्गा भण्डारी बरालका अनुसार हाल यो कार्यक्रम कोशी प्रदेशका १४ वटै जिल्लाका झापा, तेह्रथुम, ताप्लेजुङ, ओखलढुङ्गा, खोटाङ, उदयपुर र सोलुखुम्बु जिल्लाका एक सय ३७ वटा स्थानीय तहमा सञ्चालनमा छन् । यस कार्यक्रमको प्रभाव विस्तार हुँदै जाँदा ग्रामीण भेगका धेरै अपाङ्गता भएका व्यक्ति तथा जोखिम समूहहरू लाभान्वित भइरहेको भण्डारीको भनाइ छ ।
‘अपाङ्गता रोकथाम र पुनःस्थापनाको काम केवल चिकित्सकीय उपचारमा सीमित छैन, यो एक समग्र सामाजिक रूपान्तरणको अभियान हो’ –बरालले भनिन्,– ‘यस कार्यक्रम मार्फत जोखिममा परेका नवजात शिशुहरू, अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूका परिवारलाई आवश्यक परामर्श, सहजीकरण, शिक्षा र सेवामार्फत समावेशी समाज निर्माणमा योगदान पुगिरहेको छ ।’
आर्थिक वर्ष २०८१÷०८२ का लागि मन्त्रालयले १४ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेट मुख्यतः सेवाहरुको पहुँच विस्तार, स्थानीय जनशक्तिको तालिम, घरमै पुगेर गरिने हस्तक्षेप, अपाङ्गता पहिचान तथा आवश्यक सहायतामा केन्द्रित गरिएको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार, हाल कोशी प्रदेशमा ७५ हजार एक सय २१ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । ती मध्ये धेरैजसो ग्रामीण तथा दुर्गम क्षेत्रका हुन्, जहाँ समयमै पहिचान र हस्तक्षेप हुन नसक्दा अवस्था जटिल बन्ने गरेको पाइन्छ ।
बरालका अनुसार, कार्यक्रमले नजिकैको पालिकामै सेवा उपलब्ध गराएपछि अभिभावकहरूले समयमै सन्तानको अवस्थाबारे बुझ्न थालेका छन् र धेरै अवस्थामा सुधार सम्भव भएको छ । ‘पहिला अभिभावकहरू दोष, लाज र भेदभावका कारण अघि आउँदैनथे, अहिले उनीहरू सचेत भएका छन् । यसले सामाजिक दृष्टिकोणमै सकारात्मक परिवर्तन ल्याइरहेको छ’ –उनले थपिन् । यो कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको पुनःस्थापना मात्र होइन, समाजमा उनीहरूलाई सम्मान साथ आत्मनिर्भर जीवनयापन गर्न सक्ने वातावरण निर्माणमा टेवा पु¥याइरहेको देखिन्छ ।
प्रणालीगत सुधार र दीर्घकालीन सोच
कार्यक्रमले अपाङ्गता रोकथाम र पुनःस्थापनाका लागि निम्न सुधार र पहलहरू अघि सारेको छ । नवजात शिशुमा अपाङ्गता पहिचान, फोलिक एसिड चक्कीको प्रभावकारी वितरण नव दम्पतीलाई शुभकामना कार्ड वितरण, स्वास्थ्यकर्मी र विद्यालय शिक्षकलाई तालिम, स्वास्थ्य परीक्षण उपकरण खरिद, विद्यालयस्तरीय स्क्रिनिङ्ग क्याम्प सञ्चालन, अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता, छात्रवृत्ति, स्वास्थ्य बीमा, व्यवसायिक तालिम र सीप विकासमा पहुँच वृद्धि लगायतका कार्यक्रमहरु सञ्चालनमा छन् । गौरीगञ्ज गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई उद्धार होइन, अवसर चाहिएको थियो ।
यो कार्यक्रमले उनीहरूको क्षमता पहिचान ग¥यो, सिप दियो र आत्मनिर्भर बन्न बाटो खोलिदियो । पुनःस्थापना भनेको सहानुभूति होइन, समानताको अभ्यास हो । गौरीगञ्जमा भएको यो प्रयास अन्य पालिकाहरूका लागि प्रेरणा बन्न सक्नेछ । झापा जिल्लाका १५ वटै पालिकासँगै कोशी प्रदेशको विभिन्न स्थानीय तहरुमा सञ्चालनमा रहेको यो कार्यक्रमले अब प्रदेशमै अपाङ्गता मैत्री शासन प्रणालीको अभ्यासलाई संस्थागत गर्दै लगेको छ ।