पहिलो महिला राष्ट्रपतिलाई भेट्दा

0
47

सधैँ झैं म बिहान उठेँ । समय हेर्दा पाँच बजेको रहेछ । आज शनिबार रहेको थाहा पाएँ र फेरि दुई घण्टा सुत्छु भनी सात बजेको अलराम लगाएर फेरि सुतेँ । ठिक सात बजे उठेर मुख धोएर शुक्रबारको गृहकार्य गर्न लागेँ । गृहकार्य गर्दा गर्दै पौने आठ भएको रहेछ । बुबाले हिजो भनेको कुरा झट्ट स्मरण भयो ।

नेपालकै पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी सिद्धार्थ होटल ग्रान्ड सिटीमा आउनुभएको थियो रे । बुबाले सम्मान जनाउँदै तस्वीरहरू खिच्नुभएको रहेछ । मलाई देखाउनुभएको थियो । आमाले पनि ती तस्वीरहरू हेरेर केही प्रश्नहरू गर्नुभयो । आमा र बुबाको बोलचाल भयो । एकछिनपछि तल्लो कोठामा रियाज गर्दै गरेकी मेरी बहिनी विद्या भण्डारीज्यूको कुरा सुनेर खुरुरु कुदेर आइपुगी । बुबालाई उहाँको बारेमा केही प्रश्नहरू गरेपश्चात् बुबाले हामीलाई भोलि तिमीहरूलाई विद्यादेवी भण्डारीज्यूसँग केही गफगाफ गर्न मैले उहाँसँग समय मागेको छु भन्नुभयो । हामी यो कुरा सुनेर अत्यन्तै खुशी भयौँ ।

के कुरा गर्ने होला उहाँसँग भनी मनमा अत्यन्तै खुशीको भाव भएको थियो । यिनै कुरा सम्झेपश्चात भाइ उठेको थाहा पाएँ र भाइ भएको कोठामा गएँ । भाइ हेर भन्नुभयो र आफ्नो नित्यकर्म गर्न लाग्नुभयो । बुबा पनि नित्यकर्म गरेर आइसक्नुभएको रहेछ । मैले बुबालाई विद्यादेवी भण्डारीसँग एक पल बिताउन जाने कुरा सम्झाएँ । बुबाले पनि सम्झेपछि बहिनी र मलाई तयार हुन लाउनुभयो । बहिनी त नजाने भन्दै थिइ, तर त्यहाँ पुगेर उसले प्राप्त गर्ने कुरा बुबाले उसलाई बताएपछि त्यहाँ जान राजी भई । एकछिनपछि बुबा म र बहिनी तिनै जना तयार भयौँ ।

साढे आठ बजेतिर हामी त्यहाँ पुग्यौँ । स्थान सिद्धार्थ होटल ग्रान्ड सिटी रहेछ । त्यस विशाल ठाउँलाई देखेर म र बहिनी अचम्मित भयौँ । बाहिर हेर्दा बगैँचा राम्रो थियो । भवनभित्र छिर्ने ढोका अटोमेटिक रहेछ । त्यो देखेर कुनै मान्छे आएको कुरा त्यसले कसरी पत्ता लगाउँछ भन्दै मनमा प्रश्न उमार्दै थिएँ दोस्रो तल्लामा पुगिएछ । त्यहाँ विशिष्ट व्यक्तित्वहरू आफ्नो बिहानी भोजन लिँदै हुनुहुँदोरहेछ । बुबाले त्यहाँ कोशी प्रदेशको पहिलो मुख्यमन्त्री शेरधन राईसँग पनि भेटाउनुभयो । त्यहाँ नास्ता गर्दै हुनुहुँदोरहेछ । यहाँसँग देवराज घिमिरेज्यू कि पत्नी टिका घिमिरे तथा अन्य अतिथिजन पनि अनन्त हुनुहुँदोरहेछ। त्यहाँ मैले झापा गाउँपालिका तथा कोशी प्रदेशकै पहिलो महिला अध्यक्ष मेनुका पोखरेलज्यूसँग पनि भेट गरेँ । बुबाले यस्ता प्रेरणादायी महिलाहरूबाट आफूले सिक्नुपर्ने कुराहरू टिपोट गर्नु भन्नुभयो । मैले पनि एकछिन सोचेँ । जीवनमा अनगन्ति कठिन परिस्थिति आएपश्चात् पनि आफ्नो लक्ष्य नबिर्सी अघि बड्नुपर्ने रहेछ ।

सँधै कर्म गर्नु, त्यसको फल आफैँ अघि आउने प्रेरणा मैले प्राप्त गरेँ । त्यसपछि हामी ले भोजन गरेर सम्माननीयज्यूहरूसँग भेट ग¥यौँ । होटेलको दोस्रो तल्लाबाट तेस्रो, चौथो गर्दै पाँचौं तलामा पुग्यौँ । त्यहाँ रहेको हलमा केही कार्यक्रम हुँदै रहेछ । त्यसको विपरीतको हलवेमा केही अतिथिजन हुनुहुँदोरहेछ । बुबाले उहाँहरूसँग चिनजान गर्नुभयो । बाहिर एकछिन बस्दा त्यही होटेलको साहु आउनुभएछ । बुबाले उहाँसँग पनि चिनजान गर्नुभयो । बहिनी र म एकछिन यताउति डुल्यौँ । त्यहाँ विद्यादेवी भण्डारीज्यूको लागि एक उपयुक्त रूम बुक हुँदै रहेछ । हामी त्यहाँभित्र गयौँ । बुवा पनि एकछिनमा आउनुभयो ।
त्यहाँ मैले सम्माननीयज्यूको उअय सँग पनि भेट गरेँ। उहाँ साह्रै मिलनसार हुनुहुँदोरहेछ । त्यसपछि बुबाले आफ्नो पहिलै देखेको साथी मनोज दाहालसँग भेटाउनुभयो । उहाँ पनि लेखक हुनुहुँदोरहेछ । उहाँसँग भेट गरेर मलाई साह्रै खुशी लाग्यो । उहाँले मलाई सिकाइका कार्यहरूमा सधैँ अघि बढ्नु भन्नुभयो । केहीबेर गफ गरेपछि अन्य आदरणीय व्यक्तिहरू आउनुभयो । हामीले सम्माननीयज्यूसँग भेट गर्ने समय आएको रहेछ । हामीलाई बाहिर बोलाउनुभयो र सम्माननीयज्यूको कोठामा लग्नुभयो । बहिनी र म विद्यादेवी भण्डारीज्यूलाई देखेर अत्यन्तै खुसी भयौँ । बहिनी र मैले केही तस्वीरहरू तथा भिडियोहरू बनायौं । मैले सम्माननीयज्यूलाई मेरा चाहनाहरू र मेरा रुचीहरू बताएँ । उहाँले मलाई तथा बहिनीलाई आशीर्वाद दिनुभयो । मैले सम्माननीयज्यूलाई आफ्नो प्रेरणा उहाँ नै हो भनी बताएँ । तपाई कसरी त्यस्तो उच्च स्थानमा पुग्नुभयो भने मैले सोधेँवापत उहाँले मलाई समयक्रममा सङ्घर्ष गर्दै जानुपर्छ त्यसको लागि काम गर्दै जानुपर्छ काम भनी भन्नुभयो । मलाई यो कुरा साह्रै मनप¥यो ।

हामी बाहिर निक्लियौं । त्यो एक पल हाम्रो लागि अत्यन्त अमूल्य थियो । त्यसपश्चात् उहाँको साथीसँग एकैछिन गफ गरेर केही व्यक्तिहरूसँग तस्वीर खिचाई होटेलबाट निक्लने तरखरमा लाग्नुभयो । हामी त्यहाँबाट बिदा लिई घर आइपुग्यौँ । गुरुले संगीतालयमा निश्चित समयमा आइपुग्नु भन्नुभएको कुरा याद आयो । म संगीतालय जान तयार हुँदै थिएँ । त्यतिबेला मेरो मनमा धेरै प्रश्नहरू खेलिरहेका थिए । एकजना महिला त्यो पनि विधवा । नेपाल जस्तो देशमा कसरी त्यस्तो सर्वोच्च पदमा पुग्न सक्षम हुनुभयो होला । कस्ता कस्ता चुनौती र सङ्घर्षहरू गर्नुप¥यो होला । जीवनमा सङ्घर्ष जटिल ढङ्गले गर्नुभएको होला र त त्यस्तो स्थानमा पुग्न सफल हुनुभयो । म आफैँले आफैलाई प्रेरणा दिन थालेँ ।

संगीतालय जाने तरखरमा म र बहिनी लाग्यौँ । त्यहाँ आज मासिक कार्यक्रमको लागि केही गीतको चल्दै रहेछ । एकछिनपछि गुरुले मलाई राग बजाउन लगाउनुभयो । राग गाए पश्चात बुबाले देवी माध्यमिक विद्यालयमा कोशी प्रदेश स्तरीय विज्ञान प्रदर्शनी को आयोजना गरिएको कुरा बताउनुभयो । त्यहाँ नै भण्डारीज्यू आउनुहुनेरहेछ । बुबाले गुरुसँग कुरा गरी संगीतालयका केही विद्यार्थीहरूलाई त्यस कार्यक्रममा लाने योजना बनाउनुभयो । सबै त्यस विज्ञान प्रदर्शन प्रतियोगितामा गयौँ । धेरै विद्यार्थीहरू आफूले बनाएका वैज्ञानिक यन्त्र तथा मानवीय जीवनमा आधारित र उपयोगी वस्तुहरू को ज्ञान तथा मोडल लिएर आउनुभएको रहेछ । कसैले टेलिसकोप, रेन वाटर हार्बेस्टिङ कसैले बिजुलीमा प्रयोग हुने यन्त्रहरूको सट सर्किट बाट बच्ने उपाय, कसैले मानवीय शरीरको बारेमा तथा अन्य सामग्रीहरू ल्याउनुभएको थियो ।

मलाई चाहिँ सबैभन्दा उपयुक्त स्मार्ट की र साइबर सिटी लाग्यो । स्मार्ट की मार्फत हामीले काहीँ कतै आफ्नो गाडीको चाबी बिस्र्यौं भने गाडीमा लागेको एक ब्लुतुथ डिभाइस सँग आफ्नो मोबाइल कनेक्ट गरी पासवर्ड हालेर गाडी स्टार्ट गर्न सजिलै सकिने रहेछ । साइबर सिटी प्रोजेक्टमा चाहिँ एक विकसित नगरको नमूना तयार गरी साइबर सिटीमा आवश्यक कुराहरु बनाउनुभएको रहेछ । त्यस नगरमा पस्नुअघि एक फिंगर प्रिन्ट टेस्टर डिभाइस त्यहाँको गेटमा लाइको रहेछ । नचिनेका मानिसलाई नगरभित्र पस्न नदिने सिस्टम रहेछ । कुनै नचिनेको व्यक्तिले त्यस नगरभित्र प्रस्थान गर्न खोजेमा कतिको फिंगर प्रिन्ट त्यहाँको सिस्टमले सेभ पनि गर्ने रहेछ । तिनै कुराहरुले मलाई त्यस स्मार्ट सिटी उपयुक्त लागेको हो । त्यसपश्चात हामी विद्यालयको प्राङ्गणबाट बिदा लिई संगीतालयमा फर्कियौँ । गीत गायौँ र फेरि घर फर्कियौँ । यस दिन मेरा लागि साह्रै उपयुक्त रहेको छ ।

मलाई फेरि सम्माननीयज्यूले भएका ती शब्दहरूको याद आयो। समयमै सङ्घर्ष गर्दै जानुपर्छ समय नभएको बेला जति जे गरेर पनि गर्छुभन्दा कामको फल त्यति राम्रो नहुँदोरहेछ । सबै कार्यहरूको एक उपयुक्त समय हुन्छ । त्यस कार्यलाई समयमै सके अति उत्तम हुने रहेछ । आफूले गर्दा नहुने जस्तो लागे पनि त्यस कार्यलाई विश्वासका साथ परिश्रम गरी पूरा गरे असम्भव पनि सम्भव हुने रहेछ । भविष्यका लागि र उपयुक्त कार्य गर्नुपर्ने रहेछ । यी सबै कुराहरु मैले मेरी आमालाई घर आएर सुनाए । आमा धेरै खुशी हुनुभयो आमालाई बहिनी र मैले ती तस्वीरहरू पनि देखायौँ । आजको दिन म जिन्दगी भर बिर्सने छुइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here