भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती

0
14

भोजपुर,

भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती गरिएको छ । प्रदेश सरकारबाट प्राप्त रु सात लाख र किसानसँगको साझेदारीमा रामप्रसाद राई गाउँपालिकामा कफीखेती सुरु गरिएको हो ।

नमूना कफीखेती विस्तार गर्ने लक्ष्यले गुराँस सहकारी संस्थामा आबद्ध आठ जना कृषकहरुको समूहले दुई हजार दुई सय बिरुवा रोपेर कफीखेती सुरु गरेको वडा नं ८ का अध्यक्ष बाचकुमार राईले जानकारी दिनुभयो । यो क्षेत्र कफीखेतीका लागि उपयुक्त भूगोल रहेकोले वडाको पहलमा बजेट माग गरी कफीखेती प्रवर्द्धन तथा विस्तार भइरहेको वडाध्यक्ष राईले बताउनुभयो ।

वडाध्यक्ष राईले भन्नुभयो, “खोक्सिक क्षेत्र कफीखेतीका लागि उपयुक्त भूगोल मानिन्छ । कृषकलाई कफीखेतीका माध्यमबाट आयआर्जनमा जोड्न यो कार्यक्रमले टेवा पुग्ने विश्वास छ ।”

विगतमा सामान्य रुपमा कफीखेती गरिरहेको भए पनि यो कार्यक्रमले बृहत रुपमा खेती विस्तारमा टेवा पुगेको गुराँस सहकारी संस्थाका उपाध्यक्ष मनोज राईले बताउनुभयो ।

“हाम्रो क्षेत्रमा सामन्य रुपमा कफीखेती गरिरहेका थियौँ”, उहाँले भन्नुभयो, “धेरै मात्रामा विस्तार गर्ने सोच भए पनि आर्थिक अभावमा गर्न सकिएको थिएन । कार्यक्रम सञ्चालन भएपछि हामीलाई खेती विस्तारको लागि हौसला मिलेको छ ।”

रामप्रसाद राई गाउँपालिकासँगै हतुवागढी गाउँपालिकाको सिन्द्राङ, होम्ताङ, लुङ्गिन, लुम्थुङसँगै आमचोक गाउँपालिकालगायत क्षेत्रका किसानहरुले कफीखेती गरिरहेका छन् । यहाँका किसानले उत्पादन गरेको कफी, धरान, इटहरी, विराटनगर काठमाडाँै हुँदै जापान, कोरियासम्म निर्यात हुने गरेको कफी व्यवसायी सुनिल श्रेष्ठले बताउनुभयो ।

अर्गानिक (जैविक) कफीको विदेशी बजारमासमेत माग रहेको उहाँको भनाइ छ । भोजपुरमा उत्पादन भएको कफी सङ्कलन गरेर बाहिरका बजारमा आफूले बिक्री गर्दै आएको श्रेष्ठले जानकारी दिनुभयो । कफीले बाह्य बजारमा राम्रो मुल्य पाउन थालेपछि यहाँका किसान यसको खेतीतर्फ आकर्षित भएका हुन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here