विनोद सापकोटा
झापा,
मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–१ स्थित हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज खोलामा खस्दा ६ जना मजदुर घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार घाइते हुनेमा बारा सिमरा–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी, २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी छन्।
रूपलाल, राजन, राकेश र भुलेश्वरको अवस्था गम्भीर रहेको छ। तीमध्ये राकेशलाई थप उपचारका लागि झापातर्फ रेफर गरिएको छ। प्रकाश र अभिषेकको अवस्था भने मध्यम छ। सबै घाइतेलाई सुरुमा जिल्ला अस्पताल फिदिम लगिएको थियो।
फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले बेलिब्रिजको निर्माण कार्य चलिरहेका बेला अचानक खस्दा मानविय क्षति भएको पुष्टि गरे। उनका अनुसार पुल निर्माणका लागि करिब ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। काफ्लेले भने, “पुलको काम अन्तिम चरणमा थियो, तर आकस्मिक रूपमा दुर्घटना भयो। घटनाको यथार्थ पत्ता लगाउन प्राविधिक टोलीलाई खटाइएको छ।”
यो बेलिब्रिज २०८० साल असार २ गतेको बाढीले पुरानो पक्की पुल बगाएपछि बनाइएको हो। तर २०८१ असोज १२ मा बनाइएको पहिलो बेलिब्रिज पुनः बाढीले बगाएपछि अहिले नयाँ मोडुलर बेलिब्रिज निर्माण भइरहेका बेला पुनः दुर्घटना भएको हो।
पुल किन र कसरी खस्यो भन्ने विषयमा अझै स्पष्ट नभए पनि प्राविधिक कारण शंका गरिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। नेपाल र भारतका प्राविधिकहरूले यसअघि पनि पुलको अनुगमन गरिसकेको जनाइएको छ।