सञ्चार क्षेत्रमा सरकारी नियन्त्रण त्याज्य

0
20

केही समय अघिदेखि वरिष्ठ टेलिभिजन पत्रकार दिलभूषण पाठक लगायतका सञ्चारकर्मीलाई राज्यको तर्फबाट हस्तक्षेप गरिएका समाचार सार्वजनिक भएका छन् । यो आरोप फगत आरोप नभएर गम्भीर विषय हो । सञ्चार क्षेत्रले समाजका सत्य र यथार्थ छोपिन दिँदैन । सूचनालाई तोडमरोड गर्ने, उपल्लो स्तरका शक्तिशालीका पक्षमा बनावटी समाचार बनाउने, तस्कर र घरानियाका गलत कुरा ढाकछोप गर्न कुतर्क गर्ने प्रवृत्ति पीत पत्रकारितामा पर्दछ । यस्ता समाचारले जनता र सर्वसाधारणको पत्रकारिताप्रतिको विश्वासमा कुठाराघात हुन्छ र कुनै बखत सही र सत्य समाचार दिँदा पनि अविश्वास गरिन्छ । हरेक मानिस र वस्तुको स्वधर्म हुन्छ । आफ्नो धर्म छोड्ने हो भने धर्मच्युत, कर्तव्यच्युत हुन्छ । यो कुरा सञ्चार क्षेत्रमा पनि लागू हुन्छ । सञ्चारकर्मीले समाज र राष्ट्रको मातहतमा आफ्नो स्वार्थ राखेका दिन सबै कुरा सच्चिने बाटोमा लाग्छ । सञ्चार क्षेत्रलाई पीत पत्रकारिताबाट मुक्त गरिएको दिनबाट राज्यका अन्य निकाय ठीक मार्गमा लाग्छन् । सञ्चार क्षेत्रको मुलुक निर्माणका लागि अति ठूलो भूमिका हुने कुरा आत्मसात गरेमा मात्र पत्रकारिताले ठीक दिशा पक्रन सक्छ ।

नेपालको संविधान २०७२ जारी भएपछि नेपाल संघीय व्यवस्थामा प्रवेश गरेको छ, तीन तहका सरकार अस्तित्वमा आएका छन् । हरेक सरकारका प्रत्यक्ष वा परोक्ष भए पनि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका गरी ३ वटा अङ्ग रहेका छन् । राज्यका यी तीन राज्यका अङ्गहरुले सन्तुलन र नियन्त्रण (चेक एण्ड ब्यालेन्स)को कार्य गरिरहेका हुन्छन् । तर, सँधै आशा गरिए झैं तिनीहरूले आफ्नो भूमिका कानूनतः निष्पक्ष रूपमा पूरा नगर्न सक्छन् । आ–आफ्ना कमजोरीका कारण नियन्त्रण नहुन सक्छ । त्यतिबेला जनताको आशा मात्र सञ्चार क्षेत्रसँग रहेको हुन्छ । आर्थिक, धार्मिक, राजनीतिक, जातीय, क्षेत्रीय, भाषिक प्रभावबाट मुक्त भएर मात्र सञ्चारकर्मीले साँचो अर्थमा आफ्नो कर्तव्य पुरा गर्न सक्छन् । जहाँ आशा हुन्छ, त्यहाँ त्रास हुन्छ । त्रासको छायाँमा न प्रेस स्वतन्त्रता बाँच्न सक्छ । प्रेस स्वतन्त्रताले मात्रै लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन सहयोग पु¥याउँछ । पत्रकारिताले खबरदारी गर्न सक्नुपर्छ । तर, सञ्चारकर्मी अन्य कतैबाट प्रभावित हुनु भएन । सञ्चार क्षेत्रलाई हस्तक्षेप गर्दा, प्रत्यक्ष वा परोक्ष रूपमा दमन गर्दा समाजका विसङ्गति मासिने नभएर झ्याँगिने हुन्छ । भ्रष्टाचार मौलाउँछ । हरेक कुरामा पैसाको भूमिका प्रमुख बनाउने वा पक्षधरतालाई बढावा दिने हो भने सही र साँचो भन्ने कुरा हराएर जान्छ । यो कुरा नेपाली पत्रकारिताको लागि घातक हो । जसले निष्पक्ष सूचना आमजनतालाई दिन सक्दैन । बहुदलीय शासन व्यवस्थामा दलैपिच्छे पत्रकार विभाजित हुनुलाई सामान्य मानिएला, तर देशभर पत्रकार राजनीतिक दलहरुको छायाँमा रहेका संघ–संगठनभित्र रहेर पत्रकारिता गरिरहेको परिवेशले पक्षधरताको बीजारोपण हुन्छ ।

पत्रकारिता पेशा मर्यादा, जवाफदेहिता र उत्तरदायित्वसहितको पेसा भएको सच्चाइलाई ग्रहण गर्न र तदनुरूप समस्त क्रियाकलाप केन्द्रित गर्ने हो भने समस्या न्यूनीकरण हुन सक्छ । राज्यको चौथो अङ्ग मानिने पत्रकारिताको मूल धर्म राज्यका तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको खबरदारी गर्नु हो । पत्रकारिता क्षेत्रले राज्य सञ्चालकहरुलाई जवाफदेही र पारदर्शी बनाउन प्रेरित गर्नुपर्छ । नागरिक अरूप्रति मर्यादित र जिम्मेवार हुनु, सरकार नागरिकप्रति जिम्मेवार हुनु र यी सबैलाई जिम्मेवार र मर्यादित बनाउन आमसञ्चार सहकर्ता र पहरेदार हुनै पर्दछ । नेपालको संविधान २०७२ ले समेत प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । तसर्थ, सरकारले पनि आफ्नो प्रशंसा नगर्ने र आलोचनात्मक दृष्टिकोण राख्ने सञ्चारकर्मी भए मात्रै आफ्ना कमजोरी थाहा पाएर सच्याउन सकिन्छ र अघि बढ्न सकिन्छ भन्ने बुझ्नुपर्छ । सरकारी निकायले प्रेसलाई नियन्त्रण गर्नु संविधान विरोधी र सर्वथा त्याज्य विषय हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here