बिर्तामोड, बिर्तामोड राउण्ड टेबल २७ ले आयोजना गरेको कर्पोरेट हाउस फुट्सल लिग २०८२ को उपाधि एभरेष्ट बैंक बिर्तामोडले जितेको छ ।
अर्जुनधारा ६ गामस्ता फुट्सल मैदानमा सम्पन्न फाइनल खेलमा उपाधि दाबेदार मानिएको बिर्ता सिटी हस्पिटललाई ४–० गोल अन्तरले पराजित गर्दै एभरेष्ट बैंक बिर्तामोडले उपाधिमाथि कब्जा जमाएको हो ।
उपाधिसँगै एभरेष्ट बैंक बिर्तामोडले नगद रु. ३५ हजार बराबरको नगद ट्रफी तथा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बिर्ता सिटी हस्पिटलले भने दोस्रो स्थान प्राप्त गर्दै आकर्षक ट्रफीमा चित्त बुझाएको छ ।
प्रतियोगितामा बिएण्सी हस्पिटल, कन्काई हस्पिटल लक्ष्मी सनराइज बैंक, एलएनजी इन्स्योरेन्स , सिद्धार्थ बैंक, हिमालय इन्स्योरेन्स , मेची आई हस्पिटल, अजोड इन्स्योरेन्स , बिर्ता सिटी हस्पिटल, एभरेस्ट बैंक गरी १२ वटा प्रतिष्ठित कर्पोरेट हाउसहरूको सहभागिता रहेको थियो।
खेलकुदको माध्यमबाट कर्पोरेट क्षेत्रबीच क्षेत्र विस्तार गर्ने , आपसी सम्बन्धलाई बलियो बनाउने र प्रतियोगिताबाट बचेको रकमले बारदशी गाउँपालिका ३ राजगढस्थित रामनगर आधारभूत विद्यालयलाई सहयोग गर्ने उद्देश्यले च्यारिटी फुट्सल प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका सदस्य दीपक मित्तले जानकारी दिए ।
जसअनुसार पहिलो चरणमा विद्यालयको शौचालय रेनोभेसन र वाटर फिल्टर जडान गरिनेछ । त्यस्तै दोस्रो चरणमा विद्यालयको स्तर उन्नति कक्षा कोठा निर्माण, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला निर्माण गरिने । बिर्तामोड राउण्ड टेबल २७ का अध्यक्ष मनोज गोयलले बताए ।