जथाभावी एन्टीबायोटिकको प्रयोग गर्नु स्वास्थ्यका लागि घातक

0
104

बिर्तामोड ।

जथाभावी रुपमा एन्टीबायोटिकको प्रयोग गर्नु स्वास्थ्यका लागि घातक हुने चिकित्सकले चेतावनी दिएका छन् । नेपालमा पछिल्लो समय चिकित्सकको परामर्शबिना वा स्वास्थ्य जाँच नगरी सोझै औषधि पसलमा गएर औषधि माग्ने र खाने चलन बढ्दै गएको विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन् । सिटामोलदेखि एन्टीबायोटिकसम्मको प्रयोग बिना कुनै संकोच धेरैले प्रयोग गर्ने गरेका छन् । जुन स्वास्थयका लागि जोखिम हुन सक्ने चिकित्सकको भनाई छ ।

पूर्वाञ्चलसंग कुरा गर्दै नवजात शिशु तथा बाल रोग विशेष डा. रुपक आचार्यले भने– ‘वयस्क मात्रै होइन, बच्चा बिरामी भए पनि एन्टीबायोटिक खुवाइहाल्ने आम मानिसको बानी छ । तर, यसरी बच्चालाई जथाभावी एन्टीबायोटिक दिनु गलत हो ।’ बालबालिकामा एन्टीबायोटिकको प्रयोग एकदमै धेरै छ । यसले तत्काल त कुनै विराम निको हुन्छ तर, चिकित्सकको परामर्श र जाँच नगरी सेवन गर्ने यस्ता औषधिले जटिल र घात रोगलाई जन्माउन सक्ने डा. आचार्यको भनाई छ । कुनै बच्चालाई ज्वरो आयो वा सामान्य रुघाखोकी लाग्ने बित्तिकै विभिन्न औषधि र एन्टीबायोटिक दिइहाल्नु राम्रो अभ्यास नभएको डा. आचार्यको भनाई छ ।

निमोनियाको समस्या बालबालिकामा एकदमै धेरै देखिने स्वास्थ्य समस्या भएको भन्दै बिर्तामोड चिल्ड्रेन अस्पतालका प्रबन्ध निर्देशक समेत रहेका बाल रोग विशेषज्ञ डा. आचार्यले यसमा एन्टीबायोटिकको प्रयोग पनि अझ बढी भइरहेको पाइएको बताए । विश्वव्यापी रूपमा हालसालै भएको एक अध्ययन अनुसार बच्चामा निमोनिया हुने कारण भाइरल संक्रमण हो । भाइरल संक्रमणमा एन्टीबायोटिक खान नहुने र यसमा चिकित्सकहरु समेत सचेत हुनुपर्ने डा. आचार्य बताउँछन् । बच्चाहरूमा धेरै भाइरल इन्फेक्सन हुन्छ र भाइरल इन्फेक्सनमा एन्टीबायोटिकले काम गर्दैन । नेपालमा न्टीबायोटिकको प्रयोग धेरै हुने गरेको तथ्यांकले नै देखाएका कारण सचेतनाको आवश्यक रहेको उनको भनाई छ ।

एन्टीबायोटिकको अनुचित प्रयोगले कतिपय संक्रामक जीवाणुहरूले औषधि प्रतिरोध गर्ने क्षमता अर्थात् ‘एन्टीबायोटिक रेजिस्टेन्स’ विकास गरेको भन्दै विश्वव्यापी रूपमा चिन्ता व्यक्त हुँदै आएको छ । एन्टीबायोटिकको जथाभावी प्रयोगले संक्रामक जीवाणुहरूले औषधि प्रतिरोध गर्ने क्षमता ‘एन्टीबायोटिक रेजिस्टेन्स’ कम भएर बच्चा सिकिस्त बिरामी भएर अस्पताल आएको बेला दिनुपर्ने एन्टीबायोटिकले काम नगर्ने अवस्था सिर्जना हुन सक्ने डा. आचार्यले बताए ।

‘हरेक औषधिको साइड–इफेक्ट भएजस्तै एन्टीबायोटिकको पनि साइड–इफेक्ट हुन्छ । अनावश्यक प्रयोग गर्दा कहिलेकाहीं त्यसको एलर्जी भएर ज्यानै जान सक्ने जोखिम भएकाले जथाभावी एन्टीबायोटिकको प्रयोगले कालान्तरमा प्राणघातक रोगकाो जोखिम हुने बताए । उनले कुन अवस्थामा एन्टीबायोटिक खानुपर्छ भन्नका लागि चिकित्सकसंग परामर्श लिन सबै अभिभावकलााई सुझाव दिए ।

चिकित्सकको सल्लाह बिना एन्टीबायोटिकको प्रयोग गर्नु हुँदैन भन्ने कुरामा अभिभावक सचेत हुनुपर्ने डा. आाचार्यको भनाई छ । जथाभावी रुपमा एन्टीबायोटिक प्रयोग गर्दा एन्टिमाइक्रोबियल रेजिस्टेन्स भएका कारण सन् २०२२ मा मात्रै विश्वमा हरेक वर्ष ३० लाख बालकालिकाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here